देवीको मूर्ति छुन र हेर्न नपाइने त्रिपुरासुन्दरी भगवती माई

308 पटक पढिएको

७ मंसिर २०८२, आईतवार ०८:०६ सम्पादक: धादिङ न्यूज

धादिङ – ‘देवी भगवती’ को मुर्ति सार्ने अनौठो परम्पराका कारण विशेष पहिचान रहेको नेपालको प्रसिद्ध शक्तिपीठ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको  त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला देवीलाई माइतीघर झारेपछि आज सम्पन्न हुंदैछ ।

शनिवार साँझदेखि रातभर पूजा–पाठ गरी आईतबार बिहान सल्यानकोटस्थित मन्दिरबाट सल्यानबेँसीमा रहेको आगिञ्चोक मन्दिरमा देवी अवतरण गराइएको हो।

प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पाउँछन् । सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी बेँसीमा रहेको मन्दिर माइतीघरमा न्वागी खान आउने पर्वको अवसरमा भव्य मेला लाग्दै आएको छ ।

मुख्य पुजारी रानामगर थरका व्यक्तिले त्रिपुरासुन्दरी भगवतीलाई खाली खुट्टा पिठ्युँमा बोकेर करिब तीन घण्टाको ओह्रालो तथा कठिन बाटो पार गर्दै बेँसीको मन्दिरसम्म पुर्‍याउने चलन रहेको छ । देवीको अवतरणका क्रममा बाटोभरि भक्तजनले पूजा–आराधना गर्दै स्वागत गर्ने गर्दछन् ।

एउटा बाकसभित्र भगवतीको देवीको प्रतीक मूर्ति रहेको मानिन्छ । तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन्, न फोटो नै हेर्न पाउँछन् । पूजारीले भने पूजाको दिनमा लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पुर्‍याउने गरेका छन् । त्रिपुरा भगवतीको मूर्ति कसैले छुन नपाए पनि सबै जातजातिका भक्तजनहरूले सहज रूपमा पूजाआजा गर्न पाउने व्यवस्था रहेको छ । यो जात्रामा मूर्ति मुख्य पुजारीबाहेक कसैले पनि हेर्न वा छुन नपाइने परम्परा रहेको छ।

न्वागी पर्वका अवसरमा सल्यानबेँसीस्थित मन्दिरलाई त्रिपुरासुन्दरीको माइतीघर मानिन्छ। देवी फागुन महिनासम्म यतै बस्ने र त्यसपछि साइत हेरेर पुनः सल्यानकोटस्थित मूल मन्दिरमा लैजाने प्रचलन छ।

त्रिपुरासुन्दरी भगवतीलाई वर्षभित्र तीन फरक मन्दिरमा स्थापना गरेर पूजाआजा गर्ने परम्परा छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सल्यानकोटको पूर्वतिर रहेको मन्दिरमा, वर्षको अधिकांश समय पश्चिम थुम्कास्थित मन्दिरमा र न्वागी पर्वका समयमा सल्यानबेँसीमा स्थापना गरिन्छ।

पृथ्वीनारायण शाहले काठमाडौं विजय अभियानका क्रममा त्रिपुरासुन्दरी माईको आशीर्वाद पाएको किम्बदन्तीसँग सम्बन्धित यो मेला  त्रिपुरासुन्दरी गाउँपालिकाले नै आधिकारिक रूपमा आयोजना र खर्च व्यवस्थापन गर्दै आएको छ ।

जिल्लाको सांस्कृतिक एवं धार्मिक गौरव मानिने यो मेलामा हरेक वर्ष धादिङ लगायत विभिन्न जिल्लाका हजारौं भक्तजनको सहभागिता रहने गर्छ।

धादिङको सल्यानटार,मुलपानी, आगिन्चोक र त्रिपुरेश्वर गाविसलाई समेटेर बनाईएको गाउँपालिकाको नाम यहि प्रसिद्ध मन्दिरको नामबाट राखिएको हो ।

त्रिपुरासुन्दरी भगवती माईको जात्रालाई स्थानीयले न्वागी पनि भन्ने गर्दछन् । मेलाका अवसरमा यहाँका वासिन्दाले नयाँ धानको चामलबाट दही चामल वनाई देवीलाई चढाएपछि स्थानीयले पनि न्वागी खाने चलन रहेको छ । न्वागी खानका लागि घर वाहिर रहेका यहाँका वासिन्दा मेलाको अवसरमा घर फर्कने गर्दछन् ।

  • त्रिपुरासुन्दरी भगवती माईका मुख्य पक्षहरु

तीन घण्टाको कठिन ओह्रालो यात्रा

त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटस्थित मन्दिरबाट गाउँपालिका–६, सल्यानबेँसीमा रहेको माइतीघर (बेँसी मन्दिर) सम्म मुख्य पुजारी रानामगर थरका व्यक्तिले खाली खुट्टै पिठ्युँमा बोकेर झण्डै तीन घण्टाको अप्ठ्यारो, ओह्रालो बाटो हुँदै भगवतीलाई बोक्ने गर्दछन् ।
यो अवसरलाई देवी अवतरणको विशेष क्षण मानिँदा भक्तजनले बाटोमै बसेर पूजा गर्ने परम्परा रही आएको छ। देवीको मूर्ति भने मुख्य पुजारीबाहेक कसैले पनि हेर्न वा छुन नपाइने चलन छ।

माईत झर्ने दिनको भव्य मेला

सल्यानकोटको “घर”बाट बेँसीको “माइतीघर”मा देवी झर्ने दिन विशेष महत्वका साथ मनाइन्छ।
दियो, कलश बोकेर, शङ्ख–घण्टा बजाउँदै, खुँडा–खुकुरीसहित पञ्चेबाजामा नाच देखाउने चलन यस मेलाको आकर्षण मानिन्छ।

फागुनसम्म माइतीघरमै बस्ने परम्परा

न्वागी खान आउने पर्व अनुसार त्रिपुरासुन्दरी भगवती फागुन महिनासम्म माइतीघर (सल्यानबेँसी) मै बस्ने परम्परा छ।
फागुनमा साइत हेरी पुनः सल्यानकोटको मूल मन्दिरमा देवीलाई लगिँदै मेला लाग्ने बताइएको छ।

वर्षभर तीन मन्दिरमा पूजा–आराधना

त्रिपुरासुन्दरी भगवतीलाई वर्षभित्र तीन फरक–फरक मन्दिरमा राखेर पूजा–आराधना गर्ने संस्कार छ-

  • घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सल्यानकोटको पूर्वतिर रहेको “मामाघर” मन्दिरमा,
  • वर्षको आठ महिनाभन्दा बढी समय पश्चिम थुम्कास्थित “घर” मन्दिरमा पूजा,
  • र न्वागी पर्वको समयमा बेँसीस्थित “माइतीघर”मा स्थापना।

ऐतिहासिक मान्यता

पृथ्वीनारायण शाहले काठमाडौं जीत गर्ने क्रममा त्रिपुरासुन्दरी माईको आशीर्वाद पाएको मान्यता अनुसार यो मेला विगतदेखि निरन्तर लाग्दै आएको हो।