सिद्धलेकमा पहिरोले सिंचाई कुलो भत्कायो- ४५० घरधुरीका किसान मारमा

363 पटक पढिएको

५ चैत्र २०८२, बिहीबार ०७:१७ सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित सिंचाई कुलो पहिरोका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। कालीदह नजिकै बाँध निर्माण गरी करिब १९ किलोमिटर टाढासम्म पुर्‍याइएको उक्त कुलोमार्फत परेवाटार, खरमटार, नेपालटार, समीटार र गजुरीटार क्षेत्रका खेतमा सिंचाई हुँदै आएको थियो।

बुधवार बिहान परेवाटार–फिसटार बीच झ्यावर्ती नजिकै पहिरो खस्दा कुलो भत्किएको हो। सोही क्रममा मलेखु–धादिङबेसी सडक समेत करिब ६ घण्टाभन्दा बढी समय अवरुद्ध बन्न पुगेको थियो। डोजरको सहायताले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको भए पनि स्थानीय बासिन्दा र किसानहरू अझै समस्यामा छन्।

स्थानीय रंग प्रसाद थपलियाका अनुसार, उक्त कुलोबाट करिब ४ हजार रोपनीभन्दा बढी जमिनमा सिंचाई हुँदै आएको थियो। हाल कुलो अवरुद्ध हुँदा विशेषगरी तरकारी खेती गरिरहेका र चैते धान रोपाइँको तयारीमा रहेका करिब ४५० घरधुरी किसान प्रत्यक्ष प्रभावित भएका छन्।

“नहर तुरुन्त मर्मत नभए रोपाइँ ढिलो हुन्छ, लगाएको बाली पनि सुक्ने अवस्था आउँछ,” थपलियाले बताए।

प्रभावित किसानहरूले सम्बन्धित निकायसँग तत्काल कुलो मर्मत तथा वैकल्पिक सिंचाई व्यवस्था मिलाउन माग गरेका छन्। ढिलाइ भए उत्पादनमा गिरावट आउनुका साथै आर्थिक क्षति बढ्ने उनीहरूको चिन्ता छ।

स्थानीय तह तथा सरोकारवाला निकायले शीघ्र पहल नगरे समस्या अझ जटिल बन्ने देखिएको छ।