दसैँको साइत सार्वजनिक

647 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, -नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ। त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष पश्चिम फर्केर झण्डा फेर्नु राम्रो हुने पनि उनले बताए।

असोज १३ गते सोमबार पचली भैरवको यात्रा परेको छ। असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ। फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष गौतमले बताए।
असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ। असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ। त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताए।
असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर १५ मिनेटको साइत भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारे। शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उनले स्पष्ट पारेका छन्।
विजयादशमीका दिनमा गरिने तुलजा भवानीको यात्राका लागि १७ गते बिहान १० बजेर २१ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ। खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ।
दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ। त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ। नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो।
नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो। चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ।