हत्यापछि बलात्कार गर्नेलाई सर्वस्वसहित ३९ वर्ष कैदको फैसला
724 पटक पढिएको
धादिङ/एक छिमेकी महिला र उनको बालक छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि लासमाथि करणी गर्ने एक युवकलाई जिल्ला अदालतले ३९ वर्षको जेल सजाय र सर्वश्वहरण गर्ने फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश रमेशराज पोख्रेलको इजलासले हदैसम्मको कसुर गरेकाले अपराधको प्रकृति हेरेर फैसला गरेको बताउनुभयो।
तीन वर्षअघि ०६७ असोज ६ गते मध्य धादिङको ढोला गाविस–२ पोखरीपानीका बैरागी भन्ने सुवास थापा मगरले बन्चरोले हानेर सुतेको ठाउँमा हत्या गरी त्यही लासमाथि करणी गरेका थिए।
ढोला गाविस–२ पोखरी पानीका नीरमाया पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरेका थिए।
प्रहरीको अनुसन्धान र अभियुक्तको बयानपछि प्राप्त प्रमाणहरूको आधारमा जिल्ला न्यायाधीश पोख्रेलले प्रतिवादीको कसुरको मात्रालाई हेरेर फैसला गर्नुभएको हो।
दुई जनाको हत्या गरेकोमा सर्वश्वसहित जन्मकैद २० वर्ष, एक जना बालिकालाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएकाले थप ज्यान मार्ने उद्योगमा १२ वर्ष, करणी गरेकोमा ७ वर्ष कैद गरी ३९ वर्षको फैसला र २ लाख रुपियाँ पीडितका परिवारलाई क्षतिपूर्ति दिनका लागि प्रतिवादी थापा मगरका नाममा आदेश जारी गरिएको छ।
यसै गरी छत्रेदेउराली गाविस–५ की वृछा चनमत ितामाङलाई हत्या गरी बलात्कार गर्नेहरूलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश पोख्रेलको इजलासले प्रतिवादी निरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्वसहित जन्मकैद (२० वर्ष) जबरजस्ती करणी गरेकाले ७ वर्ष, चोरीसमेत गरेकाले १ महिना १५ दिन, जरिवानाबापतको ४ वर्ष कैद गरी ३१ वर्षको जेल सजाय सुनाइएको हो। सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा ३ वर्ष ६ महिना, जरिवानाबापतको ४ वर्ष कैद र चोरी गरेकाले १ महिना १५ दिनका लागि कैद गर्न फैसला सुनाएको छ। यो घटनामा पीडित परिवारलाई ५० हजार क्षतिपूर्ति दिनका लागि आदेश गरिएको छ। प्रतिवादीहरूले ०६७ भदौ ५ गते बेलुका घरमा सुतेको बेला घरभित्र छिरेर बलात्कार गर्न खोज्दा नसकेपछि घाँटी थिचेर हत्या गरी मरेको लासमाथि पनि बलात्कार गरेका थिए।
गत जेठ ५ गते जिल्लामा सरुवा भएर आएपछि पोख्रेलले जबरजस्ती करणीसँग सम्बन्धित १५ वटा मुद्दा फैसला गर्नुभएको छ भने यो अवधिमा १ सय ७२ वटा मुद्दा फैसला गर्नुभएको छ। पोख्रेल आउनुभन्दाअघि मुद्दा फैसलामा कमी आएकाले पेसी सर्दै आएको थियो। छोटो अवधिमा धेरै मुद्दा फैसला गर्नुलाई सबैतिरबाट स्वागत भएको छ।
(नेपाल समाचारपत्र,बाट)