बच्चा र आमा दुबैले लगाउंदैनन कुनै खोप
699 पटक पढिएको
केशव अधिकारी
(ब्रुसबाङ)धादिङ,जेठ ३१ ( धादिङन्युज )/ जुनमाया चेपाङको उमेर भर्खर २० वर्ष लाग्दैछ , सोह्र बर्षको उमेरमा बिहे गरेकी जुनमायाको दुई सन्तानको जन्म भईसकेको छ । दुवै सन्तान उनले घरमै जन्माएकी हुन । जुनमायाका अढाई बर्ष र ३ महिनाको छोरा दुवैले अहिले सम्म कुनै खोप लगाएका छैनन । त्यसोत जुनमायाले पनि गर्भवती हुंदा नत स्वास्थ्य परिक्षणनै गराइन न त कुनै खोप र औषधीको प्रयोग गरिन । आंफुले पनि अहिले सम्म कुनै खोप नलगाएको र दुईभाई छोरालाई पनि खोप नलगाएको उनि बताउंछिन ।
विरामी भएर थला पर्दा उपचारका लागि गाउंवाट स्वास्थ्य चौकी पुग्न दिनभरीको वाटो हिंडनुपर्ने भएपछि दक्षिणी धादिङको विकटका चेपाङहरु विरामी हुंदा औषधि उपचार होइन झांक्रीको झारफुकमा बिश्वास गर्न वाध्य छन ।
महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ धादिङ जिल्लाको दक्षिणी भेगको सबैभन्दा विकटमा रहेको बस्ति हो । ब्रुसबाङवाट नजिकै रहेको स्वास्थ्य संस्था महादेवस्थान उपस्वास्थ्य चौकी ताल्ति आईपुग्न लगातार पांच घण्टा ओरालो हिंडनु पर्दछ । विरामी लिएर जाने हो भने आठ घण्टामा पनि पुगिंदैन, घर फर्केर आउन नभ्याउंदा वाटोमै बास बस्नुपर्छ ब्रुसबाङका पूर्णवहादुर चेपाङले वताए ।
ब्रुसबाङका अधिकांश गर्भवतीले कुनै खोप नलगाएका मात्रै होइनन, गर्भवती हुंदा सामान्य स्वास्थ्य जांच पनि नगराउने ब्रुसबाङका चेपाङ महिलाहरु बताउंछन । चेतनाको अभाव र विकटको बस्ति भएका कारण यहांका अधिकांश चेपाङ किशोरीहरुको बिहे १५ बर्ष नपुग्दै हुने गरेको छ । सानै उमेरमा बिहे हुनुलाई आफ्नो परम्परा ठान्ने ब्रुसबाङका चेपाङहरुले गर्भनिरोधक अस्थायी वा स्थायी कुनै साधन प्रयोग गर्न आवश्यक ठान्दैनन । गाउंमा तीन देखि सात जना सम्म सन्तान घर घरमा भेटिने भएपनि गर्भ निरोधका लागि अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या भने गाउंभरीमै भेंिटदैनन । २६ घर परिवारका कसैले पनि विरामी हुंदा होस या अरु वेलामा पनि स्वास्थ्य संस्था जानु आवश्यक ठान्दैनन ।
सन्तान जन्मनु संसारको नियम भएको एक चेपाङ अभिभावकले वताए । ‘भगवानले जति दिन्छन त्यति हात थाप्नुपर्दछ आफ्नो भए अडिन्छ नभए गाडिन्छ ’ ३४ बर्षिया फुलमाया चेपाङले वताईन । चार छोरी र एक छोराकी आमा फुलमाया सवै सन्तान घरमै जन्माएको बताउंछिन । फुलमायाकी छिमेकी दिलमाया चेपाङको उमेर ३५ बर्ष पुगेको छ उनको पनि छ छोरी र एक छोरा छन । दिलमायाका पति रामलाल ४० बर्षका भए । ब्रुसबाङमा बर्षको ९ महिना खानेकुराको अभाव हुने गरेको भएपनि जनसंख्या भने बर्षेनी बढ्दै गएको छ । सात सन्तान जन्माउंदा शरिर रोगी भएपनि हरेक दिन गाउं देखि तीन घण्टा तल रहेको चोतेसको कुवावाट डोकोमा पानी वोक्दा ज्यानमा निकै पिडा हुने गरेपनि केही उपाय नभएकोले दुःख लुकाउनु परेको दिलमायाले दुःखेसो गरिन ।
खानेकुराको अभावले गर्दा गाउंका सबै जसो वालवालिका कुपोषित छन । स्वास्थ्य चौकीवाट गाउंमा पुगेर स्वास्थ्य सेवा दिनका लागि जनशक्तिको अभाव हुने गरेको महादेवस्थान उप स्वास्थ्य चौकीका प्रमुख अहेव ऋषेश्वर शर्मा वताउंछन । बालवालिका तथा गर्भवतीलाई नियमित खोप लगाउन समुदायसंग पटक पटक आग्रह गरेपनि चेतनाको अभाव, आर्थिक विपन्नता र खाद्यान्न संकट जस्ता कारणले ब्रुसबाङका चेपाङ महिलाहरु स्वास्थ्य सेवा लिन आउन नसकेको शर्माको ठम्याई छ ।
नजिकै कुनै बस्ति नहुनु,गाउंमा खानेपानी र खाद्यान्नको संकट जस्ता कारणले नयां मान्छे ब्रुसबाङ गाउंमा पुगेर वास बस्न कठिनाई हुने गरेको छ । विरामी हुंदा अस्पताल जान मन भएपनि औषधि र खानेकुरा किनेर खाने पैसा साथमा नहुंदा विरामी पर्दा झांक्रीलाई देखाएर चित्त बुझाउनु परेको पुर्वजनप्रतिनिधी सिद्धीवहादुर चेपाङले वताए ।