शहिद छेज्यु ः एक स्मरण
944 पटक पढिएको
गोपाल फ्युवा तामाङ
नेपालको इतिहास रक्तरञ्जित छ । कैयौ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र मुक्तिका लागि अनेकौ आन्दोलनहरु भए । ती आन्दोलनहरुमा नेपाललाई माया गर्ने विभिन्न जातजातिको योद्धाहरुको सहभागिता उल्लेख्य रह्यो । तामाङ लेखक अमृत योञ्जनले ओझेलमा तामाङ शहिदहरु नामक पुस्तकमा उल्लेख गरिए अनुसार विभिन्न आन्दोलनमा साहदत प्राप्त तामाङ शहिदहरुको विवरण तपसिल बमोजिम रहेको छ । २००७ को जनक्रान्ति दौरान १० जना, प्रजातन्त्र पुनस्थापनाको क्रममा ३३ जना, जनआन्दोलन २ मा १ जना र जनयुद्धका क्रममा ९१९ (काभ्रे १४९ जना, नुवाकोट १०१ जना, सिन्धुपाल्चोक ९६ जना, मकवानपुर ९५ जना, रामेछाप ६५ जना, सिन्धुली ४७ जना, चितवन ४१ जना, दोलखा ३८ जना, धादिङ २९ जना, संखुवासभा २३ जना, ओखलढुङ्गा २२ जना, लम्जुङ १६ जना, ललितपुर १३ जना, भोजपुर १२ जना, रसुवा १२ जना, बारा ११ जना, इलाम १० जना, पाँचथर १० जना, मोरङ ९ जना, काठमाण्डौ ९ जना, उदयपुर ८ जना, भmापा ८ जना, ताप्लेजुङ ८ जना, धनकुटा ७ जना, रौतहट ७ जना, सर्लाही ७ जना, महोत्तरी ६ जना, सुनसरी ६ जना, सोलुखुम्बु ६ जना, कञ्चनपुर ६ जना, भत्तपुर ६ जना, पर्सा ५ जना, खोटाङ ५ जना, गोर्खा ५ जना, तेह्रथुम ४ जना, सिराहा ३ जना, कैलाली २ जना, डोटी २ जना, तनहु २ जना, धनुषा २ जना, बाग्लुङ २ जना, कास्की १ जना, गुल्मी १ जना, बाँके १ जना, मुगु १ जना) गरी ९६३ जना तामाङ सपूतहरुले प्राणको उत्सर्ग गरेका छन् । बेपत्ता, अपाङ्ग र पीडितको विवरण डरलाग्दो छ । यी धेरै शहिदहरु मध्येबाट यसपटक प्रजातन्त्रको राजा महेन्द्रले अपहरण गरेपछि गरिएको आन्दोलनको क्रममा साहदत प्राप्त गर्नु भएका शहिद छेज्यु तामाङको बारेमा यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।
छेज्यु तामाङको जन्म हालको धादिङ जिल्ला सत्यदेवी गाविस वडा नं ६ मा पिता जितराम वाइवा तामाङ र माता मेनडोल्मो तामाङको कोखबाट जेठो सुपुत्रको रुपमा सन् १९१७ जुन २९ गते गोम्बोङ गाउँमा जन्मेका थिए । तत्कालिन अवस्थामा त्यस क्षेत्रका रिजाल र सिम्खडा जातिका केही सामन्तीहरुले अन्य जाति माथि क्रूर अमानवीय दमन र शोषण गरिरहेका थिए । यहाँसम्मकी तमसुकको भाखा नाघेका सुन्य थप्ने गरिन्थ्यो भन्ने लोकोक्ति अझै प्रचलनमा रहेको छ । हरेक जसो घरका मानिसहरु उनीहरुको घरमा बाधा बस्न विवस थिए । यसले छेज्युको मन कुडियो । विवशतामा कतिन्जेल बाँच्ने भन्ने मनसायले साँहुका क्रृण तिर्न र पारिवारिक मुक्तिको लागि एक नवयुवाको रुपमा भारत गए । त्यहाँ आठौं गोरखा राइफलमा प्रवेश गरी ब्रिटिसहरुको लागि दोस्रो विश्वयुद्धमा सामेल भई कैयौ बहादुरीका तक्माहरु पाए । आफ्नो देश, जनता र आफन्तहरु सामन्ती व्यवस्थाले पिरोली रहेको तर आफू अर्कै देशको रक्षार्थ बन्दुक बोकिरहेको अवस्था चित्त कबुझी उनले लाहुरे जीवन छाडिदिए र आफ्नो मातृभूमीमा फर्के ।
सन् १९५५ ताका नै वि.पि. कोइरालाले नेतृत्व गरेको नेपालमा आधारित प्रजातान्त्रिक समाजवादी व्यवस्थाका जस्को जोत, उसको पोत, श्रमिकको अधिकार स्थापना, विर्ता उन्मुलन र राजारजौटा उन्मुलन लगायतका नारा, नीति तथा कार्यक्रमले उनलाई आकर्षित तुल्याएका थिए । देशमा प्रजातान्त्रिक शासन सुरु भएता पनि सत्यदेवी र आसपासका गाउँहरुमा तमसुक आतङ्क जीवित थियो । पछि उनले काजिमान तामाङ, दामन पाख्रिन, तुलबहादुर तामाङ र सेक्के तामाङहरुसँग मिलेर सन् १९६०मा खनियावास विद्रोह गरे । काजिमान तामाङ, दामन पाख्रिन, सेक्के तामाङ जेलमा परें । अन्य कैयौ उत्तरी धादिङका तामाङहरुले जरिवाना तिर्नु पर्यो । त्यसबेला रु १७०० जरिवाना जुटाउन एकदमै गाह्रो भएको आनदोलनमा सहभागी एक पेमा तामाङका छोरा चिज तामाङको अनुभव छ ।
त्यहाँ पुनः सम्झौता गर्ने र आफूहरु नै दोषी भएको प्रमाणित गर्न खोज्ने राज्यको नीति र त्यसलाई सहस्र स्विकार गर्ने सहकर्मीहरुको व्यवहार ठीक लागेन । उनी खनियावास विद्रोह पश्चात भूमिगत भए । थप विद्रोह गर्ने मनसायले तुलबहादुर तामाङ र छेज्यु तामाङ सम्झौतामा नआई भारत तर्फ भागे । पछि प्रजातान्त्रिक सरकारलाई अपदस्त गरियो । भारतमा जगत प्रकाश जङ्ग शाहसँग निकट सम्बन्ध राखी एकतान्त्रिक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न नेपाली काङ्ग्रेसले आह्वान गरेको सशष्त्र सङ्घर्षमा सामेल हुन पुगे । उनले खासगरी भारतबाट हातहतियार ल्याउने र दुर्गम गाउँ तथा जिल्लामा पुर्याउने काम गर्न थाले । उनले हातहतियारलाई शहिद सिङ्गमान तामाङको सहयोगमा नुवाकोटको चेक्मा भन्ने ठाउँमा लुकाएर राख्ने गर्दथ्यो । जब उनलाई नुवाकोट प्रशासनले उनलाई खोजि गरिरहेको चाल पाएँ तब धादिङ सत्यदेवीको ओडारमा लुकि बसे । उनलाई अराष्टिय तत्व घोषणा गरी देख्नसाथ गोली ठोक्ने आदेश लिएर सन् १९६१मा शाही सेनाले उनको घर खानतलासी लिए । पछि उनको परिवारले केही आर्थिक बन्दोबस्तीको आधारमा नरकटियागञ्जमा बखानसिंह गुरुङले नेतृत्व गरेको नेपाली काङ्ग्रेसको आधार शिविरमा पुगें । पछि कलकत्ता पुगे ।
कलकत्तामा उनले आफ्ना १८ जना साथीहरुको नेतृत्व गरी ठोरीमा शाही सेनासँग लड्दै र पुलिस चौकीमा अधिकार जमाउदै चितवन पुगें । चितवन आक्रमणका योजनाकार योगप्रसाद उपाध्याय थिए । उनका योजना मुताविक वि. स. २०१८ माघ २४ गते देखि आक्रमण थालनी गरेर माघ २६ गते चितवनमाथि मुक्तिसेनाको कब्जा जमायो । तर माघ २८ पछि फेरि षड्यन्त्रपूर्वक चितवनमा शाही सेनाको कब्जामा आयो । जगत प्रकाश जङ्ग लगायतका पाँच जना लाई बाँधेर टिकौलीको जङ्गलमा मारियो । यही क्रममा छेज्यु भाँगेर पर्सातर्फ लागे । त्यता पनि अनेक आक्रमणमा सहभागी हुदै भाग्दै गर्दा पर्साको रानीगञ्जमा शाही सेनाको टोलीले भेट्टाई मारिदिए ।
यसरी नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर आफ्नो प्राणको वलिदान दिनु भएका छेज्यु तामाङको शाहदत सन् १९६२ जुन २९ मा भयो । प्रजातन्त्र, समानता र स्वतन्त्रताको लडाईमा अपूरणीय क्षति बेहोर्नु परेको छ । नेपाली काङ्ग्रेस, चितवन जिल्ला कार्य समितिले वि.स. २०४७ जेठ १ गते अभिनन्दन पत्र प्रदान गरेका छन् । अहिले आएर यस्ता वीर अमर शहिदहरुको कुर्वानी ख्याल गर्न नसकिरहेको देखिन्छ । उनको स्वार्थ त्याग, बलिदानलाई सम्झनु आवश्यक छ र सम्मानको खातिर थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ ।
शहिद छेज्यु स्मृति प्रतिष्ठानको गठन गरी संस्थागत रुपमा लाग्न सके बढी व्यवस्थित हुन्छ । अबको चार वर्षपछि वहाँको सयौं जन्मसालको उपलक्ष्यमा गतिलो खोजमूलक स्मारिका प्रकाशन गर्न सके धेरै धन्य हुने थियो ।
(शहिद छेज्यु तामाङका छोरा धनबहादुर तामाङसँगको अन्तर्वातामा आधारित)