पिसाब आउँदा विद्यालय निकाला
740 पटक पढिएको
धादिङ -अघिअघि एक हुलबाख्रा। पछिपछि काँधमा बाख्राका लागि अलिकति स्याउला। एउटा मैलो टिसर्ट र कट्टु लगाएर गोठालोबाट घर फर्कँदै गरेका मध्यधादिङको नलाङ–६ बुङचुङका १२ वर्षीय रमेश अर्यालको दैनिकि अहिले बाख्रा चराएर बित्ने गरेको छ।
जन्मजात रूपमा उनको पिसाब नरोकिने समस्या आयो। सानो छँदा विद्यालयमा राखे पनि ठूलो भएपछि पिसाब गन्हाउन थालेको भन्दै स्थानीय नागेश्वरी प्राविले विद्यालयबाट निष्कासन गरेका कारण उनी गोठालो जान बाध्य छन्।
बिहान उठेपछि रमेश घाँस काट्न जान्छन्। त्यसपछि साथीहरू विद्यालय गएको एकोहोरो हेरिरहन्छन्। आफूलाई विद्यालय जान मन लागे पनि विद्यालयले ‘नआउनु भनेका कारण उनको पढ्ने आशा मरिसकेको छ।
‘स्कुलले विद्यालयबाट पढ्न दिएन। उसलाई चकटी दिएर भए पनि छुट्टै बसेर पढ्ने व्यवस्था मिलाउन समेत आग्रह गर्दा पनि मानेन्। त्यसैले हामी गरिबले न्याय पाइएन’ –रमेशका आमा निरु अर्यालले यो बताउँदै गर्दा छोराको उपचारको याचना गरिन्।
‘रमेशलाई विद्यालयले पढाउँदै आएको हो ठूलो भए पनि उसको दिसापिसाब गन्हाउन थाल्यो। विद्यार्थीले गुनासो गर्न थापेपछि अभिभावकको दबाबमा उनलाई विद्यालय नआउन भनिएको हो’ –तत्कालीन प्रधानाध्यापक शालिकराम अर्यालले बताउनुभयो।
अर्याल परिवारको जग्गाजमिन छैन। अर्काको घरमा बसेर मजदुरीको भरमा परिवार पालिरहेका छन्। रमेशको दिनचर्या बाख्रा चराउने र घाँस काट्ने हो भने आमा मजदुरी गरेर परिवार पालिरहेकी छिन्।
‘घरमा खानेकुरा छैन। साथमा पैसा छैन। आफू वृद्ध भएकाले केही गर्न नसकिने भएकाले उसको उपचार गर्न सकिएन। गरिबले त अब मरे भैगो नि’ –रमेशका बुबा नरबहादुर अर्यालले दुखेसो गरे।
उनीहरूसँंग उपचार गर्नका लागि पैसा छैन। पढाउनका लागि विद्यालयले कक्षाबाटै निकाला गर्यो। पढ्नका लागि उनीसँग धेरै इच्छा भए पनि पढ्न पाएका कारण शिक्षाबाट पनि वञ्चित हुनुपर्यो।
रमेशलाई सानैदेखि पिसाब नरोकिने समस्या छ। कहिलेकाहीं दिसा फुस्केको पनि थाहा हुन्न। सानो समस्या हो। अर्याल परिवारका लागि ठूलो रकम लागे पनि सरकारका लागि सानो रकमले नै उपचार हुने नागेश्वरी प्राविका प्रधानाध्यापक सीताराम न्यौपानेको भनाइ छ।
-नेपाल समाचारपत्र