राजमार्गको सवारी जोखिमपूर्ण

557 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-मोटरसाइकल लिएर पृथ्वी राजमार्गको यात्रामा जाँदै हुनुहुन्छ? सावधान रहनुस्, विगत एक वर्षमा यो सडकमा भएका दुर्घटनाको अधिकांश सिकार मोटरसाइकल नै भएको पाइएको छ ।

चालकको लापरबाहीका कारण एक वर्षमा मोटरसाइकलमा सवार १३ जनाले ज्यान गुमाएका छन्। ५० जना गम्भीर घाइते हुन पुगेका छन्। सडकको अवस्था ख्याल नगरी कुदाउँदा ४६ स्थानमा विपरीत दिशाबाट आइरहेका सवारीसँग ठोक्किएर मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ। ‘यहाँ सबैभन्दा खतरा मोटरसाइकल यात्रुलाई छ। साँघुरा घुम्तीमा तीव्र गतिमा गुडेका मोटरसाइकलले सन्तुलन कायम गर्न नसक्दा विपरीत दिशाबाट आउने हेभी गाडीमा ठोक्किने गरेका छन्,’ प्रहरी नायब निरीक्षक पुरन क्षत्री भन्छन्।
ट्राफिक रेकर्डअनुसार एक वर्षभरिका दुर्घटनामा ज्यान गुमाउने सबैभन्दा बढी मोटरसाइकल यात्रु छन्। ४६ वटा मोटरसाइकल दुर्घटना भएकामा १३ जनाले घटनास्थलमै ज्यान गुमाएका छन्। गत वर्ष साउन १ देखि असार मसान्तसम्म भएका १ सय ५० दुर्घटनामा २ सय ३१ सवारी क्षतिग्रस्त भएका थिए। जसमा ट्रक ६६, बस ४९, मोटरसाइकल ४६ र माइक्रो, कार, टिपर तथा अन्य सवारीको संख्या ७० वटा छ। ९४ दुर्घटना सामान्य, ५४ गम्भिर प्रकृतिका र दुईवटा मध्यम खालका रहेको कार्यालयले जनायो। सबैखाले दुर्घटनामा गरी उक्त राजमार्गमा गत वर्ष मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जसमा ४० पुरुष, सात महिला र सात बालबालिका छन्।
अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांकमा उल्लेख छ। ट्राफीक प्रहरी जवान छविलाल निरौलाका अनुसार ४५ प्रतिशत अर्थात् ६८ वटा दुर्घटनामा चालककै लापरबाही दोषी छ। यान्त्रिक गडबढीबाट सबैभन्दा कम करिब ५ प्रतिशत (सातवटा) भएको छ। तीव्र गतिका कारण २१ प्रतिशत, ओभरटेकका कारण १५ प्रतिशत, पैदल यात्रुका कारण ९ प्रतिशत र अन्य कारणले पाँच प्रतिशत दुर्घटना भएका छन्। तीव्र गति र ओभरटेकलाई पनि समेट्ने हो भने ८१ प्रतिशत दुर्घटना चालककै लापरबाहीले भएको निरौला बताउँछन्।
पृथ्वी राजमार्गमा दुर्घटना बढ्नुको एउटा कारण सडकको दुरवस्था हो। थुप्रै ठाउँमा पहरो खोपेर नदी किनारमा सडक बनाइएको छ । मोटरसाइकल दुर्घटनाको मुख्य कारणचाहिँ सडकको बनावट ख्याल नगरी तीव्र गतिमा कुदाउनुलाई मान्छन् राजमार्ग दुर्घटना उद्धारक गजुरीका दिवससागर श्रेष्ठ बताउँछन्। ‘नाम हाइवे भनिए पनि बाटो साँघुरो छ। घुम्ती र नदीकिनारमा थोरै मिस्टेक हुनेबित्तिकै दुर्घटना भइहाल्छ। त्यसमाथि यात्रुवाहक बस तथा माइक्रो र लोकल टिपरको लापरबाही उत्तिकै छ,’ श्रेष्ठ भन्छन्, ‘सडकमा गुड्ने साना सवारीलाई आँखै लगाउँदैनन्।’
दुर्घटना निम्तिनुका अन्य कारणमा पैदलयात्रीलाई बाटो पार गर्ने तरिका थाहा नहुनु, सडकमा जथाभाबी पशुपक्षी छाड्नु, सडकसीमा अतिक्रमण गरेर संरचना बनाउनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सडकपेटीमै नुहाउन बस्ने र युवतीको तस्बिरअंकित विज्ञापनका होर्डिङबोर्ड छन्। पछिल्लो समय नागढुंगा र गजुरीलगायत स्थानमा चेक गर्न थालिएपछि मदिरा सेवन गरेर गाडी चलाउने भने कम छन्।
दुर्घटना पूर्वसंकेत दिएर नआए पनि न्यूनीकरण भने गर्न सकिने उद्धारक श्रेष्ठ बताउँछन्। ‘बेलाबेला चालकलाई चेतनामूलक शिक्षा, नियमित चेकजाँच र कडा कारबाही गर्नुपर्छ। सडकको अवस्था सुधार्नुपर्छ। काठमाडौंबाट बाहिरिने मोटरसाइकल चालकलाई नागढुंगामै पाँच मिनेट रोकेर सडकको अवस्था र जीवनको महŒवबारे सम्झाउनुपर्छ,’ उनले भने।
कोसोक नेपालले केही अघि तालिम र उद्धारका निम्ति आवश्यक केही सामग्री दिएर राजमार्गका विभिन्न स्थानमा स्वयंसेवक परिचालन गरेको थियो। हाल ती स्वयंसेवक आ–आफ्नो क्षेत्रमा हुने दुर्घटना उद्धारका निम्ति खट्छन्। ‘हामीलाई चेनपुली, कटिङ मेसिनजस्ता सामग्री अझै अपुग छ,’ श्रेष्ठ भन्छन्, ‘राज्यले आवश्यक सामग्री उपलब्ध गराए घटनापछि क्षति कम गराउन सजिलो हुन्थ्यो नागरिक न्युज डट कमले खबर लेखेको छ । ।’