धादिङका श्रीकृष्ण अधिकारी : गाउँमै बसेर सफल किवी उद्यमी

430 पटक पढिएको

२५ मंसिर २०८२, बिहीबार १०:३९ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी, धादिङ

‘काम गर्ने जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन’—यही भनाइलाई वास्तविकता बनाएका छन् नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारीले। चार वर्ष मलेसियामा श्रम गरेर फर्किएका अधिकारीले गाउँमै उत्पादनमूलक काम गरेर आत्मनिर्भर बन्ने लक्ष्य लिए। यही सोचका साथ २०७२ सालदेखि सुरु गरिएको किवीखेती आज नमूना कृषि उद्यमका रूपमा चिनिन थालेको छ।

सदरमुकाम धादिङबेसीबाट पूर्वतर्फ पर्ने नीलकण्ठ–१ काउलेमा १५ रोपनी जग्गा भाडामा लिएर अधिकारीले ‘श्रीकृष्ण कृषि तथा पशु फर्म’ मार्फत व्यावसायिक किवीखेती थालेका हुन्। धादिङका पहिलो व्यवसायिक किवी किसान मानिने अधिकारीले सुरुमा ३ सय बिरुवा रोपे। तीन वर्षपछि उत्पादन आउन थालेपछि उनको आत्मविश्वास झनै बलियो बन्यो।

हाल उनका बगैँचाबाट वार्षिक दुई टनभन्दा बढी किवी उत्पादन हुन्छ। उत्पादन भण्डारण गर्दा तौल घट्ने भएकाले उनले सकेसम्म छिटो उपभोक्तासम्म किवी पुर्याउने रणनीति अपनाएका छन्।

अधिकारी किवीलाई ग्रेडिङ गरेर बिक्री गर्छन्—ए–ग्रेड प्रतिकिलो ३०० र बी–ग्रेड प्रतिकिलो २५० रुपैयाँ। व्यापारीमार्फत बेच्दा मूल्य घट्ने भएकाले उनले उपभोक्ताको घरै–घरमा पु¥याएर बिक्री गर्ने गरेको बताए। धादिङबेसीमा उनका नियमित ग्राहक छन् भने माग अनुसार चितवन, काठमाडौं र पोखरासमेत किवी पठाउने गर्छन्।

गत वर्ष २० क्विन्टल किवी बिक्री गरेका उनको यो वर्ष उत्पादन करिब १५ क्विन्टलमा झरेको छ। समयमै वर्षा नपर्नु र फल लागेको अवस्थामा जंगली जनावर तथा पंक्षीको बढ्दो क्षतिले उत्पादन कम भएको उनको भनाइ छ।

अधिकारीका अनुसार किवीखेती दीर्घकालीन, सरल र लाभदायक छ। एकपटक लगानी गरेपछि वर्षौँसम्म फल ल्याउन सकिने, बाँझो जमिन उपयोगमा आउने र बजार मूल्य राम्रो हुने भएकाले उनले खेती विस्तार गरिरहेका छन्। किवीको स्वास्थ्य फाइदाले पनि उपभोक्ताको माग बढेको अधिकारी बताउँछन्।

उनले किवीसँगै एभोकाडो, अनार, जापानी नास्पाती, कागती, सुन्तला, कफी र तरकारी बालीसमेत उत्पादन गर्छन्। धादिङको हजार मिटरभन्दा माथिको भूभाग किवीखेतीका लागि उपयुक्त भएकाले जिल्लाभर यसको सम्भावना उच्च रहेको उनको विश्वास छ। अहिले रुबीभ्याली, नेत्रावती डबजोङ, गजुरी, बेनिघाट–रोराङ र नीलकण्ठकै ज्यामरुङ क्षेत्रमा किवीखेती विस्तार हुँदै गएको छ।

धादिङमा सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातका किवी उत्पादन भइरहेका छन्। एक रुखबाट ५०–७० किलोसम्म फल लाग्ने र प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने किसानको अनुभव छ। तर, किवीसम्बन्धी प्राविधिक सेवा नहुँदा किसानले चुनौती भोग्नुपरेको अधिकारी बताउँछन्।

अधिकारीले युट्युब, गुगल र सामाजिक सञ्जाल अध्ययन गर्दै स्व–सिकाइबाट खेतीलाई आधुनिक बनाएका छन्। स्थानीय, प्रदेश र संघीय सरकार मिलेर धादिङलाई ‘किवी उत्पादन हब’का रूपमा विकास गर्न सकिने विश्वास उनले व्यक्त गरे। प्रशोधन उद्योग स्थापना गर्न सके जुस, पेय पदार्थ लगायतका उत्पादनमार्फत स्थानीय रोजगारी, मूल्य अभिवृद्धि र कृषि आय सबै बढ्ने उनको धारणा छ।

विदेशमा पसिना बगाएर फर्किएका श्रीकृष्ण अधिकारी अहिले गाउँमै बसेर सफल कृषि उद्यमीको पहिचान बनाएका छन्।


Keno’s probability is fascinating – seemingly random, but patterns do emerge with enough data! Seeing platforms like jljl55 ph app login focus on secure access (like their download/login process) is smart for building trust in the Philippines market. It’s all about responsible gaming & data!