सिंचाइको पर्खाईमा जोगिमारा जयपुरीका स्थानीयबासी

891 पटक पढिएको

सम्पादक: Dhadingnews.com

जोगिमारा/धादिङको जिल्लाको रहेको जोगिमारा गाविसमा रहेको जयपुरी–जोगिमारा सिंचाई योजना सञ्चालन भएको १३ वर्ष वितिसक्दा पनि स्थानीयबासीले अहिलेसम्म सिंचाई सुविधा पाउन सकेका छैनन् । बर्षै पिच्छे आयोजना निर्माणको लागि विभिन्न संस्थाको सहयोगमा बजेट परिरहेको भएपनि काम पुरा हुन नसकेर निरास बनेका स्थानीयबासीले अहिले भने काम पुरा हुने आशा गरेका छन् ।

चितवन जिल्लाको काउले गाविस वडा नम्वर ४ र ५ को सीमामा रहेको हात्तिबाङखोलाबाट सिंचाईको लागि पानी ल्याउने तयारी भएको छ । खोलाको पानी हिउंद महिनामा सानो र बर्षा याममा ठुलो हुने भएकाले सिंचाई योजना अन्तर्गत मुख्यगरी बर्षाको समयलाई लक्ष्य गरिएको छ । हिंउदमा भने तरकारी खेतीको लागि सिंचाई गराउने योजना निर्माण समितिले लिएको छ ।

२०५४ सालमा एशियाली विकास बैंकले जलश्रोत मन्त्रालय, सिंचाई विभागको सहयोगमा आयोजनाको काम शुरु गरेको थियो । अहिलेसम्म आइपुग्दा आयोजनाका लगभग ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । जोगिमाराको जयपुरीसम्म मुख्य नहरको क्षेत्र सात किलोमिटर लामो रहेको छ । योजना सफल भएमा जोगिमाराको वडा नम्वर १, २, ३  र ४ को १ सय ७१ घरधुरीले सिंचाई सुविधा पाउने छन् । योजनाबाट सो क्षेत्रको १ सय २० हेक्टर जमिनमा सिंचाई हुने आयोजनाका अध्यक्ष दिनेश अधिकारीको भनाई छ ।

अहिले सम्म सिंचाई आयोजनाको लागि निर्माण व्यवसायी, उपभोक्ता समिति र स्थानीय समुदायको जनश्रमदान समेत गरी ३ करोड रुपैया खर्च भैसकेको आयोजनाले जनाएको छ । मुख्य रुपमा फलफुल खेती बढि हुने सो स्थानमा आयोजना सफल भएमा स्थानीयबासीले तरकारी तथा फलफुल खेतीबाट राम्रो आम्दानी लिने छन् ।