बालबालिकालाई किन सिटमा नबसाउने ?

927 पटक पढिएको

सम्पादक: Dhading News

balikaअरुणा रायमाझी 
बच्चा लिएर यात्रा गर्दाको दिन सातदोबाटोकी बिमला बानियाँले चालकसँग झगडा नगरेको दिनै हुन्न । बिमला भन्छिन्, ‘गाडी चढेर बच्चा सिटमा राख्न पाएको हुँदैन, चालकले बच्चा सिटमा नराख्नुस् है भन्न भ्याउँछ ।’

एक दिनको कुरा हो । उनी सातदोबाटोबाट बानेश्वर जाने टेम्पुमा बच्चा लिएर यात्रा गर्दै थिइन् । टेम्पो चालकले भने, ‘ए दिदी ! त्यो बच्चा किन सिटमा राखेको ? बच्चा देखेपछि मान्छे चढ्दैनन् । उठाई हाल्नुस् ।’ बिमला भन्छिन्, ‘म ठूलो अपराधी हो जस्तो गरेर चालकले हप्काए । त्यो सुनेर बच्चा उठ्यो । मैले बस्न लगाउँदै भने, ‘किन बच्चा मान्छे होइन ?’ चालकले रिसैरिसमा भने, ‘पैसा तिर्नुहुन्छ ?’ मैले जवाफ फर्काए, ‘गाडी चढेपछि पैसा तिर्नुपर्छ भन्ने मलाई थाहा छ भाई ।’ त्यसपछि उनी चुप लागे ।

चालकको रुखो बोली प्रति हदै बिच्किएकी बिमला भन्छिन्, ‘बच्चालाई सार्वजनिक ठाउँमा पशुलाई जस्तो व्यवहार गर्ने अधिकार चालकलाई छैन । यो सार्वजनिक ठाउँमा वालवालिकामाथि गरिएको दुव्र्यवहार हो ।’

धेरैजसो यात्रु बच्चालाई सिटमा राख्ने तर, भाडा दिन नखोज्ने भएकोले झगडा हुने चालकहरूको भनाई छ । साझा बस चालक रेबिका थापा भन्छिन्, ‘बच्चाले १० रुपैयाँ माग्यो भने अभिभावक ५० रुपैयाँ दिन तयार हुन्छन् । तर, गाडीमा यात्रा गर्दा उसको १० रुपैयाँ भाडा तिर्न लोभ गर्छन् । यस्तो अवस्थामा सिटमा बसिरहेको बच्चालाई हामीले होइन, यात्रुले नै उठाउँछन् ।’
बालबालिका लिएर यात्रा गरिरहेका बाबुआमाको एकै खाले जवाफ हुन्छ– ‘धेरै टाढा छैन, उभिए हुन्छ ।’ तर आफूहरू गज्जक परेर सिटमा बस्ने वालवालिकालाई उभ्याएर यात्रा गराउँदा उनीहरूको मानसिक विकासमा कति असर पारेको हुन्छ भन्ने वारेमा अभिभावकले ध्यान दिएको पाइँदैन ।

बालमनोविज्ञ गंगा पाठक भन्छिन्, ‘यातायातमा बच्चामाथि गरिने व्यवहारले उनीहरूको मानसिक विकासमा ठूलो असर पु¥याएको हुन्छ । बालबालिकाले आफूहरू सिटमा बस्न लायक नभएको सम्झन्छन् । यसले उनीहरूको आत्मसम्मानमा धक्का पुग्छ । प्रकारान्तरले प्रतिस्पर्धामा हाम्रा नानीहरू पछि पर्छन् ।’

आफ्नो बच्चामाथि सार्वजनिक ठाउँमा हुने व्यवहारले उसको भविष्यमा असर परिरहेको छ भन्नेमा आमाबुबा सेचत भएको देखिदैनन् । गएको साताको घटना हो । लगनखेलबाट नानीलाई लिएर एक जना अभिभावक टेम्पो चेढ । टेम्पोमा तीन जना यात्रुमात्रै थिए । स्कुल ड्रेसमा रहेकी छोरीलाई बुबाले आफ्नो अगाडि उभ्याए । अर्का एक यात्रुले सिट छ नी, नानीलाई किन उभ्याएको ? भन्दा ती अभिभावकले जवाफ फर्र्र्काए– नजिकै ओर्लने हो । उनी जाउलाखेलमा उत्रिए । टेम्पो चालकले भने, ‘पैसा तीर्नु पर्छ भनेर उभ्याएको होला नि ! नचाहिँदो काममा पैसा उडाउँछन् । बच्चाको लागि १० रुपैया भाडा तिर्न बोझ मान्छन् ।’
सार्वजनिक सवारी साधनमा पाँचवर्षभन्दा माथिका बच्चालाई पुरै भाडा लाग्छ । एक जना चालकका भनाईमा, ‘कतिपय यात्रुले यतिसम्म गर्छन कि १० वर्षको बच्चालाई लाजै नमानी ४ वर्षको भन्छन् ।’ सामान्यतया स्कुल जाने र स्कुलबाट घर फर्कने समयमा अनि बिदाका दिनमा सार्वजनिक यातायातमा बालबालिकामाथि यस्तो खालको व्यवहार धेरै हुन्छ ।

बाल अधिकारकर्मी ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘यहाँनेर यातायात व्यवसायिको सदासयतालाई मान्नुपर्छ कि उनीहरू ५ वर्ष माथिकै भएपनि उभिएर यात्रा गरेको बच्चाको पैसा माग्दैनन् । तर सार्वजनिक यातायातमा शुल्क जोगाउने नाममा अभिभावकले आफ्नो बच्चालाई असुरक्षित यात्रा मात्र गराइरहेका छैनन्, उनीहरूको बाल मनोविज्ञानमा समेत आघात पु¥याउने काम गरिरहेका छन् । त्यसकारण चेतना आमा बुबालाई दिनुपर्छ ।’

असुरक्षित यात्रा गराउँदा दुर्घटनामा बढि बालकालिका पर्ने बालहेल्प लाइनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीको भनाई छ । अधिकारीका अनुसार सन् २०१३ काे जनवरीदेखि नाेभेम्वरसम्म ११ महिनामा यातायात दुर्घटनामा मृत्यु हुनेकाे सख्या ११० छ भने अङ्गभङ्ग हुने बालबालिकाको सख्याँ १४७ रहेकाे छ । यसैगरी प्रहरी नायव उपरिक्षक बालाजि रायमाझीले दिएकाे जानकारी अनुसार सात महिना यता ५ काे मृत्यु भयाे भने १० बालबालिकाकाे अङ्गभङ्ग भएकाे छ । यसकाे अर्थ आर्थिक अभाव देखाएर धेरै अभिभावकले आफना बच्चालाई जोखिममा पारिरहेका छन् ।

बालबालिकाका क्षेत्रमा रिर्पोटिङ गर्दै आएकी पत्रकार सृजना खड्का सार्वजनिक यातायातमा ठूला भनिने व्यक्तिहरूबाट बालबालिकाले पटक–पटक अपमान सहेको आफूले देखेको बताउँछिन् । खासगरी टेम्पो र माइक्रोबसमा यस्तो समस्या धेरै रहेको उनको भनाई छ । उनी भन्छिन्, ‘विदेशमा बच्चालाई सिट छोड्न माया देखाउने प्रचलन छ । तर हाम्रो देशमा ठूलो मान्छे आउन वित्तिकै बच्चा उठाउने उल्टो संस्कार छ ।’

बालमनोविज्ञ गंगा पाठक भन्छिन्, यो समस्या समाधान गर्न कारवाही थाल्नुपर्छ । दोषी अभिभावक र चालकमाथि कारवाही गरेपछि मात्रै बच्चाले सुरक्षित यात्रा गर्न पाउने अधिकारको सम्मान हुन्छ । यसले मात्रै बालबालिकाको सामाजिक हक र सम्मान स्थापित गराउँछ ।’

-मेरो जिल्ला डट कमबाट