धादिङ–पोखरा सम्पर्क समितिको रक्तदान कार्यक्रम सम्पन्न

799 पटक पढिएको

सम्पादक: Dhadingnews.com

हरि पन्त
1पोखरा -धादिङ–पोखरा सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ युनिट रगत संकलन भएको छ । यो संगै पोखरामा रक्तदान आयोजना गरी सबैभन्दा धेरै रक्तदान गराउने संस्थाहरुमध्ये धादिङ–सम्पर्क समिति दोस्रोमा रहेको रक्तसंचार केन्द्र पोखराले जनाएको छ । पहिलो रक्तदाता राजेन्द्र प्रसाद इटनीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुङ्गानाले रक्तदान जस्तो पुण्य कर्म अन्य कुनै नहुने बताए । उनले सामाजिक क्षेत्रमा धादिङ समितिले खेलेको भूमिकाबाट सबै संघसंस्थाले पाठ सिक्नुपर्ने स्पष्ट पारे । समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रुद्रप्रसाद खनाल, धादिङ सहयोग संस्थाका अध्यक्ष वेनी पाठक, रक्तदाता स्वयंसेवी समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी लगायतले पोखरामा देखिएको रगत अभावलाई परिपूर्ति गर्न धादिङ–पोखरा सम्पर्क समितिले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्सालले स्वागत मन्तव्य एवं धादिङ सहयोग संस्थाका अध्यक्ष छन्द धरेलले कार्यक्रम संचालन गरेका थिए ।
पोखरामा देखिएको रगत अभावलाई मध्य नजर एवं नियमित कार्यक्रम अन्तर्गत सो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यो रक्तदान समितिको ११औं रक्तदान हो । समितिले यसअघि १० पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । ११औं रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागि संयोजक हरि पन्त, सह–संयोजकमा शम्भुप्रसाद अधिकारी र शेरबहादुर अधिकारी, दीपक गिरी, प्रकाश दुलाल, गोपाल नेपाली एवं कृष्णप्रसाद थपलिया सदस्य रहेको एक उपकमिटी गठन गरिएको थियो । कार्यक्रमका लागि समितिमा आवद्ध विभिन्न व्यक्तिहरुले आर्थिक, जिन्सि सहयोग गरेका थिए भने रक्तसंचार केन्द्र पोखराका प्रतिनिधिहरुले प्राविधिक सहयोग गरेका थिए ।