रसुवामा तीन जलविद्युत् आयोजना निर्माणमा तीव्रता

701 पटक पढिएको

सम्पादक: Dhading News

पानीको भण्डार रसुवा जिल्लामा सञ्चालित तीन जलविद्युत् आयोजनाको निर्माण आगामी अढाइ वर्षभित्र सम्पन्न हुने गरी अगाडि बढेको छ । रसुवा जिल्लाको थुमन र टिमुरे गाविसमा १११ मेगावाट क्षमताको रसुवागढी, चिलिमे गाविसको तिलोचेमा १४.८ मेगावाट क्षमताको सान्जेन(माथिल्लो) र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सहायक कम्पनी रसुवागढी हाइड्रोपावरले तीनवटै आयोजना विसं २०७४ सम्म निर्माण सम्पन्न गर्ने योजना छ । ती आयोजनाका सुरुङ मार्गका संरचना निर्माण अहोरात्र अगि बढिरहेको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेका दक्ष प्राविधिक र व्यवस्थापक ती आयोजनामा क्रियाशील छन् । गत साउन महिनामा ती तीन र सिन्धुपाल्चोकस्थित मध्यभोटेकोसी (१०२) सहितका आयोजनाका अध्यक्ष कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले नेपाल विद्य्त प्राधिकरणमा फिर्ता ल्याएको थियो । स्थानीय जनताले उनको पुनःबहालीको माग गर्दै आयोजना निर्माणको काममा २५ दिन बन्द गर्दा बाधा परेको थियो । विद्युत् आयोजना सम्पन्न गर्नासाथ राष्ट्रिय प्रसारणमा पठाउन नसकिएला कि भन्ने चिन्ता आयोजनाको छ । नेपाल विद्युत् प्राधिकरण प्रसारण महाशाखाले राष्ट्रिय ग्रिडलाइनको निर्माण सुरु नगर्दा चिन्ता बढेको हो । प्राधिकरणले निर्धारित समयमा ग्रिडलाइनको काम सम्पन्न नगरे कर्मचारी सञ्चयकोषबाट लिइएको ऋण रकमको ब्याज भारीमात्रामा बढ्ने बताइएको छ । टिमुरे–थाम्बुचेत–त्रिशूली–काठमाडौँसम्म प्रसारण लाइन बन्नुपर्ने छ । रसुवागढी जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् टिमुरेको तातोपानीदेखि गोल्जुङबेंसीसम्म आफैँले लाइन विस्तार गरी सान्जेन कम्पनीले उत्पादन गरेको विद्युत् एउटै हबमा जोडिदिएपछि प्राधिकरणले थाम्बुचेत–गतलाङ–ग्रे–हाकु हुँदै गोगने–मैलुङ–त्रिशूलीसम्मको राष्ट्रिय प्रसारण लाइन बनाउनुपर्ने सम्झौता रहेको बताइएको छ । रसुवागढी हाइड्रो पावरको सबै संरचना भूमिगत रहने छ । रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँधबाँधी चार हजार २०० मि लामो हेडरेस सुरुङ एवम् ३१३ मिटर लामो पेनस्टकको सहायताले तातोपानी भिरभित्र जडान हुने फ्रान्सिस नामक तीन टर्बाइन निर्माण गर्नुपर्ने देखिन्छ । ती टर्बाइनमार्फत प्रतिसेकेन्ड ८० घनमीटर पानी पठाइ १११ मेगावाट क्षमताको विद्युत्गृहबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा पठाइने छ । आयोजना प्रमुख किरणकुमार श्रेष्ठका अनुसार सो काम सम्पन्न गर्न रु १३ अर्ब ६४ करोड खर्च हुने अनुमान छ । उनका अनुसार बाँध, विद्युत्गृह र मूल नहर भएको सुरुङको कुल लम्बाइ आठ हजार मिटरमध्ये दुई हजार ७०० मिटर भई करिब २० प्रतिशत काम भइसकेको छ । “यो आयोजना सार्वजनिक र जनताको साझेदारीको अवधारणाअनुसार चलेकामा हामी गौरव गर्छौं, हामीले सरकारी जग्गाको क्षतिपूर्ति दिइसकेका छौँ, आवास बनाउन जग्गा खरिद गरेका छौँ”, उनले भने, “रसुवागढी हाइड्रोपावरका लागि प्राधिकरणको १८, सर्वसाधारणको १५ र स्थानीय जनताको १० प्रतिशत, चिलिमे कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको १९.५ तथा प्रबद्र्धक–प्राधिकरण–सञ्चयकोषका कर्मचारीको ४.५ प्रतिशत सेयरका साथै कर्मचारी सञ्चयकोषको ५० प्रतिशत ऋण लगानी छ ।” एक वर्ष अगाडि निर्माण सुरु गरिएको रसुवागढी हाइड्रोपावर विद्युत् आयोजनाका साइट इन्चार्ज नागेन्द्रनाथ ज्ञवालीले प्राविधिक कामलाई तीव्रता दिन अनुगमन भइरहेको जानकारी दिए । “प्राविधिक, ठेकेदार, कामदार र प्रशासन यन्त्र जोखिम अवस्थामा चौबीसै घन्टा काममा संलग्न छौँ”, इन्जिनियर ज्ञवालीले भने । आयोजना निर्माणका साथसाथै थुमन र टिमुरे गाविसका आयोजना प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनले औँल्याएका काम क्रमशः अगाडि बढाइसकिएको उनले बताए । थुमन एवम् टिमुरेका पुराना गुम्बा, रोंगा–थुमन सडक, टिमुरेमा डम्पिङ साइट निर्माण जस्ता विविध कार्य अगाडि बढाइसकिएको छ । स्याफ्रुबेंसीदेखि टिमुरे–थुमन–रसुवागढी क्षेत्रमा विद्युतीकरण गरी ती क्षेत्रमा चिलिमे आयोजना केन्द्रको बिजुली सुविधा पु¥याइएको प्रशासकीय अधिकृत सिद्धि न्यौपानेले जानकारी दिनुभयो । क्षमताअनुसार स्थानीय बासिन्दालाई नै अधिकतम रोजगारी उपलब्ध गराइएको उनले बताए । यस्तै उत्तरी क्षेत्रकै चिलिमे गाविसको आधार इलाका बनाइ साङ्जेन जलविद्युत् कम्पनीले दुई भाग गरेर ५७ दशमलव तीन मेगावाट विद्युत् उत्पादन गर्न निर्माणलाई तीव्रता दिएको छ । सालासुंगी हिमालबाट आएको साङ्जेन खोलाको पानीलाई सदुपयोग गर्दै तिलुचे बगरमा बाँधबाँधी एक हजार ४०० मिटर लामो भूमिगत सुरुङ र ४८० मिटर पेनस्टकको सहायताले सिम्बु गाउँमा जडान हुने तीनवटा टर्बाइनमा प्रतिसेकेन्ड ११ घनमीटर पानी पठाई १४ दशमलव ८ मेगावाट क्षमताको सान्जेन(माथिल्लो)आयोजनाको काम भइरहेको छ । सोही विद्युुत्गृहबाट निस्केको पानी (क्यास्केड) एवम् सिम्बुको ठाडो खोलामा रहेको पानीलाई मिसाइ तीन हजार ६०० मिटर लामो सुरुङ एवम् एक हजार १२० मिटरको पेनस्टकको सहायताले प्रतिसेकेण्ड ११.५ घनमिटर पानी पठाइ तीनवटा पेलटन नामको टर्बाइनबाट ४२ दशमलव पाँच मेगावाट विद्युत् चिलिमे गाउँ नजिकको टारमा उत्पादन हुनेछ । यसको लागत रु पाँच अर्ब दुई करोड हुने सहआयोजना प्रमुख गुरुदास अमात्यले जानकारी दिनुभयो । तीन हजार २८५ मिटरको उचाइमा रहेको मुहान क्षेत्र तिलुचेदेखि थाम्बुचेतदेखि ११ किलोमिटर सडक निर्माण र सिम्बु क्षेत्रको सुरुङ ९०० मिटर खोलिसकिएको बताइएको छ । “रसुवाको राम्चे र मूलखर्कको पहिरोले गर्दा सडकबाट सामान ढुवानी गर्न निकै गाह्रो हुन्छ, पहिरो क्षेत्रमा सडक पुनःनिर्माण छिट्टै गरिनुपर्छ”, अमात्यले भने । आयोजनाले स्थानीय प्रभावित क्षेत्रमा बिरुवा उत्पादन र वितरण, अधिकरणमा परेका जग्गाको मुआब्जा वितरण, विस्थापित १८ घर परिवारको पुनर्वासका लागि आवास निर्माण, वन वातावरण संरक्षण तालिम, निःशुल्क स्वास्थ्य शिविर, बेकरी तालिम, ट्याङ्की धारा मर्मत र निर्माण, पैदल मार्ग निर्माण र मर्मत, स्थानीयवासीलाई रोजगारीका अवसर समेतका कार्य पूरा गरिसकेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए । यस्तै विद्युत् आयोजनाको कार्य अगाडि बढेपछि सिम्बु, टेतांचे र चिलिमे क्षेत्रको आर्थिक जनजीवन र शैक्षिक जागरणमा निकै परिवर्तन आएको बताइएको छ । भूमिगत संरचनाबाट देशकै नमुनाका रूपमा स्वदेशी पुँजी र प्राविधिकबाट चिलिमे जलविद्युत् कम्पनी निर्माण गरी विसं २०६० साल भदौ ८ गतेदेखि विद्युत् उत्पादन गर्न सफल भएको हो । रसुवागढी एवम् सान्जेन आयोजना सम्पन्न हुनासाथ अन्य क्षेत्रमा विद्युत् उत्पादन गर्न अध्ययन भइरहेको चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । चिलिमे जलविद्युत् कम्पनीका संस्थापक डा डम्बरबहादुर नेपालीको नेतृत्वमा प्राविधिक, अर्थ व्यवस्थापन र प्रशासनतर्फका कर्मचारीहरूको साुमहिक प्रयासले यी आयोजना सञ्चालन गराउन सकिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । विद्युतभार कटौती अढाइ घन्टा घट्ने रसुवा जिल्लामा चिलिमे कम्पनीको जागरणबाट नेपाल विद्युत् प्राधिकरणको लगानीमा ६० मेगावाट माथिल्लो त्रिशूली थ्रि ए निर्माणको अन्तिम चरणमा पुग्न लागेको बताइएको छ । चिलिमे जलविद्युत् कम्पनीका संस्थापक डा नेपालीकै नेतृत्वमा मैलुङ खोलाबाट पाँच मेगावाटको विद्युत् आयोजना सञ्चालनमा आइसकेको, कोरियाली कम्पनी के वाटर र वृन्दावन प्रधानको नेपाली कम्पनी अपर त्रिशूली वान २१६ मेगावाट हाकु गाविसमा निर्माणको प्रक्रिया अगाडि बढिसकेको बताइएको छ । माथिल्ला तीन आयोजनाको कुल उत्पादन योगदान नेपालमा करिब २१ प्रतिशत र आजको एक हजार ३०० मेगावाट मागअनुसार दैनिक अढाइ घन्टा विद्युत्भार कटौती (२२प्रतिशत) घट्ने अनुमान गरिएको छ । रासस –