त्रिशूली नदीको निरन्तर प्रदूषण : जलयात्रा व्यवसाय संकटमा, नदीको पहिचानै जोखिममा
324 पटक पढिएको
- केशव अधिकारी
त्रिशूली नदी हिउँद होस् वा वर्षा, निरन्तर धमिलो बन्न थालेको करिब डेढ दशक भइसकेको छ। एक समय कन्चन भएर बग्ने त्रिशूली आज इतिहासका पानामा मात्र सीमित हुँदै गएको छ। नयाँ पुस्तालाई ‘त्रिशूली कहिल्यै पारदर्शी थियो’ भन्नै परे अविश्वास लाग्न सक्छ। नदी धमिलो बनाउने शक्ति सक्रिय रहेको आरोप स्थानीय स्तरमा लगातार उठिरहेकाछन्। नदीको संरचना परिवर्तन गर्ने गरी भइरहेको अतिक्रमण, अनियन्त्रित प्रदूषण र सरकारी निकायको उदासीनताले त्रिशूलीको पहिचान धरापमा परेको छ।
महत्वपूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय र वातावरणीय मूल्य बोकेको त्रिशूलीलाई बचाउन नागरिक तहबाट अभियानहरू चलाइएका छन्। नदीको अवस्था बिग्रन थालेसँगै ‘त्रिशूली बचाउ अभियान’ सक्रिय हुँदै आएको छ, तर दोहन तथा प्रदूषण गर्ने समूह झन् संगठित हुँदै गएको स्थानीयको गुनासो छ।
त्रिशूली काठमाडौँ, पोखरा, चितवन जस्ता प्रमुख पर्यटकीय क्षेत्र नजिक भएकाले साहसिक जलयात्राकै मुख्य गन्तव्य मानिन्छ। जलयात्रामा पर्यटकलाई आकर्षित गर्ने मुख्य तत्व नदीकै प्राकृतिक छाल हो। विश्वका थुप्रै देशमा व्यावसायिक र्याफ्टिङका लागि कृत्रिम नदी निर्माण गरिएको छ—दुबईले समुद्री पानीबाट कृत्रिम नदी बनाएको छ भने सन् २०१२ को लण्डन ओलम्पिकमा समेत कृत्रिम र्याफ्टिङ कोर्स निर्माण गरिएको थियो। नेपालमा भने प्राकृतिक नदीहरूमै उत्तिकै आकर्षण छ, जसले जल–पर्यटनको सम्भावनालाई बलियो बनाएको हो।
नेपालमा साहसिक जलयात्राको इतिहास सन् १९६८ मा न्यूजिल्याण्डका सर एडमण्ड हिलारीबाट शुरू भएको मानिन्छ। सन् १९७५ मा सरकारले १० वटा नदीलाई जलयात्राका लागि आधिकारिक रूपमा स्वीकृति दियो, र व्यावसायिक र्याफ्टिङ पहिलोपटक त्रिशूलीबाटै सुरू भयो। ‘नेपाल भ्रमण वर्ष १९९८’ पछि यो क्षेत्रले पुनः उचाइ लिन थाल्यो।
रबरका डुङ्गा प्रयोग गरी नदीको बहावसँगै बग्ने प्रक्रियालाई र्याफ्टिङ भनिन्छ। जोखिमयुक्त खेल भए पनि आधुनिक प्रविधि, तालिमप्राप्त रिभरगाइड र व्यवस्थित उद्धार प्रणालीका कारण नेपालका नदीहरू यसका लागि उपयुक्त ठहरिएको व्यवसायीहरूको धारणा छ। देशभर करिब एक हजार रिभरगाइड कार्यरत छन्। अहिलेसम्म छिटफुट घटनाबाहेक गम्भीर दुर्घटना नघट्नु पनि नेपालका नदीहरूको आकर्षणका रूपमा वर्णन गरिन्छ।
र्याफ्टिङ कम्पनी सञ्चालनका लागि कम्तीमा १५ लाख रुपैयाँ लगानी र दुईवटा डुङ्गा अनिवार्य हुन्छ। हाल यस क्षेत्रमा करिब ३ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको अनुमान छ। एक सयभन्दा बढी कम्पनी सक्रिय छन्। तर, जलयात्रा सञ्चालनका लागि छुट्याइएका नदीहरूमा प्रदूषण अत्यधिक बढेको छ। नदी किनारमै फैलँदै गएको जनघनत्वले फोहोर व्यवस्थापन बिगारेको छ। घर–होटलका ढलदेखि मरेका जनावर, प्लास्टिक, मदिराका बोतल, अस्पतालको फोहोरसम्म नदीमा मिसाइने गरेको तथ्य व्यवसायीहरू खुलाउँदै आएका छन्।
त्रिशूली र भोटेकोसी नदी किनारमा सञ्चालन भएका बालुवा धुने उद्योगले पानी वर्षैभरि धमिलो बनाइदिन्छ। यसले जलयात्रामा प्रत्यक्ष असर पारिरहेको छ। ‘नारा’—नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीले सम्बन्धित सरकारी–गैरसरकारी संस्थासँग मिलेर नदी सफाइ अभियान चलाए पनि स्थानीय सरकारको कमजोर साथका कारण प्रयत्नले इच्छित प्रभाव पार्न सकेको छैन।

लगातार बढ्दो प्रदूषणले त्रिशूलीमा सञ्चालन हुने जलयात्रा विगत दशकयता गम्भीर संकटमा परेको छ। जलयात्री संख्या वर्षेनी घट्न थालेको व्यवसायी राममणी सिलवाल बताउँछन्। उनका अनुसार हरेक वर्ष करिब एक लाख जलयात्री आउने गर्ने त्रिशूलीमा अहिले संख्या तीव्र रूपमा झरिरहेको छ। जलयात्रा घटेपछि त्रिशूलीमा मात्र करिब ४० कम्पनीका १२ सय मजदुरको रोजगारी नै जोखिममा परेको छ। यसले धादिङको पर्यटन पहिचान पनि कमजोर बन्दै गएको चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।
जलयात्रा व्यवसायीले त्रिशूलीमा भइरहेको प्रदूषण नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकार, पर्यटन बोर्ड तथा सरोकारका अन्य निकायलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो छ। प्रदूषण बढेसँगै पर्यटक बूढीगण्डकी र भोटेकोसीतर्फ आकर्षित हुन थालेका छन्। र्याफ्टिङ कम्पनी दर्तामा पनि त्रिशूलीभन्दा भोटेकोसी रोज्नेको संख्या बढ्दै गएको देखिन्छ।
नौविसेदेखि चितवनसम्म त्रिशूलीसँगै फैलिएको पृथ्वी राजमार्गमा अव्यवस्थित बजार विस्तार, होटल–रेस्टुरेन्टका फोहोर, अस्पताल–मेडिकलका हानिकारक फोहोर, गिट्टी–बालुवा व्यवसाय, उद्योगका फोहोर, ढल व्यवस्थापनको अभाव र सवारी दुर्घटनामा नदीमा खस्ने गाडीहरू समेत प्रदूषणका मुख्य कारण बनेका छन्। वर्षामा मात्र धमिलो हुने त्रिशूली अब बालुवा पखाल्ने उद्योगले बाह्रै महिना मैलो बन्न पुगेको छ। पानी धमिलो हुँदा उद्धार कार्यसमेत चुनौतीपूर्ण भएको उद्धारकर्मीहरू बताउँछन्।
नदी धमिलो भएपछि माछा मारेर गुजारा गर्ने स्थानीय समुदाय पनि विस्थापित हुन थालेका छन्। यस्तो अवस्थामा त्रिशूलीको प्राकृतिक सुन्दरता, पर्यटकीय महत्त्व र जलयात्रा व्यवसाय सबै संकटमा पर्न थालेको स्पष्ट देखिन्छ।
त्रिशूली बचाउने प्रयास कसैले रोकेका छैनन्, तर राज्यको प्रभावकारी हस्तक्षेप बिना नदी र त्यससँग जोडिएको जल–पर्यटनको पहिचान जोगिन मुस्किल हुँदै गएको नदी–बचौतर्फ सक्रिय नागरिक र व्यवसायीहरूको साझा भनाइ छ।








Alright, so I gave 57bet a whirl the other day. Gotta say, the site’s pretty slick, and I found a few bets I liked. Not gonna lie, I hit a little winner! Check it out for yourself! 57bet
https://shorturl.fm/RaOoS