सामुदायिक रेडियोमा काठमाडौंकै स्क्रिप्ट

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

विपुल पोखरेल 

दाङबाट काठमाडौं आउँदासम्म लाग्ने समय निश्चित भन्न सकिन्न । प्राइभेट कारबाट आउँदा ८ घण्टा जति लाग्छ । माइक्रोबसहरुले ९ घण्टा लगाउँछन् भने बसहरुले १० घण्टा । कृष्णभीरलगायत ठाउँहरुमा पहिरो आउँदाको अवस्था, नागढुङ्गा मुन्तिर ट्रकहरु बिग्रिएर ‘वान वे’ भएको अबस्था र कलंकीमा ट्राफिक प्रहरीले राम्ररी ड्युटी नगरिरहेको अवस्थामा यो घण्टाको अन्दाजले मेल खाँदैन । त्यसैले १५ घण्टाको छेटा राखेर काठमाडौंतर्फ हानिनुपर्ने बाध्यता छ हामी दङ्गालीको ।

नागढुङ्गा मुन्तिर सडकमै ट्रक रोकेर नुहाउँदा हुने जामप्रति आँखा चिम्लिने ट्राफिक प्रहरीले लाइसेन्सको म्याद जाँदा पनि किन नवीकरण नगराएको भनेर २ सय रुपिँया जरिमाना काटेको हामीलाई चित्त बुझ्दैन । नवीकरण हुन ढिलाइ हुँदा चालकको सिप स्थगित हुने होइन, तर नागढुङ्गा मुन्तिर ट्रक रोकेर नुहाइरहँदा हुने जामले कतिलाई कस्तो असर गरिरहेको हुन्छ ? बिरामी ल्याउनेदेखि तरकारी ल्याउने बाटो हो त्यो । तर त्यहाँ प्रहरीको चासो देखिँदैन । यस्तो ठाँउको संवेदना बुझ्न नसक्दा प्रहरीलाई ‘विवेकले हैन आदेशले चल्ने मेशिन’ भनेर कसैले आलोचना गर्‍यो भने प्रतिवाद गर्न कत्ति मन लाग्दैन ।

यसपालि माइक्रोमा काठमाडौं आँउदा ९ घण्टा लाग्यो । घोराही ट्राफिक चौकबाट बिहान पौने सातमा चढेको, सवा पाँचमा कलंकी ओर्लिएँ । साढे १० घण्टा गाडी चढियो । ड्राइभरको छेवैको सिटमा टिकट थियो । मभन्दा ४/६ बर्ष कम उमेरका थिए सायद ड्राइभर । छितोछरितो गर्न खोज्ने । उनीसंग फाटफुट सम्बाद भयो । एफएमको समाचारले पूर्वमा बन्द र पोखराबाट काठमाडौं जाने सवारी साधन कुनै खोलामा आएको बाढीले अबरुद्ध भएको समाचार फुकेपछि ती चालक खुशी भए र भने, ‘आज जाम नपरिने भयो ।’ म पनि हाँसिदिए । छिटो पुगिने भयो भनेर हाँसेको हुँ म । ट्रक रोकेर नुहाउन र सडकमै मिस्त्री ल्याएर गाडी बनाउन त कुनै बन्द र कुनै अबरोधले रोक्ने कुरा भएन । त्यसैले चालक खुशी हुँदा पनि डेढ घण्टा ढिला नै काठमाडौं खाल्डोमा छिरियो ।

यसपालिको यात्रामा एफएमका समाचार सुन्दै आइयो । अघिपछि तीजका गीत र हिन्दी गीत लगाए पनि प्रत्येक घण्टामा एफएम लगाएर समाचारहरु सुनियो । बुटवलदेखि पश्चिममा पहिलोपटक खुलेको (पूरा १२ वर्ष हुँदैछ यो पुसमा) रेडियो स्वर्गद्वारी एफएममा १२ वर्षदेखि नै आबद्ध छु । एफएमको माया लाग्छ । ड्राइभरले मलाई त्यो हिसाबले चिने कि चिनेनन्, थाहा छैन, तर पत्रकार भनेर चिन्दा रहेछन् । उनले समाचार आउने समयमा गीत रोकेर एफएम लगाइ हाल्थे । उनले सधै त्यसो गर्थे कि मलाई सुनाउन त्यसरी एफ एम लगाएका हुन् भन्ने मैले बुझिन । उनलाई सोध्न आबश्यक पनि ठानिन । त्यसरी सोध्दा अलिकति ‘मपाईँ’ हुन्छ कि भन्ने लागेर नसोधेको हुँ ।

लमहीबाट तीनथानासम्म एफएम सुनियो । पुरै बाटोभरि एफएम सुनिँदो रहेछ । एफएमको विकासप्रति खुशी लाग्यो । औँलामा गन्न सकिने वेलामा एफएम चलाएको मान्छेलाई यो विकासले खुशी तुल्याउनु स्वाभाविक हो । माइक्रोको प्यासेन्जरलाई पनि मनोरञ्जन दिलाउन एफएमका कार्यक्रमहरु सुन्ने अबसर त मिलेन, तर साढे १० घण्टाको यात्रामा फरकफरक एफएमहरुबाट सुनिएका सातवटा समाचार बुलेटिनपछि मनमा भने एकप्रकारको पिडाबोध भयो ।

त्यहाँ सुनिएका कुनै एफएममा म संलग्न छैन, कसैको उत्तरदायित्व बहन गर्न पर्दैन मैले । इतिहासको कुनै कालखण्डमा मैले ती सुनिएका एफएमहरुमा प्रशिक्षक अथवा कन्सलट्यान्ट भएर काम पनि गरेको छैन । त्यसैले कत्ति पनि उत्तरदायित्व बहन गर्न पर्दैन । समाचार सुन्ने ड्राइभरले पनि केही सूचना पाए र खुशी पनि भए । तर मलाई साँच्चिकै एउटा पिडाबोध भयो । लामो समय एफएममा काम गरेका नाताले, एफएमको एउटा अबिछिन्न अभियन्ता भएकाले र सामुदायिक रेडियोको भूमिकाका बारेमा हल्काफुल्का भए पनि जानकारी लिई मौका पर्दा प्रशिक्षक पनि हुने गरेकाले भएको त्यो पीडा आज मलाई ओकल्न मन लागेको हो ।
लमहीदेखि तीनथानासम्म सुनिने समाचारहरुको स्क्रिप्ट एउटै थियो । समाचारको प्राथमिकता पनि एउटै थियो । ७ वटा समाचार सुन्दा ३ वटा काठमाडौंबाट प्रशारण हुने ‘नेटवर्क’हरुका समाचार हुक गरिएको थियो । स्थानीय रेडियोहरुले आफ्नै प्रस्तोताबाट समाचार बाचन गराउँदा समेत काठमाडौंको स्क्रिप्ट वाचन गराएका थिए ।

लमहीदेखि तीनथानासम्म एउटै स्क्रिप्ट सुनाउने रेडियोहरुले बुलेटिन अगाडिको लोगो र प्रोमोहरुमा आफूलाई सामुदायिक रेडियो भन्न छुटाएको पाइएन । हुँदाहुँदा पोखराबाट काठमाडौं आउँदै गरेका गाडीहरु खोलाका कारणले अबरुद्ध हुन पुगे भन्ने समाचार मुग्लिङको छेउछाउ सुनिँदा समेत काठमाडौंमा बनेको स्क्रिप्टमै सुनियो, त्यो पनि पूर्व बन्द भन्ने अर्को समाचारको पुछारमा जोडेर । आफैलाई प्रश्न गर्न मनलाग्यो कहाँ गयो सामुदायिक रेडियोको मर्म ? समाचारमा स्थानीयकरण भनेको के हो ? श्रोताहरुलाई श्रोताहरुकै कुरा सुनाएर दोहोरो सञ्चारको भूमिका निर्बाह गर्ने दायित्व कहाँ गयो ? काठमाडौंका समाचार वाचन गर्न लगाएर स्थानीय पत्रकारहरुलाई किन समाचार बाचकको भूमिकामा सीमित गरिदैछ ? एफएमलाई मात्र होइन, पत्रकारहरुको सिर्जनशिलता र क्रियाशीलता किन यसरी मारिँदै छ ?

स्थानीय मानिसहरुका सफलताका कथा किन समाचार बन्दैनन् ? उनीहरुलाई कृषि तथा अन्य व्यवसायमा लाग्न प्रेरित गर्ने विषय किन प्रमुख समाचार बन्दैनन् एफएमका बुलेटिनमा ? काठमाडौंका कोठामा नेताहरुले गरेका दन्तबजान नै प्रमुख समाचार बनिरहने हो भने श्रोतालाई किन चाहियो स्थानीय रेडियो ? सयौं प्रश्नहरुले हानिरहे मलाई यात्रा अबधिभर । काठमाडौंमा बनेका रेडियोका नेटवर्कको भूमिका के र कस्तो हुने अथवा कसतो गराउने भन्ने बिषयमा बहस थाल्न पनि मन लाग्यो । रेडियोलाई शसक्त, व्यवसायीक र प्राबिधिक परामर्शदाता तथा सहजकर्ताका रुपमा चाहिएको हो नेटवर्कहरु । यो पवित्र उद्देश्य कहाँ गयो र त्यो नेटवर्कलाई रेडियो र रेडियोकर्मीको सिर्जनशीलता र क्रियाशिलताको घाँटी रेट्ने अस्त्र बनाउने काम भैरहेको छ ? बहस जरुरी भएको महशुस भएको छ मलाई ।

स्थानीय रेडियोलाई अनिवार्य रुपमा आफ्ना समाचार बजाउन दबाब दिने नेटवर्कको परिकल्पना गरिएको थिएन प्रारम्भमा । त्यो दबाब अस्वीकार गर्नेलाई असहयोगको नीति लिने स्वरुपको नेटवर्क आवश्यक पनि छैन । व्यवहारमा भने त्यही भैरहेजस्तो लाग्यो । अर्को तर्फ एफएमहरुले आफ्नो व्यवस्थापकीय क्षमता बढाउदै सिर्जनशील हुन पनि धेरै सोच्नुपर्ने लाग्यो । देशभर एउटै नेटवर्कका एउटै समाचार प्रशारण भैरहँदा सामुदायिक रेडियोको अवधारणा र आवश्यकता कमजोर हुँदै जाने सम्भावना पनि देखियो । कार्यक्रममा पैसा खर्चिने एफएमहरुले समाचारमा पनि केही लगानी गर्दै स्थानीय समाचारको खोजी गर्न आबश्यक देखिन्छ । यसले रेडियोकर्मीको सिर्जनशीलता पनि बढ्दै जान्छ । परनिर्भर भएर रेडियो चलाउने हो भने त्यसको अर्थ रहँदैन । समाचारमा स्थानीयकरण र स्थानीय समाचारको खोजी गर्नेतर्फ सोच्नैपर्ने आवश्यकता खट्किएको छ । सामुदायिक रेडियोको औचित्य स्थापित गरौं । स्थानीयकरणका आधारमा मात्र रेडियो स्थानीय हुन सक्छ ।

setopati.com