पृथ्वीराजमार्ग जोड्ने पिपलटार–मास्टार वैकल्पिक सडक फोर ह्वीलबाहेकका गाडी चल्न कठिनाइ

114 पटक पढिएको

१७ भाद्र २०८३, बुधबार १४:३० सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि सदरमुकाम धादिङबेसीबाट पृथ्वीराजमार्ग जोड्ने मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यस्तो अवस्थामा प्रयोग गरिएको वैकल्पिक मार्ग पिपलटार–आदमटार–मास्टार सडक हिलाम्मे हुँदा सवारी साधन सञ्चालनमा तीव्र कठिनाइ भएको छ।

बुधबार बिहान धादिङबेसीबाट काठमाडौठमाडौंका लागि छुटेका यात्रुवाहक बसहरू नेपालटार नजिकै भीषण हिलोमा फसेका थिए। हिलोबाट निस्किएर अघि बढ्न सक्ने अवस्था नरहेपछि बसहरू बाध्य भएर पुनः धादिङबेसीतर्फ नै फर्किएका छन्। बस चालकहरूका अनुसार हाल सो सडकमा फोर ह्वील (चारपाङ्ग्रे साना) सवारीसाधन बाहेक अन्य गाडीहरू चलाउन नसकिने अवस्था छ।

केही दिनअघि मात्रै प्रधानमन्त्रीको कार्यालयबाट समेत सामाजिक सञ्जालमार्फत पिपलटार–आदमटार–मास्टार सडक स्तरोन्नति गरिएको प्रचार गरिएको थियो। तर, व्यवहारमा सडकको अवस्था दयनीय रहेकाले वैकल्पिक मार्गलाई नाममा मात्र सीमित नराखी बस तथा ट्रकहरू सहजै चल्न सक्ने गरी तत्काल सडक व्यवस्थापन र मर्मत गर्न चालक तथा स्थानीयले माग गरेका छन्।