स्वास्थ्यचौकीमा निःशुल्क टेलिमेडिसिन

604 पटक पढिएको

सम्पादक: Dhadingnews.com

असार ९ – जिल्लामै पहिलोपटक मैदी स्वास्थ्यचौकीले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

स्वास्थ्यचौकीमा आउने बिरामीलाई विशेषज्ञ सेवा सुविधा दिने उद्देश्यले प्रत्येक शनिबार टेलिमेडिसिन प्रविधिबाट उपचार गराउने स्वास्थ्यकर्मी सुजन श्रेष्ठले बताए । ग्रामीण भेगका बासिन्दा सामान्य रोगको परामर्श लिन पनि राजधानीलगायत सहर जानुपर्ने बाध्यता यसबाट कमी हुने चौकीले जनाएको छ । ७५ हजार लगानीमा स्वास्थ्यचौकीमा कम्प्युटर र इन्टरनेट जडान गरेपछि सेवा सुरु गरिएको हो । इन्टरनेटबाट भिडियो कलमार्फत बिरामीले विशेषज्ञ डाक्टरलाई आफ्नो समस्या राख्न पाउने छन् । ‘डाक्टरले बिरामीको समस्या सुनेपछि यहाँ रहेका स्वास्थ्यकर्मीलाई उपचार विधि र आवश्यक औषधिबारे ज्ञान दिनुहुन्छ,’ श्रेष्ठले भने, ‘विशेषज्ञको सुझावअनुसार सेवाग्राहीले उपचार पाउँछन् ।’

परीक्षणका रूपमा शनिबारबाट थालिएको सेवा सफल भएको स्वास्थ्यचौकीका इन्चार्ज तार्केश्वर पट्टेलले जानकारी दिए । ‘अब प्रत्येक साताको छुट्टाछुट्टै रोगको जिज्ञासा मेटिनेछ,’ उनले भने । बाल, स्त्री, मानसिक, हाडजोर्नी तथा नसा रोग र जनरल फिजिसियनले बिरामीसँग प्रत्यक्ष साक्षात्कार गरेर उपचार गराउने उनले बताए । पहिलो दिन शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. अशिष भट्टराईले ५ बालबालिकाको समस्याबारे कुराकानी गरेको पट्टेलले बताए ।

ग्रामीण भेगमा नेपाल टेलिकमको वाई मेक्स इन्टरनेट सेवा जडानपछि सेवा थालिएको हो । प्रत्येक साताको शनिबार बिहान ८ देखि १० बजेसम्म दुई घन्टा टेलिमेडिसिन सेवा गरिने स्वास्थ्यचौकीले जनाएको छ । उक्त सेवा मैदी ७ स्थित सातदोबाटेबाट सञ्चालन हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति हुने प्रक्रियामा रहेको स्वास्थ्य संस्थाबाट छिमेकी गाविस सलाङ, नलाङ, ढोला, खरी, मुरलीभन्ज्याङ, चैनपुरवासीले सेवा पाउन सक्नेछन् । ‘सेवाबारे प्रचारप्रसार गरेपछि बिरामी बढ्ने अनुमान गरेका छौं,’ अहेव श्रेष्ठले भने ।

स्वास्थ्यचौकी, मैदी सामाजिक विकास समाज काठमाडौं र हाइटेक पाइनियर टेलिहेल्थ इनोभेटिभ फाउन्डेसन सहकार्यमा सुरु गरिएको हो । सेवा सञ्चालनपछि स्थानीयवासी विशेषज्ञ डाक्टर खोज्दै अन्यत्र जानुपर्ने र खर्च बढी लाग्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । स्वास्थ्यचौकीले अहिले २४ घन्टे एम्बुलेन्स सेवा, निःशुल्क प्रसूति सेवा, प्रत्येक तीन महिनामा भिडियो एक्सरेबाट गर्भवतीको स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराएको छ ई कान्तिपुर डट कमले खबर लेखेको छ ।