जन्मभूमि फर्कदै गर्दा आउने सवाल- जवाफ
633 पटक पढिएको
“निर्मल”‘ थपलिया नारायण
स्वदेशमा नै बसेर सहज र सन्तोषजनक तरिकाले जिबिकोउपार्जन हुन्थ्यो भने रोजगारीको लागी परदेशिने रहन कसैलाई हुदैन | आर्थिक कारणले निम्त्याएको कुनै पनि समस्या समाधान गर्न वा निकट भविश्यमा आइपर्ने आर्थिक समस्याको समाधानको पूर्व तयारीको लागी नै बिदेशी भूमिको मुख ताक्नु परेको अवस्था हो | बिशेष गरेर दक्षिण कोरियामा काम गर्नको लागी इ पी एस मार्फत कोरिया प्रवेश गरेर करार अवधि समाप्त गरि स्वदेश फर्कने तयारी गरि रहदा आफ्नो मन भित्र विभिन्न खाले कुराले डेरा जमाई रहेको बेला साथी भाई र आफन्तको मनलाई भड्काउने खालका कुराले थप बिचलित बनाउनु स्वाभाविक नै हुने रहेछ | बिदेशमा रहदा, बस्दा, काम गर्दा वा जुनसुकै अवस्थामा पनि विदेशिने निर्णय गर्दाको क्षण र विदेशिने प्रक्रियामा हिडीरहदा आफ्नो मनमा उब्जिएका कुराहरुलाई पुन स्मरण गर्ने क्षमतालाई कायम राख्ने हो भने यो शरीरलाई सकुसल फिर्ता गर्ने गरि परदेशको बसाई र कमाईलाई अत्याधिक सफल कोरियाको कार्यावधि मान्नु पर्दछ |
कोरियाको कार्यावधि सकेर स्वदेश फिर्ता हुने अन्तिम तयारीमा लागी रहदा भेटघाटमा साथीभाईहरुबाट कोरियालाई नै केन्द्रमा राखेर प्रश्न सोझ्याउने गरेका हुन्छन | उनीहरुलाई कोरिया आउनुको प्रमुख उदेश्य पुरा भयो भएन, शारीरिक अवस्था, पारिवारिक जिम्मेवारी, सामाजिक कर्तब्य, भविष्यको योजना जस्ता यावत कुरासंग कुनै जिज्ञासा देखिदैन | भेट हुनासाथ सोध्ने गर्छन, नेपाल जादै हुनहुन्छ क्यारे अब कहिले आउनु हुन्छ ? सी भी टि दिएर आउने त होला नि हैन ? तपाईंले त इ पी एस फेरी पनि दिन भ्याउनु हुन्छ नि ? कि इ सेवेन लिनु भाको हो कि? कम्पनीले भिसा देलानी ? कम्पनी चेञ्ज गर्नु भाको हो र? कम्पनिले फेरी बोलाउला नि ?
जब यी प्रश्नहरु आउने गर्छ कहिले कहिँ त जवाफ दिन मनै लाग्दैन | चुपचाप टाउको हल्लाएर इसाराले समर्थन गरे झैँ गर्नु पर्ने हुन्छ भने कहिले झन्नक्कै रिस पनि उठ्न खोज्छ | अनि सम्हालिदै भन्नु पर्ने हुन्छ अब कोरिया आउन नपर्ने भयो | अर्थात् जुन उदेश्यको लागी कोरिया आएको थिए त्यो पुरा भयो | आफ्नो लक्षित समस्याको समाधान भई सके पछि पनि विदेश बसी रहने हो त ? बिदेशमा काम गर्न उमेरले भ्याउछ भन्दैमा शरीरमा तागत, सोच्न सक्ने मस्तिस्क भएर काम गर्न सकुन्जेल हाम्रो जीवन विदेशको लागी मात्र हो र? अनि शारीरिक अवस्थालाई पनि हेरौन ! धेरै साथीहरु त अंगभंग भएर नै फर्कनु परेको दुखद अवस्था छ | हरेक कोरियाको कामदार काम गर्न उतिकै बलियो रहिरहन्छ भन्ने छैन मानसिक र शारीरिक रुपमा गलिसकेको हुन्छ | कोरियाको कारखानाहरुको पेट्रोल डिजेल देखि विभिन्न रंगका पोलिथिन, फलामको भट्टी, अलुमुनियमको भट्टी आदिको गन्ध, धुवाधुलो, रसायन, ध्वनि प्रदुसन, शरीरमा पर्ने थर्थराहट, आँखालाई असर गर्ने ज्योति, जलेको छाला, रसायनले गर्दा भएको एलर्जी इत्यादी लामो समयसम्म यो शरीरले सहन गर्न सक्दैन | आवश्यकता पुरा भईसके पछि पनि पैसाकै लागी यो ज्यान फाली रहन मिल्ला त ?
देशमा महंगी बढ्यो कमाई हुदैन यता तलब बढेको बढ्यै छ , स्वदेश फर्केर बेरोजगारी बस्ने कि यताको कमाईलाई सुरक्षित गर्ने भन्ने अर्को प्रश्न खडा हुन सक्छ | विदेश कति समय बस्ने कति कमाउने र त्यसको सिमा रेखा कहाँ पुगेपछि लगाउने भन्ने नै त्यसको जवाफ हो | बिवाह गरेर गर्भ छाडेर विदेश आएको बाबुले जन्मेको छोरीको विवाहमा पनि घर फर्कन नसकेको व्यथाहरु छन् | बिदेशमा बर्षौ बसेर करोडौ कमाएर घर फर्कदा न सम्पति न परिवार भएर प्रहरीको शरणमा निवेदन गर्न पुगेका ताजा घटनाहरु छन् | दुइ दसक सम्म बिदेशमा बसेर कमाउदा कमाउदै ज्यान गुमाउनु पुगेको अवस्था छ | बर्षौ देखि बिदेशमै कमाउने बिदेशमै सकाउनेहरुको आफ्नै कहानी छ | यसरि कमाउनु हो के अर्थ छ ? मानसिक र शारीरिक पिडा सहेर कमाएको सम्पतिबाट आफ्नो भबिष्य सुरक्षित नै गर्न सकिन्न भने त्यस्तो कमाईको लागी समय बर्बाद गरिरहनुको औचित्य हुदैन | त्यो समयको सदुपयोग गर्दै परिवारलाई दिन सक्ने हो भने राष्ट्र निर्माणमा ठुलो सहयोग हुनेछ |
हामी विदेशबाट देश बिकाश भएन, समाजमा बस्न सक्ने अवस्था छैन भनि रहन्छौ | हाम्रो समाजको बिकासको लागी आवश्यक पुर्बाधारहरु बाटो, पानी, बिजुली बत्ति.. इत्यादिको व्यबस्थाको लागी आफ्नो सहभागिता कतिको भयो र समाज विकासको लागी योगदान, जनश्रम दान के के मा गर्न सक्यौ भन्ने बिषयमा सोचेको हुदैनौ | यस्ता स्थानीय बिकासको काममा महिनौ सम्म जनश्रम दान गरेकाहरुलाई भन्ने पर्दैन कि आफ्नो गाउँ आफै बनाउने हो | तर काम गर्दै नगरेका हामीहरु भने यो भएन त्यो भएन भनि रहन्छौ तर आफु काम गर्दैनौ | कुरा मात्र नगरेर आफु पनी सामाजिक काममा सहभागिता जनाउन स्वदेश फर्कन जरुरि हुन्छ |
स्वदेश फर्केर के गर्ने त ? भन्ने यतिबेलाको जटिल प्रश्न उठ्नु स्वभाबिक नै हो |
बाल्यकालमा बालबच्चालाई समय दिन नसके पछी स्कुल जाने थाले पछि टाढिन शुरु गर्छन र क्रमश: टाढिदै जान्छ | बुढेसकालमा आफु एक्लो हुने गरेको घटना भोगेपछि मात्र हैन कहिले काहीं अर्काको हेरेर पनि सिक्नु पर्ने हुन्छ |
बिदेशमा रहदा कतिपय युबतीहरु महिना पिच्छे केटा साथी फेर्दै हिडेको देखिनु सामान्य लाग्छ भने कतिपय युबकहरु विदेश आएको पहिलो महिनाको तलब हात पर्नासाथ युबतिको खोजीमा बजार धाउने गरेको देखिएकै कुरा हो | बिपरित लिंगी प्रतिको आकर्षण प्राकृतिक प्रक्रिया हो भन्ने थाहा हुदा हुदै परस्त्री संग जाने पुरुषको श्रीमती चाही परपुरुष गमन गर्दिनन भन्न सकिन्न | निश्चित समय सम्म श्रीमानको आगमनमा प्रतिक्षा गर्न सक्लिन तर समय सिमा नाघी सके पछि पनि आफुलाई नियन्त्रणमा राखिरहन बाध्य होलिन र ? त्यतिबेला श्रीमतीको चाहना श्रीमानले कमाएको पैसामा सिमित हुन्छ भन्न त मिल्ने कुरै हुदैन |यस्तो बेला उचित समयमा घर परिवारको सामिप्यमा रहनु नै बुद्धिमानी ठहरिने छ |
परदेशमा लामो समय देखि रहदै बस्दै आएका केहि व्यक्तित्वहरु संगको अनुभबलाई हेर्ने हो भने कमाएको सम्पतीले बनेको आलिसान महल भित्र आफ्नो घर परिवारको खोजीमा तड्पीरहेको भेटिन्छ | जंगलको बिचमा भेटिएको गुफा वा पहराको छादनमा बास बसेको कुनै योगी जस्तो लाग्ने सम्पतिको मालिकहरुलाई आफ्नै महलले गिज्याईरहेको हो कि तर्साई रहेको हो छुट्याउन जो कोहि सामाजिक मानबलाई गार्हो पर्ने हुन्छ | एउटा सामाजिक प्राणी मानवले सबभन्दा पहिला आफुलाई घर परिवार र सामाजिक जीवन प्रति लक्षित गर्नु पर्ने हुन्छ | एउटा परिवारलाई नियन्त्रण गर्ने कुसल नेतृत्वको अभाबमा समाजको उत्कृस्ट परिवार क्षणभर मै तहस नहस भएको उदहारणहरु छन् | कुनै परिवारमा जन्मेको खराब व्यक्तिको कारण पुरै समाजमा बिचलन पैदा हुन्छ | परिवारलाई सहि ढंगबाट नियन्त्रण गर्न सक्ने व्यक्त्ति जब परिवारबाट निस्केर समाजमा हाबी हुन्छ ,त्यो समाज नै प्रगति उन्नति र बिकाशबाट बन्चित रहन्छ | क्रमिक रुपमा समाजबाट माथिल्लो निकाय हुदै राज्य स्तरमा पुगे पछि त्यसको परिणाम आजको राष्ट्र नेपाल जस्तो बन्न पुग्छ | जसलाई हामीले बिदेशमा बसेर गाली गलौज घृणा र तिरस्कार मात्र गर्ने गरेका छौ | त्यसैले आज नै हाम्रो प्राथमिकतामा हाम्रो घर परिवारबाट भोलि समाजमा निस्कने व्यक्तिमा केन्द्रित हुनु पर्छ | हरेक शिक्षित वर्ग, सचेत वर्ग , राष्ट्र प्रेमी बर्गले आफ्नो घरबाट समाजमा निस्कने प्रत्येक व्यक्तिलाई समयमा नै सुरक्षित साथ परिवार, समाज, हुदै राज्य प्रति बफादार कर्तब्य निष्ठ बनाएर निकाल्ने हो भने राष्ट्र परिवर्तनको दृश्य हामी आफ्नै आँखाले देख्न सकिन्छ |
बिदेशमा कमाएको पैसा तिरेर शहरको महँगो स्कुल, कलेजमा बाल बच्चा पढ्न पठाउने र बिदेशी भूमिमा श्रम बेच्नको लागि मात्र तयार पर्नु बुद्धिमानी हुदैन | बाध्यात्मक परिस्थिति वा बिस्व बजारमा प्रस्तिस्पर्दा गर्नको लागि मात्र परदेश लाग्नु स्वाभाविक हुन्छ | शिक्षित समुदायले आफ्नो समाज र समग्र राज्यले नै शिक्षा लिने गरि दिशा निर्देश गर्न सक्दैनन् भने त्यस्तो शिक्षाको लागि समय खर्चिनुको के नै अर्थ होला र?अनुभबी र शिक्षित व्यक्तिहरुको समुहले एक आपसमा सहकार्य गरि समाजको हरेक बिकासको काममा अगाडी बढ्न सके सफलता हासिल गर्न सकिन्छ | कृषि पशुपालन कलकारखाना, उद्योग धन्दाजस्ता अन्य उत्पादनसिल कार्यमा प्रगति गर्नको लागि परिवर्तन चाहने शक्ति हरुको बिचमा एकता हुनु जरुरि हुन्छ | ति परिवर्तनकारी शक्ति हरुको बीच एकता गर्न र समाजमा नयाँ खालको बिकासको माहौल सिर्जना गर्नको लागि बिदेशमा बस्न बाध्य नभएका जो कोहि देश भक्त नेपाली स्वदेश फर्कन तयार हुनु पर्दछ |