धादिङबेसीमा बहुला कुकुरको आतंक,एकै दिनमा सात जना घाइते
840 पटक पढिएको
धादिङ,३ असार(धादिङन्युज)। वजारमा रहेका सयौं भुस्याहा कुकुर समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकामवासीको लागि अहिले समस्या बन्न थालेको छ । बहुलाको भुस्याहा कुकुरले सर्वसाधारणलाई टोक्ने क्रम बढेपछि रेबिज संक्रमणको आशंकामा सदरमुकाम धादिङबेसी र आसपासका बासिन्दा त्रसित भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसीसंग सिमाना जोडिएको साङकोष गाविसको वडा नम्बर ३ बाट केही दिन अघि शुरु भएको बहुला कुकुरको आतंक आईतवार धादिङबेसीमा आईपुगेको हो । आईतवार दिनभरीमा सदरमुकामका सात जनालाई बहुलाकुुकुरले टोकेर घाइते बनाएको छ । घाइते भएकाहरुमा सबै वालवालिका रहेका छन । धादिङ उद्योग वाणिज्य संघका सदस्य राजकुमार श्रेष्ठका अनुसार आईतबार ५ बर्षिय फिलिप तामाङ,९ बर्षिय प्रमोद श्रेष्ठ, अर्जुन तामाङ र निराजन तामाङ,११ बर्षिय राजु चापागाँइ,१० बर्षिय रितेश तामाङ र ६ बर्षिय बिबेक गुरुङ रहेका छन ।
बहुलाएको आशंका गरिएका ती कुकुरले एक्कासी मानिस र पशुलाई टोक्ने गरेको छ । सदरमुकाम जस्तो व्यस्त वजारमा कुकुरले टोकेर मानिस घाइते हुनेक्रम बढेपछि सदरमुकामवासीले डरले भयभित भएका छन । जिल्ला अस्पताल धादिङका अनुसार जेठ महिनामा मात्र ५८ जनाले अस्पतालवाट रेबिज रोग बिरुद्धको खोप लगाएका छन । विरामीको संख्या बढ्दै जांदा अस्पतालमा एण्टि रेविज भ्याक्सिनको समेत अभाव भएको अस्पतालका चिकित्सकहरुले वताएका छन । सदरमुकाममा बहुला कुकुरको आतंक बढेपछि वजारवासीले आईतवार स्थानीय प्रशासन र जिल्ला पशु सेवा कार्यालयको ध्यानाकर्षण गराउंदै सदरमुकाममा रहेका सयौं भुस्याहा कुकुर मार्न या व्यवस्थापन गरिदिन आग्रह गरेको उद्योग बाणिज्य संघ धादिङका सल्लाहकार गोविन्दकुमार श्रेष्ठले वताए ।