विदेशमा कमाएको पैसाले गाउँमा कम्प्युटर शिक्षा

504 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

धादिङ : रोजगारका लागि खाडी मुलुकमा पुगेका एक युवकले मेहनत गरेर कमाएको पैसाले गाउँको विद्यालयमा कम्प्युटर शिक्षा पुर्‍याउने अभियान सुरु गरेका छन्। ग्रामीण भेगमा कम्प्युटर शिक्षाका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान पुग्न नसकेपछि दुबई पुगेका धादिङ ज्यामरुङ गाविसका भुवन गुरुङले दुई वर्षअघि आफ्नै पहलमा गाउँको मञ्जुश्री माविमा कम्प्युटर दिएर अभियान सुरु गरेका हुन्।531945_10200519357779952_1056814929_n

पछिल्लो समयमा शिक्षा क्षेत्रमा आधुनिक प्रविधि भित्रिँदै गएपछि गाउँका विद्यालयमा कम्प्युटर शिक्षा पढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले गुरुङले दुई वर्षअघि पुसमा मञ्जुश्री माविमा कम्प्युटर र प्रोजेक्टर दिएर सुरु गरेको अभियानले अहिले व्यापकता पाएको छ। अभियान सुरु भएपछि ज्यामरुङ गाविसका तीन सय ५० जना विद्यार्थीले अहिले गाउँमै बसेर कम्प्युटर शिक्षा लिइरहेका छन्।

गाउँमा कम्प्युटर शिक्षा नाम दिइएको अभियानले अहिले ज्यामरुङका पाँचवटा विद्यालयमा कम्प्युटर शिक्षा कार्यक्रम विस्तार गर्न विदेशमा रहेका धादिङेबीच समन्वय गर्दै आर्थिक संकलन सुरु गरेको छ। धेरैले अभियानबाट प्रभावित भएर सहयोग गर्न चासो देखाएको अभियानका प्रमुख गुरुङले बताए।

अभियानले ज्यामरुङका साथै छिमेकी गाविस कटुञ्जे, चैनपुर र त्रिपुरेश्वरमा पनि कार्यक्रम सञ्चालन गरिरहेको गुरुङले बताए।

आधुनिक प्रविधि प्रयोगबिना शिक्षा प्रभावकारी नहुने भएकाले अभियान विस्तार गर्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको अभियानकर्ताको भनाइ छ। अभियानबाट प्रभावित भएर अमेरिकामा बस्दै आएका दिल श्रेष्ठले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको गुरुङले बताए।

गुरुङका अनुसार अभियानको आर्थिक तथा प्राविधिक पक्षको संयोजन ज्यामरुङकै बासिन्दा इन्जिनियर कुमार धमला र दीपक ढकालले गरिरहेका छन्। अभियानमा संलग्न सबैजसो प्रवासमा रहेका व्यक्ति छन्। अभियानलाई दिगो बनाउन स्थानीय, पूर्वविद्यार्थी र अन्तर्राष्ट्रिय गरी तीनजनालाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

अभियानको कोष १० लाखको बनाउने लक्ष्यका साथ प्रवासमा रहेका ज्यामरुङ र आसपासका गाविसका व्यक्तिबीच समन्वय भइरहेको र सहयोगका लागि प्रतिबद्धता आइरहेको गुरुङले बताए।

ग्रामीण भेगका बालबालिकालाई लक्षित गरी सुरु गरिएको अभियानबाट प्रभावित भई धादिङको कटुञ्जे गाविसमा रहेको महेन्द्रबाराही उच्चमाविका पूर्वविद्यार्थीले सहयोग गर्ने भएका छन्। भूतपूर्व विद्यार्थी समाजका तर्फबाट नवराज सापकोटाले तत्काल विद्यालयमा कम्प्युटर उपलब्ध गराइने बताए।