व्यापारिक केन्द्र आरुघाटमा प्रहरी राखिने

668 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,७ असार (धादिङन्युज)।  धादिङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र आरुघाट वजारमा शान्ति सुरक्षाको अवस्था विग्रन नदिन तत्काल  अस्थायी प्रहरी पोष्ट स्थापना गरिने भएको छ ।
आरुघाटवजारवासिले लामो समय देखि प्रहरी पोष्टको माग गर्दै आएकोमा विहीवार आरुघाटवजार पुगेको जिल्लाको स्थानीय प्रशासनको एक टोलीले वजारवासीको माग सम्वोधन गर्दै प्रकृया पुरा गरि प्रहरी पोष्ट स्थापना गरिदिने वताएको हो ।
धादिङ र गोरखा जिल्लाको उत्तरी भेगका २२ भन्दा बढि गाविसको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको आरुघाटवजारको धादिङ जिल्ला तिर पर्ने वजारमा अस्थायी प्रहरी  चौकीको माग हुंदै आएको थियो । जिल्ला विकास समिति धादिङले विहीवार आरुघाट वजारमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्वोधन गर्दै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समितिका सदस्य सचिव पुष्पराज पौडेल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रेशम पराजुलीले समुदायको मागको आधारमा अस्थायी पोष्ट स्थापना गर्न पहल अघि बढाउने वताउनु भएको हो ।
जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयवाट प्रवाह भएका सेवा सुविधाको प्रभावकारिता,उपलव्धि र समुदायको चासो एवम सहभागिता अभिबृद्धि गराउने उद्धेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा समुदायले गाउंमा संचालित योजनाहरु हिउंदहरु बनाउने र बर्षायाममा वाढी पहिरोले नष्ट गराउने हुंदा लगानी खेर जान नदिन योजना व्यवस्थित हुनुपर्ने वताएका थिए । यसैगरी जिल्लाको उत्तरी क्षेत्रका वस्तिहरुमा बर्षायामको ३ महिना सवारी नचल्दा सर्वसधारणको जनजिवन कष्टकर बन्ने गरेकाले ग्रामीण सडकको स्तरोन्नती गर्दै वाह्रै महिना मोटर चल्ने वनाउनु पर्ने माग गरेका थिए ।
सार्वजनिक सुनुवाईमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका साथै स्थानीय विकास अधिकारी रमेश न्यौपाने,प्रमुख जिल्ला इन्जिनियर निर्मलदर्शन आचार्य,विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुले सर्वसाधारणले राखेको गुनासोको जवाफ दिएका छन ।