संसद बैठकः क-कस्ले के विषयमा बोले ?

116 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।  बिहीबार(आज)को बैठकमा बोल्दै सांसद ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा बैठक बिजनेसविहीन भएर चलिरहेको बताउनुभयो ।
उहाँले बैठकमा बिजनेस नहुनुका साथै कुनै सन्दर्भ समेत नभएको बताउनुभयो । उहाँले वन्यजन्तुले मानिसलाई दुःख दिइरहेको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रण र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिना बिजनेसको यो टाइपको सदन किन चलिराखेको छ रु यो के भयो म प्रश्न गर्न चाहन्छु । न बिजनेस छ । न कुनै सन्दर्भ छ । बिना बिजनेसको सदन छ । वन्यजन्तु नियन्त्रण गर्ने, त्यसलाई व्यवस्थित गर्ने विषयमा सदनको कुनै ध्यान गएको देखिएको छैन । यो अवस्था अन्त्य गर्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले नेपालमा धार्मिक तथा सांस्कृतिक सद्भाव भत्काउने कार्य भइरहेको बताउनुभयो। उहाँले नेपालमाथि विनाशकारी षड्यन्त्रको कालो बादल मडारिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा भड्काऊ अभिव्यक्ति दिएर जनता उचाल्नेको बिगबिगी भएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमाथि भयङ्कर विनाशकारी षड्यन्त्रको कालो बादल मडारिँदै छ । विभिन्न बहानामा हामी नेपालीहरूको धार्मिक, सांस्कृतिक सद्भाव, विश्वास भत्काउने कार्य हुँदैछ । हाम्रो देशको शान्ति र अमनचैन धम्क्याएर थर्थर काँप्दै छन् । अपराधिका तलवारहरू संविधान र कानुनको बुई चढेर जनताका घाँटी काट्दैछन् । भ्रष्टाचार, महँगी, कालाबजारी र दलालहरूको बखान गरेर साध्य छैन । सामाजिक सञ्जालमा भड्काऊ अभिव्यक्ति दिएर सोझा जनता उचाल्नेको बिगबिगी भएको छ । के हाम्रो देश अब हिंसा भड्काउने ? काटमार मच्चाउने, युवा बेच्ने, नेता बाँच्नुपर्ने देश बन्दै गएको हो ?’
प्रतिनिधि सभा सदस्य दुर्गा राईले पूर्व प्रधानमन्त्रीहरू प्रतिनिधि सभा बैठकमा बोल्दा समय निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले सदनको सार्वभौमिकता र गरिमामय बनाउन पनि पूर्व प्रधानमन्त्रीहरू बोल्दा समय निर्धारण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानको व्याख्या र सही प्रयोग हुन्छ भनेर नै होला सदनमा पूर्व प्रधानमन्त्रीज्यूहरूलाई आफ्नो भनाइ राख्दा समय निर्धारण नगर्ने अभ्यास हुँदै आइरहेको छ । तर सदनलाई सार्वभौम र गरिमामय बनाउने हो भने उहाँहरूले बोल्दापनि समय निर्धारण गर्न आवश्यक देखिन्छ । ध्यानाकर्षण होस् ।’
प्रतिनिधि सभा सदस्य नागिना यादवले मिटरब्याज सम्बन्धी अध्ययन गर्न गठित आयोगको कामको सरकारले नियमन नगरेको बताउनुभयो। उहाँले आयोगले गरिरहेको कामको नियमन गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले देशभरका अलपत्र सडकहरू चाडपर्वलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा मोडेल बनाएर एक हप्ताभित्र सबै सडकहरू तिनै तहको सरकारलाई परिचालन गरेर र स्रोतको व्यवस्थापन गरी आवश्यक पहल गर्न सभामुख मार्फत रुलिङ होस् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका निमित्त अविलम्ब सम्बन्धित निकायले पहल गरोस् ।’
प्रतिनिधि सभा सदस्य नारायणी शर्माले खुला विश्वविद्यालयको कानून संकायमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको परीक्षामा सामेल हुन नदिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो,  ‘खुला विश्वविद्यालय संसारका विकसित शिक्षण विधिका विविध आयामहरूलाई ध्यान दिँदै कमाउँदै, पढ्दै गर्ने विभिन्न पेशा व्यवसायमा रहेका व्यक्तिहरूका लागि उपयुक्त पद्धति हो । जस अन्तर्गत कतिपय हाम्रा माननीय सदस्यहरू पनि त्यहाँ उच्च शिक्षा अध्ययन गरिरहनु भएको छ । झन्डै ५०० विद्यार्थीहरू कानून संकायमा छन् तर ती विद्यार्थीहरूलाई २ वर्ष यता नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको परीक्षामा सामेल हुन दिइएको छैन । सरकारी विश्वविद्यालयको डिग्रीलाई मान्यता नदिने गरी अवैधानिक निर्णय गर्ने बार काउन्सिलका कारण विद्यार्थीहरू निराश मात्र भएका छैनन्, सरकारी विश्वविद्यालयलाई नै चुनौती दिने कार्य भएको छ । म सम्माननीय सभामुखमार्फत यस्तो कार्यको छानबिन गर्नुका साथै अब हुने अधिवक्ता परीक्षामा विद्यार्थीहरूलाई बिना सर्त सामेल गराउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिनिधि सभा सदस्य निशा डाँगीले लैंगिक पहिचानको आधारमा नागरिकता प्राप्त गर्न सकिने संवैधानिक प्रावधान भएपनि सो प्रावधान अनुसार नागरिकता वितरण हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाहले असोज १६ गते बझाङमा आएको भूकम्पले ठुलो क्षति पुगेको भन्दै भूकम्प प्रभावितको उद्धार, राहत र पुनः स्थापनामा जोड दिन सरकारसँग आग्रह गर्नुभयो। उहाँले घाइतेहरूको उपचार गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य प्रतीक्षा तिवारीले बजारमा कालोबजारी भइरहेको भन्दै अनुगमन र निरीक्षण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले खाद्यान्नको मूल्य आकासिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कालोबजारी गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।  नागरिकको सरकारप्रतिको भरोसा र लोकप्रियता बढ्न नसकेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य विन्ध्यवासिनी कंशाकारले नेपालमा जलन उपचार कोषको स्थापना गर्न माग गर्नुभयो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले डिडिसी र निजी डेरीहरूले किसानलाई दूधको पैसा भुक्तानी नगरेको भन्दै दसैँ अगाडी नै किसानहरूलाई दूधको पैसा भुक्तानी गर्न अनुरोध गर्नुभयो ।