सभासदलाई तामा, तुलसी र कलमकापी

599 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, माघ १३ – यहाँ तीन गाविसका महिला, दलित, जनजाति, युवा र वृद्धा प्रतिनिधिले बेलैमा संविधान लेख्न संविधानसभाका सभासद लाई तामा, तुलसी र कलमकापी पठाएका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी प्रतिनिधित्व नगनर्ेे दललाई समेत उनीहरूले सुझावसहितको सामग्री पठाएका हुन् ।

कांग्रेस, एमाले र एमाओवादी सभासद लाई प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले कापी र कलम पठाएका छन् । राप्रपा नेपालका सभासद लाई हिन्दु धर्मको रक्षा गर्न आग्रह गर्दै उनीहरूले तामा तुलसी पठाएका हुन् । जिल्ला प्रशासनमा उपस्थित भएर उनीहरूले सहायक प्रजिअ विजय पौडेललाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

त्यस्तै नेकपा-माओवादीलाई उनीहरूले कलममात्र पठाएका छन् । अन्य दललाई संविधान लेखनका लागि कापीकलम पठाएको र नेकपा-माओवादीलाई लेखिएको संविधानमा हस्ताक्षर गर्न कलम पठाएको बेनीघाटवासी गुणराज त्रिपाठीले बताए । बेनीघाट, महादेवस्थान र गजुरी गाविसका बासिन्दाले सामग्री पठाएका हुन् । उनीहरूले मधेसी दलहरूलाई लोडसेडिङको अन्त्य गर्न माग गर्दै मैनबत्ती र सलाई पठाएका छन् । युवा सभासद लाई युवाको पक्षमा संविधान लेखन तथा सहयोग गर्न आग्रह गर्दै कलम र कापी पठाइएको गजुरी गाविसका युवा सुधीर श्रेष्ठले बताए ।

सबै प्रतिनिधि प्रशासनमा उपस्थिति भएर आफ्नो आफ्नो सामग्री बुझाएका थिए । उनीहरूले ६०१ जना सभासद लाई नै समयमा नै सहमतिको आधारमा संविधान बनाउन सुझाव दिएका छन् । ‘पार्टीको शीर्ष नेताहरूलाई समेत संविधान निर्माण गम्भीर हुन आग्रह गर्दै संसद् सचिवालयमा सामग्री पठाएका हौं,’ त्रिपाठीले भने । सहायक प्रजिअले ती सामग्री तत्काल सम्बन्धित निकायमा पठाउने बताएको ई कान्तिपुर डट कमले खबर छापेको छ ।  ।