हिरासतबाट अभियुक्त फरार, प्रहरीले भगाएको स्थानीयको आरोप

513 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ : चोरी गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका अभियुक्त प्रहरीलाई छक्याएर फरार भएका छन्। धादिङको महादेवस्थान गाविस २ घर भएका तोम्फे भनिने मिलन तामाङ बिहीबार बिहान शौचालय जाने निहुमा इलाका प्रहरी कार्यालय गजुरीको हिरासतबाट भागेका हुन्।DSC02346

मंगलबार गजुरी गाविस ४ बेल्टारमा टिकादत्त कँडेलको घरमा चोरी गरेको आरोपमा तामाङलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा बुझाएका थिए।

तामाङले ३८ हजार नगद, १ जोर चाँदीको पाउजु, चाँदीको सिक्का एक थान र मलेखुमा रहेको एनडिइपि बैंकको चेकबुक समेत चोरी गरेको आरोप स्थानीयबासीले लगाएका छन्। प्रहरीले नियन्त्रणमा लिएपछि ढुक्क भएका पीडित अभियुक्त फरार भएको थाहा पाएपछि आक्रोशित भएका छन्।

‘तपाईहरुको घरमा चोरी गरेको आरोपमा पक्राउ परेको व्यक्ति हाम्रो नियन्त्रणबाट भाग्यो’ भन्दै प्रहरीले लाचारीपन देखाएको पीडित टिकादत्त कंडेलले बताए।

तामाङसँग भएको झोला र अन्य सामान प्रहरीले नियन्त्रणमा लिएको भएपनि तामाङले त्यो समेत लिएर भागेको थाहा पाएपछि पीडितले प्रहरीकै मिलेमतोमा उनलाई भगाएको आरोप लगाएका छन्।

तामाङको पर्समा ५ सयको एकथान, एक सयको एक थान,२० को २ थान, ५ को २ थान, २ को एक थान र १ को एक थान नोट रहेकोमा तामाङ भाग्दा ति नोटहरु समेत लिएर गएको पाइएपछि घटना रहस्यमय बनेको पीडित टिकादत्त कंडेल बताउँछन्।

प्रहरी अनुसन्धानका क्रममा तामाङले कंडेलको घरबाट चोरी गरेको स्वीकार गरेका छन्।

प्रहरीकै मिलेमतोमा हिरासतमा रहेका अभियुक्त शौचालय जाने निहुमा फरार भएको भन्दै पीडितहरुले बिहीबार दिनभर प्रहरी कार्यालयमा धर्ना दिए।

घटनाबारे आन्तरिक अनुसन्धान जारी रहेको र प्रहरीले गल्ती गरेको देखिए नियमअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक बिक्रम बस्नेतले बताए।

शौचालय इलाका प्रहरी कार्यालयमा भवन बाहिर छ।

स्थानीयबासीले प्रहरी कार्यालयमा धर्ना दिएर विरोध गरेपछि जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको आन्तरिक छानविनका लागि प्रहरी निरीक्षक वासुदेव थापालाई गजुरी पठाएको छ।