एक बर्षमा नयाँ संविधान वन्ला त ?

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

-टंकलाल  श्रेष्ठ 

SAM_0089यतिबेला मुलुक संक्रमणकालिन अवस्थावाट अघि बढीरहेको छ । नयां संविधान निर्माणका लागि २०६४ सालमा सम्पन्न भइको संविधान सभाले निर्वाचित गरेका संविधान सभा सदस्यहरुको चार बर्षे जागिर सकिएपछि भर्खरै संविधान सभाको निर्वाचन सम्पन्न भएको छ । नयां जागिरेहरुले पद तथा गोपनियताको सपथ खाएका छन । एक बर्षमा संविधान वनाईसक्ने महत्वकांक्षी योजना नयां जागिरेहरुको छ । अवको एक वर्षमा मुलुकमा नयाँ संविधान जारी भयो भने पक्कै पनि मुलुकले नयाँ गति लिने छ । दोस्रो संविधान सभा निर्वाचन सम्पन्न भएको दुई महिनामा बल्ल सपथ लिएका छन् । यही गति कायम रहने हो भने एक वर्षमा संविधान जारी होला भन्न सकिने अवस्था छैन् । विश्वास गरौ यस पटक जनमतको कदर हुनेछ । संविधान सभा जागीर खाने थलो मात्र बन्ने छैन ।
यतिबेला संविधान सभा भवन भित्र प्रवेश गरेका केही अनुहारहरु संग विगतमा मेरो विश्वास र सामिप्यता थियो । समयक्रमले गन्तव्यमा पुग्ने पथ फरक फरक भए पनि हामी राजनैतिक मोर्चामा भने सक्रिय छौ ।मलाई आज पनि ती दिनहरुको याद आइरहन्छ ।२०४४ सालको कुरा हो म त्यतिवेला वागेश्वरी माध्यामिक विद्यालय बैरेनी अहिलेको वागेश्वरी उच्च माविमा परिणत भएको छ हो म त्यही विद्यालयमा अध्ययन गर्दथें । यो विद्यालय जिल्लाकै निकै चर्चित थियो त्यत्तिवेला किनभने यहाँका हरेक विद्यार्थी तानाशाही पञ्चायती शासनका विरुद्ध संगठित भएका थिए विभिन्न विद्यार्थी मोर्चाबाट ।
हामी तत्कालिन नेकपा मालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थाी युनियन ( अखिल पाँचौ )मा आवद्ध थियौ ।केही साथीहरु अखिल छैटौं र केही नेवि संघमा आवद्ध थिए । अखिल पाँचौ तर्फ त्यत्तिबेला उद्धव नेपाल ,रामप्रसाद अधिकारी,टंकलाल श्रेष्ठ,(कान्छोनारायण श्रेष्ठ) अच्युत नेपाल ,सुमधुर खनाल,भवानी खतिवडा ,हेमराज खतिवडा ,अर्जुन रिमाल ,उमा सिंखडा ,सोमलाल श्रेष्ठ,सूर्यकुमार श्रेष्ठ,वैकुण्ठ रिमाल लगायतका दर्जनौ साथीहरु सक्रिय थिए । धेरै जना साथीको नाम अहिले मलाई संझनामा छैन तर उहाँहरुको अनुहार भने यादमा छ । त्यत्तिबेला अखिल पाँचौको वागेश्वरी मा.बि प्रारम्भिक कमिटिको नेतृत्व टंकलाल श्रेष्ठबाट चलेको थियो । त्यत्तिबेला नेवि संघको नेतृत्व बैरेनीका दिपक कार्कीले गर्नुभएको थियो भने अखिल छैटौको तर्फबाट भरत सिग्देलले संगठनको नेतृत्व गरेर अघि बढेका थियौं । राजनैतिक आस्थाका आधारमा हामी फरक फरक विचारधाराबाट प्रशिक्षित थियौं । आस्था फरक भए पनि हाम्रो मुद्दा साझा थियो । त्यही कारण हामी संयुक्त कार्ययोजना बनाएर पञ्चायत विरुद्ध अघि बढेका थियौं ।
तत्कालिन पंचायती शासकहरुको बर्बर दमन, यातनाका विच कुनै दिन विचलित नभइ तीन वटै संगठनलाई अघि बढाएका थियौ । हामी भन्दा अघिल्लो नेतृत्वले पनि यही बर्बरताका विरुद्ध जेहाद छाडदै हामीलाई संगठनको जिम्मेवारीमा पु¥याएका थिए । एकातिर चरम गरीविका विच पढाइलाई निरन्तरता दिनुपर्ने वाध्यता थियो भने अर्को तर्फ संगठनको जिम्मेवारीलाई कुनै हानीहुन नदिई अघि बढ्नुपर्ने वाध्यता थियो । आर्थिक अवस्था सवल भएका र कमजोर अवस्थाका भए पनि धेरैका विच समानता थियो । मुलुकमा प्रजातन्त्र स्थापना गरी जनताको राज्य सत्ता स्थापना गर्ने । हामीले जस्तै देशैभरी युवा विद्यार्थीहरु त्यत्तिबेला संगठित भएका थिए । हामीलाई संगठनमा लाग्न प्रेरणा दिने मध्ये कति जना अहिले त्यही संविधान सभा भित्र पुगेका छन् ।
विगतको सांगठनिक पद्धति र अनुशासन अहिले निकै कमजोर बन्दै गएको छ । आफ्नै पार्टी संगठनमा भागवण्डा नमिलेर पार्टीका नेता पिच्छे गठन हुन थालेका छन् । हरेक पार्टी भित्र गुटवन्दी मौलाएको छ । यही कारणले राजनैतिक दल र तिनका भातृ संगठनहरु विस्तारै बदनाम हुदै जान थालेका छन् । २०४४ सालमा विद्यार्थी संगठनमा रहेर काम गर्दा मैले गरेको अनुभव के हो ? भने सबै संगठन फलामे अनुशासनबाट चलेका थिए । झोलामा मृत्यु बोकेर संगठनका सदस्यहरु संगठित हुन्थे । त्यही कारण निर्दलिय पंचायती शासकहरुको नजरमा हामी बदमास र डरलाग्दा देखिन्थ्यौं । एक संगठनले अर्को संगठनलाई हेर्ने दृष्टिकोण र कार्यकर्ताले गर्ने सम्मान निकै ओजपूर्ण थियो । विडम्वना नै मान्नुपर्छ आज २६ वर्ष पछिको अवस्था निकै उल्टो गतीमा बगिरहेको छ । एउटा दलले अर्कोको कुरै सुन्न चाहदैन । जतिसुकै राम्रा नीति र कार्यक्रम भए पनि विरोध गर्ने परिपाटीको विकास भएको छ । हिजोको जस्तो सहयोग र सदभाव हराएको छ । फरक विचारधाराका व्यक्तिहरुबाट मात्र होइन आफ्नै भनिएको दल भित्रको गुटवन्दीले एउटै पार्टीका नेता कार्यकर्ताहरु एक अर्कालाई दुस्मन देखिरहेका छन् । आफ्नो विचार लागू नहुनासाथ आफ्नै साथीलाई विभिन्न आराप प्रत्यारोप लगाउने कार्यले प्रश्रय पाउन थालेको छ । यसको असर संविधान सभाभित्र नदेखियोस भन्ने धेरैको कामना छ ।
देशको मुहार बदल्ने अठोट बोकेकाहरु थोरैमात्र राजनीतिमा शीर्ष स्थानमा पुग्न सफल भएका छन् । आज उच्च तहमा पुगेकाहरुले विगतको कार्यशैलीलाई संझनेमात्र हो भने पनि पक्कै पनि उनीहरुको नजरमा तिनै घेरा फाटेका टोपी लागाउने नेपालीको अनुहारको याद आउनु पर्ने हो । विलाशिताको जीवनले विगतका जुझारु कर्मठ ,राजनैतिक कार्यकर्ताहरु अहिले नयाँ सामन्तको रुपमा देखा पर्नु देशको लागि दुर्दशा हो । देशवासीको भविष्यको जिम्मा पाएका राजनैतिक दलका नेताले संविधान सभा निर्वाचनमा जनताका बिच गरेको प्रतिवद्धतालाई अक्षरशः कार्यान्वयन गरेरअघि बढ्नु जरुरी छ । जनताले चाहेको संविधान वनाउन छाडेर दलहरु अव मन्त्रीपदको भागवण्डामा लागिरहे भने अवको एक बर्षमा संविधान वन्ने सपना पुरा हुनेछैन । नेताहरुको कमजोरीलाई गुटवन्दी गरेर होइन लोकतान्त्रिक पद्धत्तिवाट आलोचना गर्दै उनिहरुलाई सुधार्न हामीले खवरदारी गर्नुपर्दछ ।

(गोगनपानी – धादिङ )