धादिङ सिद्धलेकमा ४९ मेगावाटको सौर्य आयोजना निर्माण गर्दै रिन्यू होल्डिङ्स

173 पटक पढिएको

१८ श्रावण २०८३, सोमबार २२:१२ सम्पादक: धादिङ न्यूज

धादिङ। निजी क्षेत्रबाट ठूला सौर्य ऊर्जा आयोजना विकास गर्ने अभियानमा रहेको रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको ‘धादिङ सौर्य विद्युत् आयोजना’ निर्माणको प्रक्रिया अघि बढाएको छ। कम्पनीले आयोजनाको पहिलो चरणअन्तर्गत सर्वेक्षण अनुमतिपत्र (सर्भे लाइसेन्स) प्राप्त गर्न विद्युत् विकास विभागमा औपचारिक आवेदन दिएको हो।

विभागका अनुसार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ सलाङ क्षेत्रमा प्रस्तावित उक्त आयोजनाका लागि कम्पनीले गत असार २३ गते अनुमति मागेको हो। विभागबाट स्वीकृति प्राप्त हुनासाथ आयोजनाको विस्तृत प्राविधिक, वातावरणीय तथा सामाजिक अध्ययन अघि बढाइने कम्पनीले जनाएको छ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको अगुवाइमा स्थापित रिन्यू होल्डिङ्सको सञ्चालक तथा नेतृत्व समूहमा पूर्वमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सेन्चुरी बैंकका पूर्व अध्यक्ष राजेशकुमार श्रेष्ठ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का पूर्व प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा तथा ऊर्जा-पूर्वाधार विज्ञ विदुरराज गौतम आबद्ध छन्।

कम्पनीले सन् २०३० सम्म १ हजार मेगावाटपीकभन्दा बढी क्षमताका युटिलिटी–स्केल सौर्य आयोजना निर्माण गर्ने दीर्घकालीन रणनीति बनाएको छ। साथै, १०० मेगावाटपीक क्षमताका रुफटप सोलार, १ हजार मेगावाटपीक बराबरका एग्रीभोल्टाइक परियोजना र सुख्खायामको विद्युत् व्यवस्थापनका लागि १.५ देखि २ गिगावाट–आवर क्षमताको ब्याट्री ऊर्जा भण्डारण प्रणाली  समेत विकास गर्ने तयारी गरेको छ।

रिन्यू होल्डिङ्सले हालसम्म भाटभटेनी सुपरमार्केटका २५ भन्दा बढी शाखाहरूमा ६.७८ मेगावाटपीक क्षमताका रुफटप सोलार प्रणाली जडान गरिसकेको छ भने सीएमसी, काठमाडौँ स्टिल र विभिन्न गार्मेन्ट उद्योगहरूमा पनि सौर्य परियोजना कार्यान्वयन गरिरहेको छ।

धादिङको सलाङमा प्रस्तावित यो आयोजना निर्माण सम्पन्न भएमा स्वच्छ ऊर्जा उत्पादन, स्थानीय रोजगारी सिर्जना र राष्ट्रिय विद्युत् प्रणालीको आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

(धादिङ न्यूजमा प्रकाशित सामग्री साभार गर्न, अनधिकृत रूपमा सामाजिक सञ्जालमा पोस्ट गर्न वा यसको अंश काटेर भिडिओ–अडिओ–पोस्टर बनाउन मनाही छ। त्यसो गरेको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने छ-सम्पादक)