लाइट नेपाल डटकमसँग स्पष्टीकरण
1314 पटक पढिएको
काठमाडौँ,३ फागुन । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लघंन हुनेगरी समाचार प्रसारण गरेको भन्दै ४८ घण्टाभित्र जवाफ पेश गर्न लाइट नेपाल डटकमसँग स्पष्टीकरण मागेको छ ।
लाइट नेपाल डटकमले प्रसारण गरेको सामग्रीबाट पत्रकार आचारसंहिता, २०७३ को दफा ५(१), (३), (१२) मा “ पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरुद्ध एवम् विभिन्न जातजाती, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिवीचको सुसम्वन्ध र सामाजिक सद्भाव खलल् पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन, हिंशा आतङ्क र अपराधलाई प्रश्रय हुने वा त्रास उत्पन्न हुने वा न्यायिक निकायमा बिचाराधीन मुद्धाको स्वच्छ, सुनुवाई प्रक्रिया वा निणर्यमा प्रतिकुल असर पर्नेगरी सम्प्रेषण गर्नुहुदैन । ” भन्ने व्यवस्था भएकोमा सोको विपरीत लाइट नेपाल डटकमले आचारसंहिताको उल्लघंन गरेको उल्लेख छ ।
काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ — “तहाँ अनलाइनबाट २०७३ माघ २९ गतेको अंकमा ‘संगठन बचाउन प्रहरीभित्र विद्रोहको संकेत, प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा’ शीर्षकमा प्रहरी संगठनभित्र एउटा समूहले भेला गरी आवश्यक परे विद्रोहमा जाने योजना बनाएको र प्रहरी अधिकारीको गोप्य बैठकले महानिरीक्षकको सचिवालय र निवासमा तालाबन्दीसम्म गर्न पछि नपर्ने निर्णय गरेको भनी समाचार प्रकाशन गरेको पाइयो । मुलुकको शान्ति सुव्यवस्था र सुरक्षामा महत्वपूर्ण भूमिका निभाउने नेपाल प्रहरीजस्तो संवेदनशील सुरक्षा निकायका विषयमा सम्प्रेषित यस्तो बनावटी र प्रायोजित समाचारबाट आम जनतामा भय र त्रास सिर्जना हुनुका साथै प्रहरीको आन्तरिक चेन अफ कमाण्ड र अनुशासनमा गम्भीर असर पारेको पाइयो । त्यस्तो सामाचार सामग्रीबाट पत्रकार आचारसंहिता २०७३ को दफा ५(१), (३) र (१२) उल्लंघन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा यस्ता समाचार सामग्री सम्प्रेषण नगर्नु÷नगराउनु हुन र उपरोक्त सम्बन्धमा ४८ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशानुसार जानकारी गराइन्छ । ”