मलेखुको नक्कली माछाको सक्कली स्वाद! – आनन्दराम पौडेल

738 पटक पढिएको

सम्पादक: Dhading News

84042Ananda Ram Paudel‘आज म अलि बढी नै जङ्गिएँ कि क्या हो?’ साँझ एकान्तबासमा राजकुमार प्याकुरेलले मनमनै भने। आज दिउँसो होटेल निरीक्षण गर्न आएको टोलीसँग राजकुमारजीले बेला–बेलामा आक्रोश पोखेका थिए। निरीक्षण टोलीलाइ विदाई गरेपछि धार्के र मलेखुका होटल व्यवसायीहरूसँग एकछिन भलाकुसारी गरे। दौडधुप, टेन्सन र आक्रोशले थाकेका राजकुमारजीले आराम गर्ने विचार गरे। आफ्नै कान्तिपुर होटेलको माथिल्लो तलामा चीसो बियर र सितन ल्याउन लगाएर बिहङ्गम समीक्षामा घोत्लिएका थिए। सोचे, ‘हैन, मलाई झोंक चलेको त जिल्ला प्रशासन कार्यालय, धादिङका सहायक प्रजिअ नन्दलाल शर्मासँग हो। लाइनका (राजमार्गका) होटल के यही धादिङ जिल्लामा मात्र पर्ने हो र? तर, अरु जिल्लाका प्रशासनले त यसरी तारन्तार निरीक्षण गरेर हैरान गरेको छैन नि? यी नन्दलाल शर्मालाई यसअघि पटक–पटक भनेको थिएँ। जम्बो टोली नलिइकन खत्रक्क आएर सर्लक्क निरीक्षण गरे त भैहाल्यो भनेको थिएँ। हल्लाखल्ला र चर्चापरिचर्चाको विषय किन बनाउने? भन्ने पनि मेरो आग्रह थियो। असोज ७ गतेका दिन पहिले त नन्दलाललाई मात्र देखें। बुद्धि पुर्यारएछन् भन्ने लाग्यो। त्यसैले, स्वागत पनि गरें। तर, के हुन्थ्यो? जब सँगसँगै फियान नेपालका प्रतिनिधि, खाद्य अधिकार जिल्ला सञ्जालका प्रतिनिधि, जिल्ला उद्योग बाण्ािज्य सङ्घका पदाधिकारी, खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्द र बाण्ािज्य अधिकृत राजेन्द्र कार्की समेतको टोली नै होटेल अनुगमनमा आएको देखें तब म रनक्क रन्किएको थिएँ। जिल्ला उद्योग बाण्ािज्य सङ्घका पदाधिकारीलाई त मैले भनिपनि दिएँ। ‘म कान्तिपुर होटेलको मालिकमात्र हैन, जिल्ला होटेल सङ्घको अध्यक्ष पनि हुँ। तपाईं–हामी व्यवशायी। जिल्ला होटेल सङ्घपनि उद्योग बाणिज्य सङ्घमा आवद्ध भएकाले हामी एउटै परिवारका ह्वौं।
तपाईंहरूले प्रशासनको पछि–पछि लागेर हामीलाई कस्न सुहाउँछ?’ भनिदिएँ।’
सितन सकिएछ। एक प्लेट तास मगाए। सँगसँगै १ बोतल बियर थपे। निरीक्षण टोलीलाई सम्झिँदै सोचे, ‘सादा खानाको रु.१५०। सम्म लिएको, १ बोतल पानीको रु.३० सम्म लिएको, कोकाकोलाहरू १ बोतलको रु.४५ सम्म लिएको भनेर टिपिरहेका थिए। ढाकछोप गर्दागर्दै पनि हाम्रो मलेखुको सपना होटेल, मुक्तिनाथ होटेल एण्ड लज, भद्रकाली होटेल, मिलन होटेल, नमस्ते नेपाल, शुभकामना होटेल र खुद मेरै कान्तिपुर होटेललाई समेत कैफियत जनाउँदै पत्र थमाए। म्याद नाघेको भनेर कोल्ड ड्रिङ्क्स फाल्न लगाए। धन्न तिनीहरूले बासी भाततिर ध्यान दिएनन्। सरसफाई त जहिले पनि कैफियतमा जनाइरहने हुन्, यसपालि पनि जनाए। अर्काको खोट देखाउन जति सजिलो छ, साँच्चै काम गरेर देखाउन र होटेल चलाएर फाइदा लिन कति गाह्रो छ! यिनीहरूले ६ महिना चलाएर देखाउन् त! भयङ्कर कम्पिटिशन छ। बस आफ्नो होटेलको दैलामै रोक्न लगाउन ड्राइभरलाई पूजाअर्चना गर्नुपर्छ। ड्राइभर र कण्डक्टरलाइ सित्तैमा मीठोमसिनो खुवाउनुपर्छ। दक्षिणा टक्र्याउनुपर्छ। दक्षिणा पहिलेपहिले रु.५००। दिए पुग्थ्यो। अहिले प्रतिस्पर्धाले गर्दा एउटाले एक हजार दिए अर्कोले बाह्रसय दिन्छ।’
तास सकिएछ। अझै भोक मेटिएन। प्राउन र बियर मगाए। सोचे, ‘भयङ्कर भोक लागेको रहेछ। तिनीहरूलाई पनि त भोक लागेको थियो होला! एक कप चिया समेत् नख्वाई पठाएँ। मलेखु र धार्के ओहोरदोहोर गर्दा, कराउँदा, टेन्सन र आक्रोशले गर्दा थिलथिलो भैसकेछु। तिनीहरू पनि त थाकेका थिए होलान्। मिल्ने मिलाउने गरी सहज पाराले आएको भए तिनीहरूका लागि हामी मलेखु र धार्केका होटेल व्यवसायीले ‘ब्ल्याकलेभल′ ह्वीस्की नै फोर्थ्यौं। भोको पेटमा खरिखोटी सुनाएर पठाइयो। तिनीहरूको कर्म अनुसार ठीक्क भयो।’
बस्दाबस्दै गोडा निदाएछ। उठेर कोठाभित्रै एकछिन टहले। पुन आफ्नो कुर्सीमा बसे। प्राउन टोक्दै र बियर घुट्क्याउँदै मनोवादमै रमे। सोचे, ‘निरीक्षण टोली त छँदैछ, पल्लो छेउमा कुनातिर पत्रकार रामेश्वर कार्कीलाई देखे। यिनलाई देख्नासाथ पत्रकारले क्षति पुर्याएका विवरण सम्झें। मलेखुमा हाम्रो होटेल व्यवसाय ध्वस्त पार्न यिनीहरूकै प्रमुख भूमिका रह्यो। मलेखुको माछा खान भन्दै टाढा–टाढाका ग्राहकहरू आउँथे। मलेखुको माछाले पुग्दैनथ्यो। जनकपुरदेखि माछा ल्याएर मलेखुको माछासँग मिसमास गरिन्थ्यो। ग्राहकहरू सन्तुष्ट नै थिए। यिनै पत्रकारहरूले बढी जान्ने भएर सब् छारष्ट पारिदिए। युवायुवती घुम्न आउँथे। ३–४ घण्टाका लागि रुम बुक गर्थे। युवायुवतीको रसबसमा यिनीहरूले चियाउनुपर्ने र चियोचर्चो गर्नुपर्ने नै होइन। बिषयबस्तुलाई तन्काएर, बढाएर ‘मलेखुका होटेलमा यौनधन्दा’ भनेर लेखे। जति आउँथे सबकासब गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड मिलेर आउँथे। आफ्नै ब्वाइफ््र्केण्डसँग कोठामा बस्नु, एकाध घण्टा सँगै सुत्नुलाई पनि कहीं यौनधन्दा भन्न मिल्छ त? यी पत्रकारहरू सङ्कीर्ण पुरातनपन्थी रहेछन्।
मोहन बैद्य ‘किरण’ को भाषामा ‘जडसूत्रवादी’। यो सबै सम्झँदा हुलुक्क–हुलुक्क भयो। अनि पत्रकार रामेश्वर कार्कीलाई झम्टें। ‘तपाईं धादिङकै रैथाने हैन? धादिङबासीको नाताले तपाईंले धादिङकै उन्नति, प्रगति र समृद्धिको पक्षमा लेख्नुपर्ने हैन?’ भनिदिएँ।’ भोक मेटिएछ। तर, आक्रोशको बेग थामिएको थिएन। त्यसैले, उपर्खुट्टी लाएर सजिलोगरी बसे, र सोचाईको सिलसिला अघि बढाए। सोचे, ‘राष्ट्रले धान्न नसक्ने त्यत्रा भयङ्कर बद्मासी भैरहेछन्, तर सबै हामीमाथि खनिएका छन्। यातायात व्यवसायीहरूले सिण्डिकेट बनाएर आफ्नो एकाधिकार कायम गरेका छन्।’यातायात क्षेत्रको सरकार हामी नै हौँ’ भनेर यातायात ब्यवसायी महासङ्घका अध्यक्षले कारोवार दैनिकमा अन्तर्वार्ता दिए। सरकारले पेट्रोलियम पदार्थ कुन फिलिङ स्टेशनबाट ल्याउनु पर्छ र कति भाडा दिनुपर्छ भनेर ट्याङ्कर ब्यवसायीले तोकिरहेका छन्। गिट्टी, बालुवा व्यवसायीको अगाडि सरकार लुत्रुक्क परेर झुक्छ। एलपी ग्याँस व्यवसायीले, ‘२२ हजार टन कोटालाई बढाएर ३० हजार नपुर्या्ए हामी देखाइदिन्छौं’ भन्नासाथ सरकार थर्कमान हुन्छ। स्थिति यस्तो छ, हामीलाई मात्र ङ्याकेर के नै हुन्छ भन्या? सङ्गठन बलियो बनाएर हामीपनि देखाइदिन्छौं।’ राजकुमार प्याकुरेलजी जुरुक्क उठे। जिउ तन्काएर बेडरुमतिर लम्के।

सांघु साप्ताहिकवाट