शौचालय जाँदा भागेका कैदी १५ दिनपछि पक्राउ

658 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ ६ – धादिङको गजुरीस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको बेला शौचालय जाने वहानामा भागेका मिलन भनिने विशाल तामाङ १५ दिनपछि काभ्रे जिल्लाबाट पक्राउ परेका छन ।

धादिङको गजुरी ४ का टिकादत्त कँडेल र सदानन्द कँडेलको घरबाट विभिन्न मितिमा सुनका गहना तथा नगद रुपैयाँ गरी अन्दाजी २ लाख रुपैयाँ बरावरको धनमाल चोरी गरी फरार रहेका तामाङलाई गएको पुस १६ गते  स्थानियवासिन्दाले  फेला पारी ईलाका प्रहरी कार्यालय गजुरीमा जिम्मा लगाएका थिए । तर त्यसको २ दिनपछि उनी भागेका थिए ।

खोजी कार्यलाई तिव्र वनाउंदै जाँदा माघ ४ गते  काभ्रेपलाञ्चोक जिल्लाको गागल ६ रोशीखोला बस्ने लक्ष्मी तामाङको घरमा बसी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विभिन्न सुराकीको आधारमा तामाङलाई पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक वालकृष्ण पोखरेलले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

प्रहरीले छलफलका लागि पिडित पक्षलाई वोलाएकै दिन आरोपित व्यक्ति हिरासतवाट फरार भएपछि आक्रोशित हुन पुगेका स्थानीयवासिन्दाले दिनभरीनै इलाका प्रहरी कार्यालयमा धर्ना दिएर फरार भएका अभियुक्त तत्काल पक्राउ गर्न दवाव दिएका थिए । धादिङ जिल्लाकै महादेवस्थान गाविस वडा नम्बर २ चिउरीटार घर भएका तामाङ यसअघि पनि विभिन्न स्थानमा चोरीका घटनामा संलग्न रहेको आरोप स्थानीयवासिन्दाको छ ।