चेपाङका लालपुर्जा जिविसका दराजमा

446 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- गजुरी गाविस पृथ्वी राजमार्गसँग जोडिएको छ, जसलाई जिविसले नमुना घोषित गरेको छ । राजधानी प्रवेशको मुख्य नाका यस बजारसँगै जोडिएका छन्, हाँगेटारका चेपाङ र दलितका टहरा र झुपडी पनि । झुपडी वरिपरि लोभलाग्दो गरी बालीनाली, केरा र तरकारी लगाइएको छ ।

विकट स्थानमा सरकारी सेवासुविधा र विकास दिन नसकिने भन्दै चेपाङ समुदायलाई बसाउन जिविसले ०४४ सालमा हाँगेटारको ४० रोपनी जग्गा स्थानीय खेमराज उप्रेतीसँग खरिद गरेको हो । तर उक्त समुदायलाई ४ देखि ६ रोपनी जग्गाको लालपुर्जा दिएर व्यवस्थित बस्ती बसाउने काम जिविसले २७ वर्ष बितिसक्दा पनि गर्न सकेको छैन ।

यस बस्तीका सबै दम्पतीलाई बोलाएर संयुक्त लाजपुर्जा बनाएको पनि ५ वर्ष बितिसकेको छ । ‘हामीलाई बोलाएर लाजपुर्जा बनाए पनि दिइएको छैन,’ करिब २० वर्षअघि हाँगेटारको बाँझोमा काँसघारी फाँडेर झुपडी बनाएका टेकबहादुर चेपाङ भन्छन् । २० वर्षसम्म बेचबिखन गर्न नपाउने गरी टेकबहादुर र फूलमाया प्रजाका नाममा जिविसले २/२ रोपनीको संयुक्त लालपुर्जा बनाइदिएको थियो । ‘हाम्रो बस्तीमा ६ परिवार प्रजा र अन्य दलित पनि छन्, जग्गा हकभोग गरेका छौं तर लालपुर्जा पाएका छैनौं,’ वृद्ध प्रकाश प्रजाले भने ।

लालपुर्जा नपाएपछि प्रजा जाति विद्युत्, खानेपानी र विद्यालयलगायत सरकारी सेवाबाट समेत वञ्चित रहेको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले बताए ।

जिविसले विकट भेगमा कठिन जीवनयापन गरिरहेका विपन्न चेपाङ समुदायको व्यवस्थित बस्ती बसाउन ०४४ सालमा महादेवस्थान २ को सिमथलीमा २३ परिवारका लागि १ सय ८४ रोपनी र धुषा ४ का ३४ परिवारलाई ५६ रोपनी जग्गाको लालपुर्जा तयार गरेको थियो । ‘वितरण गर्न ठिक्क पारिएका लालपुर्जा कुन पार्टीका, कुन नेताले वितरण गर्ने भन्ने विवादमा हालसम्म रोकिएका छन्,’ चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले भने, ‘ती सबै जिविसको दराजमा थन्केका छन् ।’ इ कान्तिपुर डट कमले खबर लेखेको छ ।