स्रोत केन्द्रमै विषादी अनुगमन

598 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 imagesकाठमाडौं, – उपत्यका भित्रिने तरकारीमा विषादीको मात्रा उच्च रहेको प्रमाणित भएपछि सरकारले जिल्ला–जिल्लामा अनुगमन तीव्र पारेको छ । अनियमित रूपमा विषादी बिक्री र प्रयोगलाई नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायको संयुक्त टोलीले यस्तो अनुगमनलाई तीव्रता दिइएको हो ।   राजधानीको कालिमाटी तरकारी बजारमा भित्रिने कतिपय तरकारीमा विषादीको निशेषदर उच्च रहेको पुष्टि भएपछि तरकारीको स्रोत केन्द्रमै अनुगमन गर्न थालिएको कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले बताए । “अवैध रूपमा विषादी बिक्री हुने गरेको र कृषकले पनि अव्यवस्थित रूपमा विषादीको अवस्थालाई नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिएका छौैं,” उनले भने, “कालिमाटीमा परीक्षण गर्दा जहाँको तरकारीमा बढी विषादी भेटिएको छ, त्यहाँ प्राथमिकताका साथ अनुगमन थालिएको छ । देशैभर अनुगमनलाई निरन्तरता दिइनेछ ।” निर्देशनालयले असार पहिलो सातादेखि कालिमाटीमा प्रयोगशाला राखी तरकारीको नमुना परिक्षण गरेर विषादीको मात्रा अध्ययन गरिरहेको छ । यसैबीच आइतबार प्रमुख जिल्ला अधिकारीसहित धादिङको संयुक्त अनुगमन टोलीले एग्रोभेट दर्ता नगरी विषादी बेचबिखन गरेको फेला पारेको छ । धादिङको खानीखोलास्थित एआर किराना पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको सम्पूर्ण विषादी प्रहरीसमेत संलग्न टोलीले जफत गरेको छ । पसलबाट ८० प्याकेट रेटिल, ५ प्याकेट किवेस्टिन, २ वटा किलेक्सिल, एउटा एल्मोनियम फस्फाइड, ४ वटा टाइजोफस, ५ वटा साफ, १८ वटा रोगर, ८ वटा किटपलगायत विषादी जफत गरी जिल्ला कृषि विकास कार्यालयलाई जिम्मा लगाइएको अनुगमनमा संलग्न  निरीक्षक श्रीकृष्ण न्यौपानेले बताए । आइतबार धादिङका दर्जनभन्दा बढी एग्रोभेटमा अनुगमन गरिएको थियो । कतिपय एग्रोभेटमा मिति नाघेका विषादीसमेत पाइएकाले सम्बन्धित एग्रोभेटलाई सुधार गर्न निर्देशन दिँदै सचेतपत्र थमाइएको न्यौपानेले बताए । विषादी बिक्री गर्न दर्तावाल एग्रोभेट सञ्चालकलाई मात्र अधिकार हुने भएकाले बिनादर्ता बिक्री गरिँदै आइएको सबै विषादी जफत गरिएको निर्देशक शर्माले प्रष्ट्याए । विषादी न्यूनीकरणमा एग्रोभेटको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले सुरु गरेको अभियानमा सघाउन एग्रोभेट सञ्चालकलाई शर्माले अनुरोध गरे । उपत्यकामा तरकारीको प्रमुख स्रोत मानिने काभ्रे, धादिङ, चितवन, गोरखा, पोखरा, रुपन्देहीलगायत क्षेत्रमा संयुक्त अनुगमन टोली सक्रिय रहेको निर्देशनालयले जनाएको छ । “हामीले कृषकलाई विषादी प्रयोग नगर्नु भनेका छैनौं । तरिका अपनाएर विषादी प्रयोग गरेको बजारमा आउने तरकारीमा विषादी आइपुग्दैन,” निर्देशक शर्माले भने, “उपभोक्तालाई स्वच्छ तरकारी उपभोग गराउनु हाम्रो उद्देश्य हो । यो अभियान जसरी पनि अगाडि बढाइन्छ ।” कृषि विकास मन्त्रालयमातहतको कृषि विभागले यसअघि नै ७५ जिल्लाका कृषि विकास कार्यालयलाई जिल्ला–जिल्लामा अनुगमन गर्न लिखित पत्राचारसमेत गरिसकेको छ कारोवार डेली डट कमले खबर लेखेको छ ।