धादिङ सदरमुकामको आसपासमा चोरी बढ्यो

934 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images_thumb[1]धादिङ,-  धादिङ जिल्लाको सदरमुकाम नजिकै रहेको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ९ पाल्पाभञ्ज्याङमा रहेको पाल्पा सामरी भन्ज्याङ माविमा (मंगलवार राती) चोरी भएको छ । गाउंको बिचमा रहेको बिद्यालय भएपनि रातको समयपारेर बिद्यालयको ढोका फोरेर कार्यालयमा रहेको कम्प्युटर चोरी गरेर लगेको पाईएको बिद्यालयका प्रधानाध्यापक ज्ञानु थापाले वताउनु भयो । यस अघि पनि साविकको मुरलीभञ्ज्याङ गाविसमा पर्ने नीलकण्ठ नगरपालिकाको वडा नम्बर ९को सालवोटेमा तीन दिन अघि घर वाट सुन चोरी भएको थियो । हरिप्रसाद लम्साल दम्पती मात्रै वस्दै आईरहेको घरमा दिउंसोको समयमा घरमा कोही नभएको मौका छोपेर चोरले तीन तोला वरावरको सुनको गरगहना चोरी गरेर लगेको थियो । दिउंसो चोरी गरेर गएको समुह रातीको समयमा आएर घटनाको वारेमा प्रहरीलाई जानकारी दिएको भन्दै ज्यान मार्ने धम्कि दिएपछि लम्साल दम्पती आंकतिक हुन पुगेको छिमेकीहरुले वताए । रातको समयमा आएर चोरी गरेको बिषयमा प्रहरीलाई सुचना नदिन धम्कि दिने व्यक्तिहरुको पहिचान गरी नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरिएको स्थानीय कृष्णप्रसाद लम्सालले वताउनु भयो । गाउंमा चोरी गर्दै हिडेको समुहले नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ ढोडेनीमा रहेको जयलक्ष्मी श्रेष्ठको गोठमा रातीको समयमा आगजनी गरेर क्षती पुर्याईदिएको स्थानीयले वताएका छन । सदरमुकाम आसपासका गाउंवस्तिमा केही दिन देखि श्रृङखलावद्ध चोरीका घटना हुन थालेपछि शंकास्पद व्यक्तिको निगरानी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।