अष्ट्रेलियामा खसी काट्दा सावधानी नअपनाए सजायको डर
371 पटक पढिएको
मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीबीच दशैंको रौनक सुरु भएको छ। नेपालबाट आफन्त आउन, नेपाल जानेहरू फर्कन, र यहाँ बस्नेहरूले बिदा मिलाएर तयारी गर्न थालेका छन्। दशैंमा खसीको व्यापार उच्च हुने भएकाले नेपालीहरूले नै मासु पसल सञ्चालन गर्दै आएका छन् भने केही सुपरमार्केटमा पनि खसीको मासु उपलब्ध हुन्छ।
तर, धेरै नेपालीले ताजा मासुको चाहनामा फार्ममै गएर खसी काटाउने गरेका छन्। मासु व्यवसायीहरूका अनुसार यस्तो अभ्यास स्वास्थ्य र कानूनी दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ।
मेलबर्नको डर्मिटमा व्यवसाय गर्दै आएका दिपेन्द्र खड्काका अनुसार, अष्ट्रेलियामा पशु काट्न र मासु वितरण गर्न लाइसेन्स अनिवार्य हुन्छ। फार्ममा अनुमति बिना खसी काटेर घर ल्याउने काम गैरकानूनी ठहरिन्छ। स्वास्थ्य मापदण्डअनुसार काटिएको मासु −५ डिग्री तापक्रममा २४ घण्टा राखी प्रमाणित गरेर मात्र बजार पठाउन पाइन्छ।
भिक्टोरिया राज्यका फार्महरूमा खरिद हुने खसीमा नेशनल लाइभस्टक आइडेन्टिफिकेशन नम्बर अनिवार्य हुने व्यवस्था छ। प्राइमसेफ लाइसेन्स र काट्न पाउने अनुमति बिना फार्मले आफैंका लागि बाहेक अरूलाई मासु वितरण गर्न पाउँदैनन्।
दशैंको तयारीसँगै नेपाली समुदायले फार्ममार्फत खसी ल्याउँदा स्थानीय नियम र स्वास्थ्य मापदण्डको पालना नगरे सजाय र स्वास्थ्य जोखिम हुने चेतावनी दिइएको छ।








https://shorturl.fm/HlyK5