आमाले छोडेपछि तीन सन्तानको बिचल्ली

473 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 

 

 

बैरेनी (धादिङ) : आमाले घर छोडेर हिँडेपछि धादिङ बैरेनी गाविस ९ माझीखेतका तीन बालबालिकाको बिचल्ली भएको छ। पति बलराम भण्डारीसँग मनमुटाउ बढ्दै गएपछि सुरुमा माइत गएकी २२ वर्षीया सुशीला आफ्ना तीन सन्तान छोडेर दुई वर्षदेखि बेपत्ता छिन्।

उनी बेखबर भएर हिँडेपछि उनका छोराछोरी आठ वर्षीया अनुषा, ६ वर्षीया मनीषा र चार वर्षीय मनीषको बिचल्ली भएको हो। पत्नीले छाडेर हिंडेपछि छोराछोरीको लालनपालन गर्ने जिम्म्मेवारी पाएका बलराम भण्डारी ज्यालामजदुरीका लागि हिंड्नुपर्दा सन्तान बेसाहारा भएका छन्।

‘पहिला बाबुआमा दिनहुँ झगडा गर्नुहुन्थ्यो। झगडा भएपछि एक दिन आमाले हामीलाई छाडेर मामाघर गइन्। त्यसपछि फर्केर आएकी छैनन्। आमा नभएपछि भाइबहिनीलाई पनि मैले नै स्याहार गर्नुपर्छ’, आठ वर्षीया अनुषाले भनिन्।

आमाले छाडेर गएपछि स्थानीय अम्लेश्वर प्राविको कक्षा २ मा पढ्दै गरेकी अनुषा र १ कक्षामा पढ्दै गरेकी मनीषाको पढाइसमेत नियमित हुन नसकेको विद्यालयका प्रधानाध्यापक सुमधर खनाल बताउँछन्। उनीहरूको पढाइ नरोकियोस् भनेर विद्यालयले कापीकलम सहयोग गरेको भएपनि धेरैजसो दिनमा बालबालिकाले खाना खान नपाएर विद्यालय जान नसकेको प्रधानाध्यापक खनालले बताए।

मुटु छुने चिसोमा समेत पुराना एकसरो पातलो कपडाको भरमा बसिरहेका बालबालिका देखेर छिमेकीले कहिलेकहीं आफ्नो घरमा पाकेको खानेकुरा दिन्छन्। वाबु घर नआएको दिन उनीहरू भोकै सुत्छन्। घर छोडेर जाँदा पत्नीले आफूले खाइनखाइ गरेर जोडेको सुनका गरगहनासमेत लिएर गएको बलरामले बताए। ‘छोराछोरीको माया लाग्छ। घरमै बसेर हेरचाह गरौं भने खान पाइँदैन। काम गर्न गयो, छोराछोरी भोकभोकै सुत्न बाध्य हुन्छन्’, बलराम भन्छन्।

सानै उमेरमा बाबुआमा गुमाएका बलराम आफ्नो पुख्र्यौली गाउँभन्दा केही तल आएर बसेका छन्। उनका आफन्तसमेत कोही नभएकाले छोराछोरीको लालनपालनमा समस्या भएको छिमेकी बताउँछन्। एकान्तमा घर भएकाले हम्मेसी जोकोही बलरामको घरमा पुग्दैनन्। जिल्लामा बालबालिकाका पक्षमा काम गर्ने गैरसरकारी संस्था र राज्यको तर्फबाट यी बालबालिकालाई केही सहयोग जुट्न सके उनीहरूको संरक्षण र पढाइ हुन सक्ने अम्लेश्वर प्राविका प्रधानाध्यापक खनाल बताउँछन्।