धादिङको राजमार्गका होटलमा वाख्रीको मासु

575 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, असोज १० – पृथ्वी राजमार्गमा पर्ने धादिङका होटलहरुले खसीको भन्दै यात्रुलाई बाख्रीको मासु खुवाउने गरेको भेटिएको छ ।

गुणस्तरहीन खानेकुरा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनका क्रममा यस्तो रहस्य फेला परेको हो ।

गएको शनिवार बैरेनीको न्यू राजधानी होटलमा खाना खाँदा मासुको गुणस्तर कमजोर देखिएको भन्दै तनहुँका लक्ष्मण सोतीले टेलिफोन मार्फत सहायक प्रमुख जिल्ला अधिकारीलाई गुनासो गरेपछि अनुगमन गरिएको थियो । होटल अनुगमन गर्दा बाख्रीको मासु फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो ।

पृथ्वी राजमार्गको गल्छीदेखि नौविसेसम्मका ३० वटा भन्दा धेरै होटलले खसीको भन्दै बाख्रीको मासु खुवाएको पाइएको छ । होटलको सरसफाइ, मजदुर र सञ्चालकको ब्यबहारमा सुधार आएपनि गुणस्तर र मुल्यमा भने मनोमानी देखिएको निरीक्षण अधिकृत  समेत रहेका  पौडेलले बताउनुभयो ।

नौविसेको सुपा देउराली रेष्टुरेण्ट एण्ड भोजनालय र न्यू हरियाली होटल धार्केमा समेत खसीको भन्दै बाख्रीको मासु खुवाउने गरेको पाइएको छ ।  सुपा देउरालीका सञ्चालक किशोर रानाले आफुले होटलमा वाख्रीको मासु बेच्ने गरेको अनुगमन समिति समक्ष स्वीकार गर्नुभएको छ । खसीको मासु किन्नलाई महंगो पर्ने भएकाले प्रतिकिलो ३ सय ५० रुपैयाँका दरले वाख्रीको मासु किनेर होटलवालाहरुले खसीको भन्दै बेच्ने गरेका छन् ।

अनुगमन टोलीले नौविसे चालिसेका दमैसिङ तितुङको बधशाला र खोरमा काट्न ठिक्क पारिएका चारवटा बुढी वाख्रीहरु भेटेको थियो । तितुङलाई अनुगमन समितिले सात दिनको म्याद दिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र दिएको छ ।

त्यस्तै न्यू राजधानी होटलका सञ्चालक राजकुमार सुनुवार, न्यू हरियालीका सञ्चालक राजन भुजेल र सुपा देउरालीका किशोर रानालाई समेत जिल्ला प्रशासनमा हाजिर हुन पुर्जी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

अघिल्लो वर्ष पनि जिल्ला अनुगमन समितिले वेनिघाटको बाँदरेवाट राजु मियाँलाई बाख्री बध गरिरेहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।