चर्चबाट एचआइभी एड्सविरुद्ध सचेतना

766 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images  hiv
धादिङ, ३ असार । एचआइभी एड्सको कुरा गर्दा मुन्टो लुुकाएर हिँड्ने महिलाले अहिले यसका बारेमा अरुलाई बच्नका लागि सल्लाह दिन थालेका छन् ।
उत्तरी धादिङको झर्लाङ गाविसमा रहेको लाक्चो चर्चकी सपना तामाङले चर्चको वचन भन्ने बेलामा एचआइभी एड्सविरुद्ध वचन व्यक्त गर्न थालेकी छन् । सधैँभरि जिसस क्राइस्टको चर्च गर्ने र प्रभु यशु ख्रिस्टको मात्र कुरा गरेर चर्चमा गरिने नियमित काममा अहिले यसका अलावा एचआइभी एड्सविरुद्ध सचेतनामूलक वचन भन्न सुरु गरिएको छ ।
एचआइभीले गर्दा धेरै मानिसको ज्यान लिएको र एक पटक एचआइभीको सङ्क्रमणपछि निको नहुने भएकाले यसबाट बच्नका लागि सुरक्षित यौन व्यवहार गर्न न्याक्सा चर्चबाट सुर्की तामाङले चर्चमा जम्मा भएकाहरुलाई वचन दिन सुरु गर्नुभएको छ । एमचेत चर्चकी सुष्मा तामाङ पनि एचआइभी एड्सविरुद्ध वचन दिनु भनेको प्रभु यशु ख्रिस्टको वचन जस्तै पवित्र भएकाले मानिस बचाउनका लागि एचआइभी एड्सविरुद्ध वचन दिन सुरु गरिएको बताउनुभयो ।
उनीहरुमात्र होइन धादिङ इसाइ समाजका अध्यक्ष सलमोन तामाङ पनि चर्चमा मात्र होइन गाउँमा रहेका जोखिममा परेका समुदायलाई एचआइभी एड्सले गर्दा धेरैलाई समस्यामा पारेको भन्दै यसबाट बच्न र अरुलाई पनि बचाउन सल्लाह दिन थाल्नुभएको छ ।
ती चर्चमा मात्र होइन उत्तरी धादिङको रि गाविसका पाँच, झर्लाङ गाविसका छ र लापा गाविसका तीन चर्चमा अहिले एचआइभी एड्सविरुद्ध सचेतना जगाउन सुरु गरिएको हिम्स नेपाल नामक गैरसरकारी संस्थाका अध्यक्ष यमबहादुर तामाङले बताउनुभयो ।
जिविसको सहयोगमा हिम्स नेपाल नामक गैरसरकारी संस्थाले रि, झर्लाङ र लापा गाविसमा एक सय ५२ लाई एचआइभी एड्ससम्बन्धी तालिम सञ्चालन गरी कार्ययोजनासमेत बनाएपछि उत्तरका चर्चमा अहिले धर्मसँगै सचेतना जगाउन थालिएको हो । उत्तरी धादिङ क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायका मानिस गाउँमा आम्दानी गर्ने उपाय नभएपछि विदेश जाने भएकाले यस क्षेत्रलाई उच्च जोखिमका क्षेत्रका रूपमा लिएर हिम्स नेपाल नामक गैरसरकारी संस्थाले एचआइभीविरुद्धको सचेतना अभियान सञ्चालन गर्दैआएको राष्ट्रिय समाचार समितीले जनाएको छ     ।