धरहरा खोज्दै खोज्दै

515 पटक पढिएको

सम्पादक: Dhadingnews.com

1455983_360778444057532_2046452750_nसुनेको थिएँ,पहिले जहाजीहरु तारा हेरेर दिशा पत्ता लगाउदै जहाज चलाँउथे रे । धरहरा मेरा लागि कोठा पत्ता लगाउने ‘कम्पास’ बनेको थियो । २०४६ माघ १६ गते श्रीपञ्चमीका दिन म पहिलो पटक काठमाण्डौं गएको हुँ क्याम्पस पढ्न । कोठा भुरुङखेलमा थियो । काठमाण्डौंका गल्ली र चोकहरुमा म रन भुल्ल पर्थे । भाई हराउला भनेर दाईले उपाय खोज्नु भयो –धरहरा हेर्ने । धरहरादेखि कोठसम्मको बाटामा अभ्यास गराउनु भयो र भन्नुभयो जहाँ पुगे पनि धरहरा हेर्नु अनि बाटो पत्ता लगाउनु । म काठमाण्डौं चहार्न थालें ।फर्किने बेला धरहराको टुप्पो हेर्यो कुद्यो । २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुग्दै थियो । माघ २६ गते जस्तो लाग्छ क्याम्पसमा तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहको पुत्ला जलाउने कार्यक्रम थियो । साथीहरुसंग हा – हु गर्दै जुलुसमा सहभागी भएँ म पनि । भीमसेन स्थान नजिक पुलिससंग जम्का भेट भयो । थोरै संख्याका पुलिसमाथि आक्रमण भयो । एकजना प्रहरी ढले अन्य बाँकी केही भागे । लडेका पुलिसको लट्ठी र हेलमेट खोसियो । तर अचानक हामी घेरियौं – भागदौड भयो । आफूले चिनेको बाटो उही क्याम्पस र धरहरा थियो – म हान्निएँ क्याम्पस तिर नै । तर पहिले नै पुलिसले क्याम्पस घेरेको रहेछ ,सल्यानका गोविन्द अधिकारी र म विष्णुमति नदीतिर हामफाल्यौं उनको पनि कोठा बालाजु रहेछ । विचरा डरले आत्तिएर होला उनी वान्ता गर्दै कुदे । म नचिनेको गल्लीतिर हानिएँ । जुलुसमा साथीहरुसंग त निडर भएर झण्डा उचालिएको थियो तर एक्लै भएपछि डरले म कापेको थिएँ, मेरो बोली लर्बराएको थियो । चोकचोकमा तैनाथ पुलिस देख्दा झनै त्रास बढेको थियो । एउटा चोकमा पुगेपछि मैले सोधें – धरहरा जाने बाटो कता हो ? उनीहरुले म डराएको सहजै अनुमान लगाएका थिए र भने भाई सडकमा जुलुस निस्किएको छ तिमि कोठामा जाऊ । मैले भने मेरो कोठा भुरुङखेल हो तर म यहाँबाट कोठामा जाने बाटो चिन्दिन । दयालु मान्छे रहेछन मलाई नरदेवीको चोक सम्म बाटो देखाइ दिए त्यहाँबाट म कोठामा पुग्न सक्थें । मलाई लाग्यो – काठमाण्डौंका जनता आन्दोलनकारीलाई माया गर्छन – उनीहरु परिवर्तन चाहान्छन् । हुन पनि हाम्रो राजधानी पञ्चायती निरंकुशता भित्र पनि वामपन्थीहरुलाई विजयी गराउँथ्यो । विश्वका कतिपय देशमा राजधानी कब्जा गर्न नसकेर विद्रहीहरु असफल भएका छन् – हाम्रो देशमा विशेषत ः राजधानीकै आन्दोलनको प्रभाव बलियो हुन्छ । कोठमा पुगेपछि डर मत्थर भयो । हामी बसेको घर लगभग एउटा छात्रावास जस्तै थियो । नौ–दशवटा कोठामा विद्यार्थी मात्र बस्थ्यौं । त्यो दिन मशाल जुलुस निकाल्ने कार्यक्रम थियो । साथीहरुसंग –संगैं मशाल बोक्न भोटाहिटी पुगें । भव्य जुलुस निस्कियो । पुलिसको हस्तक्षेप असफल भयो । त्यस पछाडि आन्दोलनप्रति रौसिएको मेरो मन कोठामा बस्नै नसक्ने भयो । २०४६ सालको जनआन्दोलनको प्रत्यक्ष सहभागी हुने अवसर पनि प्राप्त भयो मलाई । चैत्र २४ को जनसागरले पञ्चायतको घुँडा टेकायो । शब्द शब्दमा जनताले परिवर्तनको स्वाद खोजेका थिए । त्यसैले त त्यो विराट सभामा गिरिजाप्रसाद कोइरालाको प्रजातन्त्रको परिभाषालाई जनताले अस्वीकार गरेका थिए । आन्दोलनले जति उर्जा प्राप्त गरेपनि परिवर्तन भने शिथिल बन्दै जादो रहेछ भन्ने लाग्छ मलाई । संझौतावादी दृष्टिकोण बोकेका नेताहरुले आफ्ना लागि मात्र सोचे । राष्ट्र र जनताका लागि सोच्नेहरु कि त मारिए बाँकी किनिदै गए । राजनीति फोहोरी खेल सावित भयो । सभाषद्हरु  ‘लोगो’ झिकेर कोट लगाउन बाध्य छन् जनताको तिरस्कारले । फगत हामी समयको साक्षी मात्र भएका छौं । घृणा नेतालाई गर्ने कि राजनीतिलाई ,म स्वयं अलमल छु ।