स्वास्थ्य सेवा लिदां पनि महिलामाथि हिंसा

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मकवानपुर जिल्ला गढी गाविस वडा न. ६ कि जानुकी सञ्जेल सानातिनो विमारी परेपनि निजि क्लिनीकमा उपचार गराउन हेटौंडा धाउने गर्छिन् । आफूमात्र हैन उनी आफ्ना शुभचिन्तकहरुलाई पनि उपचारको लागि निजि क्लिनीक नै जान सुझाउँछिन् । अझै प्रसुति सेवाको लागि त कुनैपनि हालतमा निजि क्लिनीक जानुपर्ने उनको धारण छ । आर्थिक रुपमा सम्पन्न भएर हैन, जानुकीलाई सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिंदा पटक पटक अपमानित हुनु परेको छ । “असभ्य गाली गलौज सुन्नुपर्ने, पैसा पनि तिर्ने, अपशब्द पनि खेप्नु किन जानु त्यहाँ” उनी भन्छिन् ।
झण्डै ९ वर्ष अगाडि प्रसुति सेवा लिन हेटौंडा अस्पताल गएकी उनलाई महिला स्वास्थ्यकर्मीहरुले त्यो बेला गरेको व्यवहार अझै नमिठो लाग्छ । “नौ नौ वर्ष भइसक्यो तर पनि मलाई ति शब्द सम्झदाँ आजपनि आंङ सिरिड्ड हुन्छ, हामीलाई त्यस्ता शब्द सुन्दा लाजलाग्छ, उनीहरु किन त्यस्तो बोल्छन्,” उनले भनिन् । प्रसुतिजस्तो सबैभन्दा गम्भिर केसका विरामीलाई पनि स्वास्थ्यकर्मीहरुले नमिठो व्यवहार गरेको देख्दा त्यतिवेला धेरै दुखलागेको उनले बताइन् । “प्रसुतिको बेला असह्य पीडाले चिच्याइरहेका सबै महिलाहरुलाई स्वास्थ्यकर्मीहरुले त्यसैगरी गालिगलौज गर्ने गरेको उनी बताउँछिन् । “सान्त्वना दिनुपर्ने बेलामा झनै तर्साउने र गालि गर्ने व्यवहार खेप्नु हाम्रो लागि पीडादायक सवाल हो,” उनले भनिन् । जानुकाले आफु प्रसुतिको बेलामा मात्र यस्तो व्यवाहार भोगेकी हैनन् । पटक पटक उस्तैखाले समस्या भोगको बताउँछिन् उनी । “मैले त समस्या भोगे, नमिठा व्यवाहारमा सझौता गरे, तर पटक पटक म मेरा आफन्तहरुलाई लिएर जाँदा उस्तै खाले समस्या र व्यावहार दोहोरिरह्यो । म अहिले सरकारीभन्दा निजि स्वास्थ्यसंस्थामा जाने गर्दछु” उनले भनिन् । “स्वास्थ्यकर्मी कै लापरवाही कारण मेरो आफ्नो भाउजुको शिशु गर्भमा वित्यो,” उनले निराश हुदैं भनिन् । बिरामी भर्नासंगै अभिभावकलाई गराइने मञ्जुरीनामा हस्ताक्षर स्वास्थ्यकर्मीहरुको लागि अहमतीको बलियो कडि बनेको दावि उनले गरिन् । “जे भएपनि उजुरी गर्ने छैन, भनि सर्तमा हस्ताक्षर गरेपछि हामी सहनै बाध्य भयौ उनले भाउजुको केस सम्झदै भनिन्, “भावि सन्तानको लागि हामीमा कति मिठा कल्पनाहरु थिए,तर नर्सहरु कै लापवाहिमा हामीले नयाँ सदस्यलाई गुमायौ ।”
मकवानपुर बसामाडी घर भएकी संझना कार्की बच्चालाई नियमित खोप लगाउन स्वास्थ्यसंस्था जानु पर्ने दिन विहानैदेखि तनावमा हुन्छिन् । “बच्चालाई रोगबाट बचाउन खोप लगाउन जादंैछु तर मनमा आनन्द पटक्कै छैन,” जिल्ला स्वास्थ्य कार्यलय नजिकै बाटोमा भेटीएकी उनले भनिन् । खोप लगाउनेहरुको भीड भएपनि स्वास्थ्य कार्यकर्ताहरुले अभद्र व्यवहार गर्ने गरेको उनले बताइन् । “बच्चाहरु रुदाँ, स्वास्थ्य संस्थामा भीड हुँदा पनि उनीहरु (खोप कार्यकर्ताहरु) हामीसँग झर्कने गर्दछन्, रिसाउने गर्दछन्, राम्रो सल्लाह पनि दिन मान्दैनन् । उनले पनि प्रसुतिको बेला सरकारी स्वास्थ्यसंस्थाको व्याहार नमिठो नै भएको गुनासो गर्छिन् । “कमजोर आर्थिक हैसियत भएका हामी सरकारीमा प्रसुतिका लागि गएका थियौ, पैसाको लागि यही भीड लाग्न आएका भनेर गालि गरे, अरु पनि के के भने” उनले भनिन् ।
जानुका, संझना जस्तै सरकारी क्षेत्रको स्वास्थ्यकर्मीको व्यवहारबाट आजित छिन् हेटौंडा–६ चौघडाकी सविना चौलागाईं पनि । औषधि दिएपनि यसको प्रयोग विधिबारे केही नवताउने, आफूलाई परेको समस्याको बारेमा सबैकुरा नसुन्ने गरेको उनले बताइन् । “हामी उनीहरुमाथि जीवनको भरोसा राखेर जान्छौ, उनीहरु मध्ये ज्यादै थोरैले मात्र सम्मानजनक व्यवहार गर्दछ” उनले भनिन । सरकारी र निजी स्वास्थ्य संस्थामा सेवाग्राहीप्रति गरिने व्यवहार आकाश पातालको फरक भएकै कारण हुन सक्छ, निजि क्लिनिकहरुमा बढी भीड लाग्ने गरेको उनले बताइन् । निजि क्लिनिकमा उपचारको लागि बढी नै आर्थिक जोहो गर्नु पर्ने भएकाले आफूहरुलाई बढी समस्या हुने गरेको सेवाग्रहीहरुको भनाई छ । प्रसव पीडामा मात्रै हैन, महिला स्वास्थ्यको अन्य सवालमा स्वास्थ्य परीक्षणको लागि जाँदा पनि अपमानजनक व्यवहार भोग्नु परेको बुढीचौर गाविस–३ कि पञ्चश्री गोले बताउँछिन् । “हामीलाई त के थाहा हुन्छ र, उपचार पाइन्छ की भनेर जाने हो, तर कि त लाज लाग्नेगरी गालि गर्ने कि त हेपेर वचन लगाउँछन्” उने भनिन् । पाठेघर तल खेसेको उपचार हुन्छ भन्ने सुनेर स्वास्थ्य कार्यकर्ता कहाँ जाँदा आफूलाई असजिलो महसुस हुनेगरी अपशब्द बोलेको उनले बताइन ।
जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख हरि बहादुर खड्का भने यस्तो कुरा मान्न तयार छैनन् । आफ्ना कुनै पनि कर्मचारीहरुले सेवाग्राहीहरुलाई अपशब्द प्रयोग नगरेको र यस्तो समस्या भएमा आफूले सजक गराउने उनले बताए । सेवामा लागेपछि जस्तो समस्याबारे पनि जानेको जानकारी र सेवा दिनु पर्ने तथा सेवाग्राहीको मन दुखाउनु नहुने उनले बताए । सेवाग्राहीको चापको कारण तनावमा भएको बेला कुनै समय यस्तो भएको हुनसक्ने स्वीकार गर्दै उनले त्यस्तो तितो यथार्थ सेवाग्राहीले भोग्नु नपरोस भनेर आफूहरु सजक रहेको बताए । स्वास्थ्य सेवा लिने क्रममा हिंसा तथा विभेद नहोस भनेर जिल्ला स्वास्थ्य कार्यलयमा नै हिंसा न्यूनीकरणको लागि अल्पकालिन सेवा केन्द्र राखिएको उनले बताए ।
सेवा लिने क्रममा कति महिलाहरुले यसरी नमिठो व्यवहार पाउँछन् भन्ने एकिन तथ्याङ्क छैन । जिल्लामा कार्यरत सामाजिक संघसंस्थाहरुमा पनि हालसम्म यस्ता विभेद तथा हिंसाको उजुरी परेको छैन । अन्य महिलाले भन्ने एचआईभी संक्रमित तथा प्रभावित महिलाहरुले यस्तो समस्या बढी भोग्नु परेको बताइएको छ । सेवा लिने सवाल हुने यस्ता प्रकारको हिंंसाको पनि अध्ययन र अन्त्य आवश्यक छ भन्छिन् अधिकारकर्मी राधिका अधिकारी (चौलागाई ) ।
संचारिका फिचर सेवा मध्यमाञ्चल