सिस्नेखोला -नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारीमा
416 पटक पढिएको
काठमाडौंः काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारीमा सरकार रहेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा हाजमा कर्पोरेशन जापानले निर्माण गरेको यो सुरुङमार्गमा मुख्य र सहायक गरी दुईवटा मार्ग छन्। सुरुङ निर्माणका लागि करिब २२ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटदेखि नौविसेसम्मको यात्रालाई १० मिनेटमा छोट्याएर कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।
यो सुरुङमार्गमा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि सिसि क्यामेरा, जेट फ्यान, र आपतकालीन सञ्चारका लागि टेलिफोन लगायतका आधुनिक प्रविधि जडान गरिएका छन्।
निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङमार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङमार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो। सो आयोजना अन्तर्गत पूर्वी खण्ड (काठमाडौं तर्फ) २.५ किमी एप्रोच सडक निर्माण गरिएको छ भने बलम्बुमा निर्माण गरिएको ओभरपास अन्तिम चरणमा रहेको छ।
निर्माणको अन्तिम चरणमा रहेको काठमाडौंको नागढुङ्गा र धादिङको सिस्नेखोला सुरुङमार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रुपमा रहने छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ४ कात्तिक २०७६ मा शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङमार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २२ साउन २०८० मा सहायक सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ३ वैशाख २०८१ मा मुख्य सुरुङमार्गमा ‘ब्रेक थ्रु’ गरेका थिए ।
सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङमार्ग प्रयोगका लागि २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रोल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।
जसअनुसार कार/भ्यानहरूलाई काठमाडौं आउँदा रु. ६५ र काठमाडौंबाट फर्किँदा रु. ६० शुल्क लाग्ने छ । मिनी बस र मिनी ट्रकलाई काठमाडौं आउँदा रु. ११५ र काठमाडौंबाट जाँदा रु. ८० शुल्क लाग्ने छ । त्यस्तै बस र ट्रकले काठमाडौं आउँदा रु. २६० र काठमाडौंबाट जाँदा रु.२०० शुल्क तिर्नु पर्नेछ । भारी उपकरणले भने काठमाडौं आउँदा रु. ६०० र काठमाडौंबाट जाँदा रु. २५० शुल्क तिर्नु पर्नेछ । यस सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।
हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङमार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ ।
तस्बिरमा सुरुङमार्गः
















https://shorturl.fm/yy96A
https://shorturl.fm/48kSg