युरोपको सपना र भोग्ने बिपनामा आकाश जमिनको फरक
735 पटक पढिएको
● महिन्दो वाईबा / ईटली
अहिले नेपालमा बेरोजगारी समस्या दिन दुई गुणा रात चौगुणा बढ्दै छ । बढ्दो बेरोजगारी सँगै युवाहरुमा नैरास्यता छ । अर्थिक समस्याले गाँजेको छ । आफुले सिकेका ज्ञानको उचित प्रयोग गर्न नपाउँदा उत्तिकै उदासिनता पनि बढ्दै गैरहेको छ । वार्षिक रुपमा राज्यले हजारौं युवा बिद्यार्थी उत्पादन गर्छन् । तर त्यो योग्यता अनुसारको रोजागारी स्रिजना गर्न सकिरहेको छैन । त्यसैले पनि अहिले धेरै शिक्षीत युवा बिदेशिन वाध्य छन । नेपालमा डिग्री हाँसिल गरेता पनि उचित गोजगारको अभावमा कयौं युवा बिदेशिन वाध्य भएका छन । के बिदेशियपछि त्यो योग्यता अनुसारको काम पाईन्छ त ? पाइँदैन । अहिले नेपालीहरुको सजिलो रोजगारी पाउने थालोको रुपमा अरब मुलुक बनेको छ । युरोप पुग्नु चाहिँ सपना हो ।
अरबमा गर्ने काम भनेको बिकास निर्माणको हो । यसको लागि शिपको जरुरत पर्छ । जुन सिप डिग्री हासिल गर्ने नेपालीमा छैन । अनी गर्नुपर्ने नै शारिरिक श्रमको काम हो । अली धेरै ऋण खोज्न सक्ने नेपाली युरोप अमेरिकातिर लम्कन्छन । कोही बिद्यार्थी भिषामा, कोही परिवार मिलन (फ्यामिली भिसा) भिषामा, कोही कार्यक्रम भिषामा त कोही घुम्ने बाहानामा बिदेशीन्छन । जो जसरी बिदेशीयता पनि अधिकांशको मुख्य उद्देश्य भनेको रोजगारी नै हो ।
नेपालीले बिदेशमा पाउने काम भनेको थ्री डि (D D D) नै हो । डर्टी (फोहोर), डेन्जरस (खतराजन्य) र डिफिकल्ट (कठिन) । धुलो बढार्ने, पोछा लगाउने, घरको सफासुग्घर गर्ने, खेत बारीमा काम गर्ने, अफिस पुछपाछ गर्ने, होटलमा भाँडा माझ्ने, घर, बाटो बनाउने आदि । जुन काम गर्न उनिहरुलाई झिजो लाग्छ, अल्छि लाग्छ र खतरा महसुस हुन्छ । नेपालीले बिदेशमा पाउने काम भनेको औशतमा यि नै हुन ।
कोही कोही राम्रै स्तरका काममा पनि लागेका छन । तर त्यस्ता ब्यक्ती थोरै छन । नेपालीहरु युरोपलाई सपनाको देशसँग तुलना गर्छन । एक चोटि पुग्न मात्र पाए त परेको जेपनि गरिन्छ नि ! भन्दै साथीहरु माझ गफ छाँट्छन । युरोप पुगेर मासिक एक हजार युरो मात्र कमाउन सके नेपालमा त एक लाख ३५ हजार हुन्छ भनी भन्दै कल्पना गर्न थाल्छन । जेनतेन हिसाब गरिटोपली महिनाको ४० ५० हजार बच्ने हिसाब निकाल्छन । महिनाको यती भए त बर्षमा यती उती भन्दै कल्पन्छन । तर देखेको सपना र भोग्ने बिपनामा आकाश जमिनको फरक छ ।
म अहिले युरोप मै छु । यहाँ प्राय नेपालीने गर्ने काम भनेको तिनै थ्री डि अन्तरगत नै हुन । अरब मुलुकमा जस्तो बिकास निर्माण तहसम्म त नेपाली पुग्न सकेका छैनन । तर होटल रेस्टुराहरुमा कुक, सेफ सम्मको सम्मानित काम नेपालीने धानेका छन । त्यस्तै क्याफे बार सम्म पनि नेपालीहरुले आफ्नो रोजगारिको थालो बनाएका छन । यि त भए आफ्नो केही योग्यता र सिप भएकाहरु । नत्र प्राय सरसफाइ, मस्काउने, चम्काउने, घरको काम गर्ने नै छन ।
एक त यहाँ भाषाको समस्या हुन्छ । त्यस माथि युरोपका देशै पिच्छे आआफ्नै भाषा छन् । युरोप आउने प्राय नेपाली फाट्ट फुट्ट अङ्ग्रेजी बोल्न सक्ने हुन्छन । तर यहाँका मान्छेले अङ्ग्रेजी बोल्दैनन् । उनीहरुले आफ्नै भाषा बोल्ने, सिप जानेकोलाई प्राथमिकता दिन्छन् । नेपालीहरु युरोप आइपुगेर पनि सितिमिती कहाँ काम पाइहालिछ र ? च्यानल मिलाउनुपर्ने हुन्छ । साथी भाई सँग चिनजान गरी हाइ हेल्लो नहुँदा सम्म काम पाउने निस्चित हुँदैन । यहाँ काम पाउने भनेकै साथी भाईको दाया मायाले हो । स्थापित भएका नेपालीले पहुँचका आधारमा सिफारिस गरिदिएर काम पाउने हो । नत्र काम पाइन्न ।
तपाईंलाई लाग्दो हो र मलाई पनि लागेको थियो, यूरोपमा कमाइ राम्रो छ । तर वास्तबिकता यस्तो रहेछ – म महिनाको एक हजार युरो बुझ्छु । अर्थात अहिले नेपाली रुपैया एक लाख ३५ हजार । कोठा भाडा कम्तिमा ५०० युरो । सस्तो खाध्यान्न किनेर आफैंले पकाएर कोठामा खाएपनि खाना खर्च कम्तिमा दुई सय युरो । बिद्दुत र ग्याँस एक सय युरो । गाडी भाडा ३५ युरो । मोबाइलमा क्रेडिट २० युरो । पाकेटखर्च कम्तिमा ५० युरो । जम्मा खर्च हुनेरहेछ मासिक ९०५ युरो । महिनाको बचत हुनेरहेछ ९५ युरो । त्योपनि कहिले साथी भाई भेटघाट त कहिले औषधीमुलो गर्दैमा ठीक्क । लोभि कन्जुस नै बनेर बचायो भने त्यही आठ १० हजार नेपाली बच्दो रहेछ ।
युरोपको वास्तबिक कहानी यस्तो छ । १२, १५ लाख लगानी गरेर हामी युरोप छिर्छौ । तर सोचाइ र भोगाइ तब महसुस हुन्छ जब भाषाको समस्या पर्छ । काम पाइँदैन । उता नेपालमा ऋणको ब्याज बढेर पनि स्याज हुन लागिसकेको हुन्छ । यहाँ पनि खानुपर्यो । साथी भाई गुहार्दा गुहार्दा बल्ल दुई तिन घण्टाको काम पायो भने खानसम्म पुग्छ । काम पाएन भने काम भएको भएए यति हुन्थ्यो भन्ने हिसाब गरेर दिन बिताउने हो ।