एमाओवादीले समानुपातिकमा १६ प्रतिशत मत ल्याउने संकेत

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

अघिल्लो संविधानसभा निर्वाचन र यसपल्टको अहिलेसम्म ट्रेन्ड हेर्ने हो भने एनेकपा माओवादीले समानुपातिकबाट करिब १६ प्रतिशत मत ल्याउने देखिएको छ।
पहिलो संविधानसभाको चुनावमा एमाओवादीले समानुपातिकतर्फ कुल ३१ लाख ४४ हजार २ सय ४ मत ल्याएको थियो। यो मत समानुपातिकतर्फ खसेको कुल मतको २९.८५ प्रतिशत थियो। अघिल्लोपटक एमाओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ ल्याएको मत लगभग बराबर थियो। प्रत्यक्षतर्फ एमाओवादीका सबै उम्मेदवारको मत जोड्दा ३१ लाख ४५ हजार ५ सय १९ हुन्छ अर्थात प्रत्यक्ष र समानुपातिकतर्फ करिब १ हजार मतको मात्र फरक छ।
गत चुनावमा एमाओवादीको मात्र होइन, नेपाली कांग्रेस र एमालेको पनि प्रत्यक्ष र समानुपातिकमा मतमा धेरै फरक थिएन। कांग्रेसले समानुपातिकतर्फ २२ लाख ६९ हजार ८ सय ८३ र प्रत्यक्षतर्फ २३ लाख ४८ हजार ८ सय ९० मत ल्याएको
थियो। एमालेले समानुपातिकतर्फ २१ लाख ८३ हजार ३ सय ७० र प्रत्यक्षतर्फ २२ लाख २९ हजार ६४ मत ल्याएको थियो। यसपालि भने मूल पार्टीहरुको समानुपातिकतर्फको केही मत राप्रपा नेपालले काट्ने अनुमान गरिँदै छ।
राप्रपा नेपालले एमाओवादीको भन्दा कांग्रेस र एमालेकै मत धेरै काट्ने सम्भावना छ। त्यसैले एमाओवादीको यसपालिको प्रत्यक्ष र समानुपातिकको मत अरु दलको भन्दा बढी नजिक हुनसक्छ।
सेतोपाटीले सबै उम्मेदवारहरुको कूल मत परिणाम आएका काठमाडौंका दस निर्वाचन क्षेत्र, कास्कीका चार, बर्दियाको एक, गुल्मीका दुई र बैतडीको एक गरी जम्मा १८ निर्वाचन क्षेत्रको मत परिणामको विश्लेषण गरेको छ। यी १८ निर्वाचन क्षेत्रमा खसेको मत मध्ये ६ लाख ९३ हजार ४ सय ७७ मत सदर भएका थिए। त्यसमध्ये एनेकपा माओवादीका १८ जना उम्मेदवारहरुले जम्मा १ लाख १३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्। यो कुल मतको करिब १६ प्रतिशत हो। यदि संविधानसभाको निर्वाचनमा जस्तै एमाओवादीको प्रत्यक्ष र समानुपातिकतर्फ बराबरी मत खस्यो भने यसपालि १६ प्रतिशत मत आउने सोझै अनुमान लगाउन सकिन्छ।
राप्रपा नेपाल र नयाँ जनजाति पार्टीले एमाओवादीको भोट काटे भने १६ प्रतिशतभन्दा पनि कम हुने सम्भावना छ। यदि एमाओवादीका मतदाताले प्रत्यक्षतर्फ अरु पार्टीलाई तर समानुपातिकतर्फ आफ्नै पार्टीलाई मत हालेका भए समानुपातिकतर्फको मत बढ्ने सम्भावना छ। १६ प्रतिशत मत ल्याउँदा संविधानसभामा एओवादीले करिव ५३ वटा सिट पाउने छ ।
मनाङ जिल्लामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत परिणाम आइसकेको छ। यसपालिको मत हेर्दा पनि समानुपातिक र प्रत्यक्षतर्फ पार्टीहरुले उस्तै मत ल्याएका छन्। कांग्रेसले मनाङमा प्रत्यक्षतर्फ १५२७ र समानुपातिकतर्फ १५९२ मत ल्याएको छ। दोस्रो स्थानमा आएको राप्रपाले प्रत्यक्षतर्फ ११९२ र समानुपातिकतर्फ १०३३ मत ल्याएको छ। तेस्रो स्थानमा आएको राप्रपा नेपालले प्रत्यक्षतर्फ ५ सय ६३ र समानुपातिकतर्फ २ सय ८८ मत ल्याएको छ।
तर, काठमाडौं तथा तराईका जिल्लाहरुमा राप्रपा नेपालले समानुपातिकतर्फको मत बढाउने अनुमान गरिएको छ।
यी तथ्यांकको विश्लेषणले देखाएजस्तै यदि एमाओवादीले समानुपातिकतर्फ १६ प्रतिशतमात्र मत ल्यायो भने उसको भागबाट करिब १४ प्रतिशत मत (अघिल्लोपटक एमाओवादीले ३० प्रतिशत मत ल्याएको थियो) कुन कुन पार्टीले खोसेर लैजालान्?
प्रत्यक्षतर्फ एमाले र कांग्रेसको सिट हाराहारी देखिँदा समानुपातिकतर्फ कसले एमाओवादीको भोट खोस्छ र राप्रपा नेपालले कसलाई धेरै घाटा पुर्याउँछ, त्यसले नै आगामी संविधानसभाको सबैभन्दा ठूलो पार्टी को बन्ने भन्ने निर्धारण गर्नेछ।
-सेतोपाटी