बूढीगण्डकी आयोजना निर्माणका लागि साहस उर्जाको हकप्रद सेयरबाट ४ अर्ब ५७ करोड जुटाइने

544 पटक पढिएको

२७ मंसिर २०८२, शनिबार ०६:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत साहस ऊर्जा लिमिटेडले गोरखा जिल्लास्थित चुमनुब्री र धार्चे गाउँपालिकामा अवस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

बुधबार राजधानीमा सम्पन्न कम्पनीको १२औँ वार्षिक साधारणसभाले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए। साधारणसभाबाट प्रस्ताव पारित भएसँगै हकप्रद सेयर निष्कासनको बाटो खुलेको हो। अब विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि हकप्रद सेयर जारी गरिनेछ।

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। उक्त बोनस सेयर वितरणमा लाग्ने कर १.१० प्रतिशत रहनेछ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। यही रकम बराबरको हकप्रद सेयर निष्कासन गरी आयोजनाका लागि लगानी जुटाउने तयारी गरिएको कम्पनीले जनाएको छ।

हकप्रद सेयर निष्कासनपछि साहस ऊर्जाको चुक्ता पुँजी दोब्बर बढेर नौ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा कम्पनीले ९० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिमा बिजुली बिक्रीबाट दुई अर्ब ६४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ। अघिल्लो वर्ष कम्पनीको बिजुली बिक्री आम्दानी दुई अर्ब ४४ करोड ७५ लाख रुपैयाँ थियो।

साहस ऊर्जाले बूढीगण्डकी आयोजना व्यवसायी दीपक मल्होत्राबाट दुई अर्ब रुपैयाँमा खरिद गरेको हो। उनले टाइम्स इनर्जीमार्फत आयोजना निर्माण गर्न लागेका थिए। लगानी जुटाउन नसकेपछि साहस ऊर्जाले आयोजनाको स्वामित्व लिएको हो। यो आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेको छ। आयोजना निर्माणका लागि करिब ५१ अर्ब रुपैयाँ लागत लाग्ने अध्ययनले देखाएको छ। आयोजनाबाट वार्षिक एक अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

आयोजनाको डिजाइन बहाव १०० घनमिटर प्रतिसेकेन्ड र कुल हेड ३९८ मिटर रहनेछ। सुक्खायाममा समेत आयोजना दैनिक पाँच घन्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। पिकिङ अवधिमा दैनिक पाँच घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।

आयोजनाको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। नदीमा बाँध बाँधी इन्टेकमार्फत पानी भूमिगत सुरुङ हुँदै विद्युतगृहसम्म लैजाने योजना छ। बाँधको लम्बाइ ५४ मिटर, उचाइ ३८ मिटर र पानी सञ्चय क्षमता १७ लाख घनमिटर रहनेछ।

विद्युतगृहमा ५७ मेगावाट क्षमताका छ वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन जडान गरिनेछ। आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी प्रसारण लाइनमार्फत ४५ किलोमिटर दूरीमा रहेको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ, जुन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माणाधीन ४०० केभी क्षमताको सबस्टेसन हो।

आयोजना गण्डकी प्रदेशको गोरखा जिल्लास्थित चुमनुब्री र धार्चे गाउँपालिकामा अवस्थित छ। हाल साहस ऊर्जाले ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोसी) जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसले २०७९ माघ अन्तिम सातादेखि व्यावसायिक उत्पादन थालेको हो। साथै कम्पनीले पाँच मेगावाट क्षमताको हुग्दी खोला जलविद्युत आयोजना पनि सञ्चालनमा राखेको छ।


Alright, so I stumbled upon ph2222.info the other day. It’s got…a vibe. Could use a bit of polish, but the games are decent. Anyone else given it a shot? Find it here: ph2222