महिलाको वैदेशिक रोजगार बाध्यता

1384 पटक पढिएको

सम्पादक: Dhading News

— गिरिराज अधिकारी

स्थानीय तहमा रोजगारी सिर्जना हुन नसकेपछि सुनसरी जिल्लाका महिलाहरू वैदेशिक रोजगारतर्फ आकर्षित हुन थालेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जाने महिला कामदारको आठौ ठूलो उत्पत्तिको जिल्ला सुनसरी हो । सुनसरीस्थित पौरखी नेपालकी अध्यक्ष चेतना श्रेङ्काअनुसार सुनसरी जिल्लाबाट गत बर्ष करीब पाँच हजार महिला कामको खोजीमा खाडी पुगेका छन् । ‘बेरोजगारकै कारणले महिलाहरू बैदेशिक रोजगारमा जान बाध्य भएका हुन्’ श्रेङ्ले थपिन– ‘केही पैसावालाहरू अमेरिका, जापान, बेलायत र जर्मन जान्छन्, विपन्न तथा सुकुमबासी बस्तीका महिलाहरू दलालको फन्दामा फसेर भारत हुँदै खाडी पुग्छन् ।’

त्यसो त, वैदेशिक रोजगारमा जानु गलत काम होइन । सुनसरीस्थित तत्कालीन हाँसपोसा गाविसकी तीर्थकुमारी बनको भनाई छ, ‘वैदेशिक रोजगार मानव अधिकारको कुरा हो । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सके स्थानीय तहमा देखिएको बेरोजगारीको समस्या केही हदसम्म समाधान हुने थियो ।’

‘वैदेशिक रोजगार जोखिमले भरिएको अवसर पनि हो ।’ हासपोसाकै दिलु बस्नेत भन्छिन् ‘महिलाहरू वैदेशिक रोजगारमा जानु सकारात्मक पक्ष भए पनि उनीहरूको रोजगार यात्रालाई सुरक्षित बनाउन आवश्यक छ ।’ उनको कथन छ ‘महिलाहरू बैदेशिक रोजगारमा जान्छन्, तर पैसा लिएर आउँछन् कि ज्यान नै गुमाउँछन्, त्यो भने अनिश्चित छ ।’

‘यही चुनौतिका लागि स्थानीय निकायका कार्यक्रम महिलामैत्री र रोजगारमूखि हुनु पर्छ ।’ तीर्थकुमारी वन थप विचार राख्दै अगाडि भन्छिन् ‘स्थानीय निकायमा महिलाका लागि छुट्याइएको १० प्रतिशतबाट महिलाको बैदेशिक रोजगारलाई सुरक्षित बनाउने कार्यक्रम बनाउन आवश्यक छ ।’
तर स्थानीय बिना चौधरी भने विदेश जानु भन्दा स्थानीय तहमा नै रोजगारी सिर्जना गर्नु उपयुक्त हुने बिचार राख्छिन् । ‘स्थानीय निकायमा आउने महिलाको १० प्रतिशत रकमले रोजगारी सिर्जना हुँदैन । यो बालुवामा पानी हाले जस्तो मात्र हुन्छ । जवसम्म राज्यले उद्योग खोलेर स्थानीय तहमा रोजगारी दिदैन, तबसम्म नेपालका महिलाहरू बेरोजगार नै हुन्छन् र बैदेशिक रोजगारका क्रममा खाडीमा गएर घरेलु काम गर्न बाध्य हुन्छन् ।’

उता सुनसरी जिल्ला विकास समितिका कार्यक्रम अधिकृत अरूण मेहत्ता भने स्थानीय निकायले महिलाका लागि रोजगार सिर्जना गर्न विभिन्न सीपमूलक तालिम दिइरहेको बताउँछन् । धेरैजसो स्थानमा मूडा बनाउने देखि लिएर सिलाइकटाइ, झल्ला बनाउने, च्याउखेती, बाख्रा वितरणको कार्यक्रम सञ्चालन गरेको बताउँँदै महिलाहरू स्वरोजगार तर्फ लैजान स्थानीय निकाय सफल भएको मेहत्ताको दावी छ । उनले भने ‘वैदेशिक रोजगारमा जाने महिलाका लागि पनि प्रस्थान पूर्वको सचेतना कार्यक्रम दिन थालेका छौ । यसले महिलाको सुरक्षित वैदेशिक रोजगारलाई सहयोग गर्दछ ।’

सुनसरी जिल्लास्थित तत्कालीन हाँसपोसा गाविसका नायब सूव्वा सञ्जिव खड्का पनि महिलाको स्वरोजगारका लागि स्थानीय निकायले प्रयत्न गरेको बताउँछन् –‘हाँसपोसा गाविसमा हुँदा गत बर्ष हामीले ढाका सिलाइको तालिम गरेका थियौ । सिलाई कटाइ जस्ता सिपमूलक कार्यक्रम सञ्चालन भएको र वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि सशक्तिकरणमा जोड दिएका थियौ ।’ उनले यसै प्रसंगमा थपे –‘महिलाहरू विदेशमा जानु भन्दा स्वदेशमा नै बसेर स्वरोजगार हुनु सकारात्मक कुरा हो तर महिलाहरू तालिम लिइसकेपछि पनि घरमा मात्र सीमित हुने गरेका छन् । त्यसैले महिलाहरू आफै पनि अगाडि बढेर आफू आत्मनिर्भर हुनका लागि लिएको सीप र ज्ञानलाई उपयोग गरे मात्र लक्षित वर्गमा जाने रकम सदुपयोग भएको मानिन्छ ।’

स्थानीय निकायले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी बन्न नसकेको पौरखी नेपालकी सुनसरी अध्यक्ष श्रेङ्को आरोप छ । उनले मीरेष्ट नेपाल समायोजन लेखमालासँग कुराकानी गर्दै भनिन् ‘स्थानीय निकाय होस वा विभिन्न गैरसरकारी संस्थाले दिने सीपमूलक तालिम प्रभावकारी छैन । तालिम लियो, प्रमाणपत्र खोपीमा राख्ने काम मात्र भएको छ ।’ तालिमको उपादेयताबारे उनले अगाडि थपिन्– ‘सीपमूलक तालिमले उनीहरूको जीवनमा परिबर्तन ल्याउन सक्नुपर्दछ । जसले गर्दा स्वदेशमा बसे स्वरोजगार हुन्छ, बैदेशिक रोजगारमा नै गए पनि लाभदायी र सुरक्षित हुन्छ ।’

त्यसो त बैदेशिक रोजगार केबल बेरोजगारी समस्याका कारणले मात्र लोकप्रिय भएको भने होइन । ‘यो बिश्वव्यापीकरणको प्रतिफल पनि हो ।’ वैदेशिक रोजगार बिज्ञ डा. पदम खतिवडाले भने ‘अरूको देखासिखी गरेर पनि कति जना वैदशिक रोजगारमा जान खोज्छन् तर पनि महिलाको वैदेशिक रोजगार भने बाध्यताको हो । घरेलु हिंसा, सामाजिक अपराधका कारण पनि वैदेशिक रोजगार रोजिने गरिएको छ ।’

नेपाल सरकारले वैदेशिक रोजगारका लागि ११० मुलुक खुला गरेको छ । वैदेशिक रोजगारमा जाँदा सूचना तथा जानकारी लिएर र अभिमूखिकरण तालिम लिएर जानुपर्ने कानुनी व्यवस्था छ । बैदेशिक रोजगार ऐन, २०६४ अनुसार बैदेशिक रोजगारमा जाँदा सरकारको स्वीकृति लिएर मात्र जानुपर्ने व्यबस्था छ ।

नेपालबाट बैदेशिक रोजगारका लागि हरेक दिन कम्तीमा १५ सय जना जाने गरेको तथ्यांक छ । यसरी बैदेशिक रोजगारमा जानेहरू मूलतः ग्रामिण भेगका हुने गरेका छन् । सूचना तथा जानकारी नलिएका कारण उनीहरू बिभिन्न चरणमा ठगीमा पर्ने तथा बिदेशमा अलपत्र पर्ने गरिएको पनि पाइएको छ । विदेश जाने कामदारको तथ्यांकअनुसार सबै भन्दा धेरै कामदार धनुषाका छन् । धेरै कामदार जाने जिल्लामा दोश्रोमा महोत्तरी देखिएको छ भने त्यस पछि क्रमशः झापा, मोरङ, सिरहा, नवलपरासी, सप्तरी पर्दछ । संख्याका आधारमा कामदार पठाउने जिल्लामा सुनसरी आँठौमा पर्दछ । उच्च नवौ र दशौमा क्रमशः सर्लाही र रूपन्देही पर्दछन् ।

वैदेशिक रोजगार विभागले प्रकाशित गरेको तथ्यांकअनुसार वैदेशिक रोजगारमा जाने महिलाहरूमा सबैभन्दा धेरै सिन्धुपाल्चोकका गएका छन् । झापा र मोरङ दोश्रो र तेश्रोमा महिलालाई वैदेशिक रोजगारमा पठाउने जिल्लामा पर्दछ भने मकावानपूर, काभ्रे, काठमाडौ महिला कामदारको उत्पत्ति हुने चौथो, पाँचौ र छौठौ जिल्लामा पर्छ । महिला कामदार पठाउने जिल्लामा नुवाकोट सातौ, सुनसरी आँठौ, इलाम नवौ र दोलखा दशौ जिल्लामा पर्छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन स्थानीय निकायले पनि कार्यक्रम तथा योजना बनाएर लागू गर्न थालेका छन् । श्रम तथा रोजगार मन्त्रालयसँगको समन्वयमा यो अभियान थालिएको उनले बताए । ‘वैदेशिक रोजगार घर घरको कथा बनेको छ, अब स्थानीय निकायहरू यसमा लाग्नै पर्छ ।’ प्रबक्ता भट्टराईले भने ।
—साभारः मीरेष्ट नेपाल समायोजन लेखमाला