पार्टी नेतृत्व सहमतिले टुंगो लाग्छ- केपीशर्मा ओली
589 पटक पढिएको
पार्टीको नवौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ, तयारी कस्तो भइरहेको छ ?
मैले व्यक्तिगत रूपले पार्टी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको होइन । म देशबाहिर उपचार गराइरहँदा अध्यक्षका लागि साथीहरूले मलाई अघि सारी सक्नुभएको थियो । पार्टीप्रतिको प्रतिबद्धता, अनुभवलगायत सबै हिसाबले मलाई योग्य ठानेर होला अध्यक्षका लागि अघि सारेको हुनुपर्छ । मलाई अध्यक्ष झलनाथ खनालको पनि समर्थन छ, तर उहाँ अहिले पार्टीको अध्यक्ष भएका कारण बाहिर बोल्न नमिलेको मात्र हो । पार्टीको पदाधिकारीमा उपाध्यक्षहरू, महासचिव र सचिवहरूले पनि मलाई अगाडि बढाउनुभएको हो । त्यतिमात्र होइन, पूर्वदेखि–पश्चिमका सबै साथी र पार्टीका युवा÷विद्यार्थी संगठनहरू मलाई अध्यक्ष बनाउने पक्षमा लाग्नुभएको छ । देशलाई अहिले जनताले पाएका उपलब्धिहरूलाई संस्थागत गर्ने नेतृत्व आवश्यक छ, र कार्यकर्ता र जनताको अपेक्षा पनि मेरो पक्षमा छ । त्यसैले महाधिवेशनमा मेरो कसैसँग प्रतिस्पर्धा हुने अवस्था नै छैन । तर कोही प्रतिस्पर्धा गर्न चाहन्छ भने, वैधानिक रूपमा प्रतिस्पर्धामा गइन्छ । म के ठान्छु भने अहिले देश बनाउन काम गर्नेको आवश्यकता छ । कुरा मात्र गर्नेहरूको अब औचित्य छैन् । कुनै बिरालाले सिंहको सिकार गर्न सक्छ भनेर ठान्न सकिँदैन । अरूले बोकेर सिकार गर्ने होइन सिकारीले आफैं सिकार गर्नुपर्छ । पार्टीभित्र तिक्तताका कुरा र छुद्र कुरा गर्दैमा त्यसलाई विचारको मन्थन भनिदैन । यस्ता अनावश्यक दुस्प्रचारलाई सक्रियता पनि भनिदैन । राम्रा नीति र विचारमा छलफल गर्न सकिन्छ । तसर्थ पार्टीलाई अगाडि बढाउन र नेतृत्व लिन सहमित आवश्यक छ, न्यायोचित, तर्कपूर्ण सहमति हुन आवश्यक छ ।
पहिलेका महाधिवेशनभन्दा यो नवौं महाधिवेशनमा पार्टी गइरहँदा अलि बढी धुव्रीकरण र गुटबन्दी भएको देखियो नि !
अहिले स्पष्ट रुपमा गुटबन्दी र त्यसको वकालत गरेर गुटबन्दी चलिरहेको छ । गुट भइसकेपछि म गुटको नेता भनेर पार्टीको आन्तरिक बैठकहरूमा पनि देखिइने गरेका छन् । एक जनाको असहमतिले निर्णयहरू हुँदैनन् भन्न खोज्ने जस्ता काम गरेर मेरो निर्णय जे हो त्यही लागू हुनुपर्छ भन्ने जस्ता वकालत गरेर हिँडेका पनि देखिन्छन् । महाधिवेशनको महत्वलाई अझै उचाइमा पु¥याउन यसलाई कोशे ढुंगाको रूपमा स्थापित गर्न सक्नुपर्छ । अहिले एमाले दोस्रो पार्टी भए पनि प्रमुख पार्टीकै हैसियतमा छ । यही अवस्थामा रहिरहन सक्दैन । यो पार्टी या त ओरोलो लाग्छ या उकालो । हामीले चुनाव लड्न मात्र एमाले पार्टी खोलेको होइन । सामाजिक अभिभारा बोकेको पार्टीको रूपमा स्थापित गरेका हौं । त्यसका लागि आफूलाई सक्षम राख्नुपर्छ । हामीले विचारका आधारमा अघि बढ्नुपर्छ । त्यसका लागि एमालेसँग जनताको बहुदलीय जनवाद छ । यो पार्टी भवितव्यमा जाँदैन । तर राजनीतिक दलहरू कहिलेकाहीँ भवितव्यले ठूला हुन्छन् । कहिलेकाहीँ १ सय २० सिट जित्छन् । तर एमाले त्यस्तो पार्टी होइन, यो निरन्तर अघि बढ्छ । प्रजातान्त्रिक अभ्यास स्वाभाविक हो । तर यो स्वस्थ हुनुपर्छ ।
यतिबेला सक्षम नेतृत्व चाहिएको छ भन्नुभयो त्यसका लागि तपाईं आफूलाई कसरी योग्य नेतृत्व ठान्नुहुन्छ ?
यो कुरा जनता र पार्टी कार्यकर्तालाई सोध्नुपर्छ । लोकतान्त्रिक शक्तिहरू शिथिल भएको अवस्थामा हामीले जनआन्दोलन गर्न सफल भई गणतन्त्र स्थापना ग¥यौं । समग्र इतिहासलाई हेर्दा कतिखेर दक्षिणपन्थी र कतिखेर उग्रवामपन्थीका विरुद्ध म लडे । यी भनेका ज्यान जाने कुराहरू हुन् । सायद साथीहरूले यी त्यागहरूको मूल्यांकन गरेर मलाई अघि सार्नुभएको होला । पार्टीभित्र उमेरले मभन्दा जेठा छन् । विचार काम र अनुभवका आधारमा मलाई अघि सारियो । मैले विचारको आधारमा पनि काम गरेपछि त्यही विचार सही स्थापित भयो । पार्टीभित्र चरम असन्तुष्टि र धाँधलीहरू भए त्यसले गर्दा आठौं महाधिवेशनमा म असफल भए । बेइमानी होस् वा धाँधली होस् वा अर्को बाकस भेटियोस् पार्टीको प्रतिष्ठानका लागि म चुप लागेर बसे, त्यो परिणाम स्वीकारे । यो सबै कुरा सबैले बुझेका र देखेका छन् । मेरो अनुपस्थितिमा विभिन्न भेला बैठकहरू भए, त्यो मेरो अनुभव र मूल्यांकन गरेका हुन्, त्यो पार्टीलाई कता लानुपर्छ भन्ने हिसाबले गरेका हुन् ।
यस्ता धुव्रीकरणले कतै पार्टीको एकतामा असर त पर्दैन ?
कसैले पार्टी फुटाउन खोज्छ भने त्यसले कसैको पनि साथ पाउँदैन । पार्टी विभाजनको परिणाम पटक–पटक सबैले भोगिसेका छन् । यस विषयमा पार्टी कार्याकर्ताले राम्ररी बुझिसकेका छन् । नेतृत्व आफ्नो पक्षमा पार्ने नाममा अहिले घृणाको खेती गरिरहेका छन् । यो सम्भव छैन । यो महाधिवेशनसम्म चल्न सक्छ फेरि पार्टीमा जसको हारजित हुन्छ त्यो भएपछि सकिनेछ । सिंगो देशले नेतृत्वका लागि छानेको हो विभाजनको लागि होइन । असफल भएमा कतै कमजोरी भयो भनेर मूल्यांकन गर्ने हो । अर्को कुरा उहाँहरूसँग जति घृणा भए पनि मसँग छैन । त्यसकारण म सबैलाई एकताबद्ध बनाउने सबैलाई समान व्यवहारका लागि र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सिंगो पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेतर्फ लाग्नेछु । म नेतृत्वमा पुगेपछि सबैलाई समेट्ने काम गर्नेछु । महाधिवेशन सकिएपछि यस्ता गुटबन्दीहरू, घृणाका खेलहरू र अन्य धुव्रीकरणका सबै कुरा सकिनेछन् । र स्वाभाविक रूपमा सबै एक हुन्छन् । महाधिवेशन अगाडि केही बहस हुनु स्वाभाविक कै हो । यही असार १० गतेसम्म सबै प्रतिनिधि छनोटको काम टुंगो लाग्छ र सबै कुरा पनि टुंगो लाग्छ । देशभरको प्रतिनिधिको नतिजा हेर्दा धेरै ठाउँमा सर्वसहमतिले टुंगो लागेको छ । मलाई आशा छ महाधिवेशनमा पनि नेतृत्व सहमतिले टुंगो लाग्छ । त्यसमा धेरैजसो प्रतिनिधि केपीओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरू आइरहनु भएको छ । न्यून मात्रामा हुन नदिने भन्नेहरू देखेको छु । देशभरको प्रतिनिधि छनोटले मेरो पक्षमा बहुमत छ । यद्यपि १० गतेपछि नेतृत्वका लागि सहमति हुन्छ र नभए लोकतान्त्रिक परिपाटीमा जानुपर्छ ।
नेपालको राजनीतिमा एमाले सबैभन्दा लोकतान्त्रिक पार्टी देखिन्छ । तल्लो तहदेखि केन्द्रसम्म चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने गरेको छ तर पार्टी सञ्चालनमा आर्थिक पारदर्शिता र विकासका एजेन्डामा एमालेले नेतृत्व लिन सकेको देखिँदैन । के लाग्छ तपाईंलाई ?
यो कुरा तपाईंले ठीक भन्नुभयो, यो कुरा साँचो हो । आर्थिक विषयमा चासो राख्नेहरूले तपाईंले भने जस्तो कुराको चासो राख्छन्, तर सैद्धान्तिक र वैचारिक काममात्र गर्नेहरू खाली राजनीतिक जोड घटाउमा मात्र लाग्छन् । एमाले त्यसमा सीमित भयो । त्यो उद्देश्य पनि होइन, त्यो कमजोरी नेतृत्वको हो । सांगठनिक हिसाबले भन्ने हो भने एमालेका संगठित सदस्यहरू काम नपाएर बसिरहेका छन् । हामीले अब विकास नगर्ने हो, जनताको कठिनाइ नबुझेर राहत नदिने हो भने देशमा लोकतन्त्रको उद्देश्य मेल खाँदैन । एमाले जस्तो पार्टीले आर्थिक विकासका लागि काम गर्नुपर्छ । राष्ट्रको विकास, पर्यटन, जलविद्युत् र कृषिको व्यवसायीकरणलगायत विकासमा ध्यान दिनुपर्छ । एमालेले समाजको परिवर्तन हाक्ने जिम्मेवारी लिएको छ । अब कृषि प्रणालीलाई उद्योगसँग जोड्नुपर्छ । कृषिमा निर्भर ठूलो जनसंख्या (७० प्रतिशत हाराहारीमा) छन् जुन अवश्यक छैन । अन्य देशहरूमा ३ देखि ७ प्रतिशत जनतामात्र कृषिमा संलग्न छन् त्यस्ता देशले धेरै विकास गरेका छन् । तिनै किसानले सारा मुलुकलाई पालेर निकासी गर्ने गरी उत्पादन गर्छन् । अब नेपालमा पनि ७० प्रतिशतमा १० प्रतिशतमात्र कृषि क्षेत्रमा राखेर ६० प्रतिशतलाई जलविद्युत्, पर्यटन, उद्योग र अन्य व्यावसायिक क्षेत्रमा लैजानुपर्छ । यहाँ अनेक सम्भावना छन् । तराईमा हात्ती–गैंडादेखि हिमालमा डाँफे–मुनाल जन्मिने देश हो नेपाल । यस्तो विविधता संसारमै विरलै पाइन्छ । अब सानातिना विषयमा अल्झिनु हुँदैन । आजको विज्ञान प्रविधि र सञ्चारको उपयोगमार्फत विकासमा पनि अरूसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ ।
तपाईंले नेपालको विकासका लागि केही परिकल्पना गरिरहनुभएको छ ?
हो अवश्य…। मैले नेपालको विकासका लागि विभिन्न रिसर्चहरूको अध्ययन गरिरहेको हुन्छु । एक पटक बोस्टन युनिर्भसिटीले गरेको रिसर्च पेपर पढेको थिएँ । त्यहाँ “एसिया प्यासिफिकलाई सन् २०१७ सम्म आवासका लागि सबभन्दा उत्कृष्ट र उपयुक्त स्थान हुने भनिएको थियो ।” त्यतिबेला हाम्रो नेपाल र हामी कुन अवस्थामा रहन्छौं ? नेपाललाई कसरी समृद्ध बनाउने भन्नेमा सबैको सचेतना आवश्यक छ । देश विकासका लागि हामीले केही गर्नुपर्छ । अरूसँग सहयोग माग्ने हो, तर सहयोग भन्दैमा प्यान्ट, सर्ट र सारी÷चोलो माग्ने होइन बरु विकास योजनाहरूमा लगानी माग्नुपर्छ । वैदेशिक लगानी, सहयोग केका लागि र कस्तो सर्तमा भन्ने पहिल्यै स्पष्ट हुनुपर्छ । त्यसका लागि अनुकूल वातावरण बनाउनुपर्छ । नीतिगत, व्यवहार र कर्मचारीतन्त्रमा सुधार गर्नुपर्छ । विदेशी लगानी भिœयाउनुपर्छ ।
संयुक्त लगानी भनेको पैसा राखेर मात्र हुँदैन भूगोल र प्राकृतिक सम्पदा सबैभन्दा ठूलो लगानी हो, जसको आधारमा सम्भाव्य विकास निर्माणका काम हुन्छन् । प्राकृतिक स्रोतलाई ठूलो लगानीका रूपमा लिन सक्छौं । जमिनदार छ, तर उ खेती गर्दैन भने त्यस्तो अनुपस्थित व्यक्तिलाई मुआब्जा दिएर त्यसलाई व्यवसायीकरण गर्न सकिन्छ । त्यहाँबाट आएको पैसाले उद्योग स्थापना हुन सक्छ भने खेती गर्नेलाई जमिन उपलब्ध हुन्छ । तर यस्तो बृहत् व्यवस्थापनका लागि सरकारले निर्देशित गर्नुपर्छ । एउटा आफ्नो खपतका लागि र अर्को निर्यात गर्ने प्रयोजनले नयाँ–नयाँ उद्योगहरू स्थापना गरेर सञ्चालन गर्नुपर्छ । नेपालमा भएका हिमाललगायत कैयांै पर्यटकीय स्थान, धार्मिक, पौराणिक जस्ता क्षेत्रलाई प्रबद्र्धन गर्न सकिन्छ ।
नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि अब दक्षिण एसियामा विकासको एजेन्डाले राजनीतिलाई नेतृत्व गर्छ भन्ने कुरा स्थापित भएको देखिन्छ तपाईंलाई के लाग्छ ?
तपाईंले भनेको कुरा ठीकै हो, अबको एजेन्डा गरिबी, सुशासन र विकास हो । सबैलाई उत्तिकै सम्मान चाहियो । सामाजिक, वैयक्तिक सम्मान र अन्य सुरक्षालगायतका विषयमा पनि ध्यान दिनुपर्छ । हकअधिकार र सुरक्षा भएमा मात्र सुशासन हुन्छ र विकास हुन्छ । पार्टीको नवौं महाधिवेशनले सुशासन र विकासका एजेन्डालाई विशेष प्राथमिकताका साथ लिनुपर्छ ।
तर नवौं महाधिवेशनका लागि केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेजमा विकासका एजेन्डाहरू त्यति राम्ररी समेटिएका छैनन् नि !
दस्तावेजमा नसमेटिएको पनि हुनसक्छ । त्यो परिमार्जन पनि हुन सक्छ । त्यसकारण नेतृत्वले आवश्यकता अनुसार महाधिवेशनसम्म अझै प्रष्टता दिनेछ । हाम्रा क्रियाकलापहरू पार्टीको निर्देशक सिद्धान्त जबजको अनुसार अगाडि बढ्नुपर्छ र आर्थिक विकासका एजेन्डाहरूलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।
पार्टीको नेतृत्व चयनका विषयमा देशभित्रका शक्ति र केही छिमेकी राष्ट्रहरूको पनि चासो र प्रभाव पर्छ भनेर चर्चा छ । के लाग्छ तपाईंलाई ?
प्रभाव केलाई भन्छन्, यो म बुझ्दिन । तर हामी एक अर्कामा छिमेकी राष्ट्रहरूको असर हुँदैन भन्ने कुरा हुँदैन । चीनको आर्थिक विकास होस् या भारतको राजनीतिक विकास होस्, असर नपर्ने भन्ने होइन । कतिपय सकारात्मक कुरालाई मनन गर्नुपर्छ र नकारात्मकतालाई लिनु हुँदैन । हामी आफ्ना समस्याका निम्ति आफ्ना परिस्थिति अनुसारका नीति लिएर अगाडि बढ्नुपर्छ । हामी कसैको कपी गर्दैनौं र कसैलाई पर ठान्दैनौं । अरूले जे भन्छ, त्यही गर्नु हुँदैन आठौं महाधिवेशनमा माओवादी खुलस्त रुपमा केपी ओलीको विरुद्धमा थियो । त्यस बेला उहाँहरूको रबैया नकारात्मक थियो । अब आन्तरिक र बाह्य रूपमा पनि त्यस्तो रबैया कसैको छैन । हाम्रो अधिवेशन हामीले गर्ने हो । सारा एमाले त्यसका लागि तयार छ ।
कारोवार डेलि डट कमवाट