नौबिसेदेखि नागढुंगासम्म सधैँ किन सास्ती?

441 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पुरुषोत्तम अधिकारी

साँझ झमक्क परिसकेको छ। आधा घण्टादेखि माइक्रो गुड्न सकेको छैन। विपरीत दिशाबाट हुइँकिदै आएको रात्रिबस र ट्रकहरुले उडाएको धुलोबाट बच्न माइक्रोको सबै झ्याल बन्द छन्। सडक धुलोले कुइरीमण्डल बनाएको छ भने बाटोमा मोटरसाइकल चालकहरु खाल्डाखुल्डी र धुलो चिर्दै अघि बढ्दैछन्। पट्यारलाग्दो त्यो कुराइबाट बल्लतल्ल गाडी गुड्यो। फेरि अलिक माथि गएर अर्को जाममा परियो। पन्ध्र मिनट यसरी नै गाडी रोकियो। त्यहाँ पनि अवस्था उही थियो। माइक्रो र कार चालकहरु ओभरटेक गरी जथाभावी गाडी छिराइरहेका थिए। यसले ट्राफिक थप जटिल त बनाउँदै थियो नै, यसको व्यस्थापनको निम्ति खटिएर लागिपर्ने त्यहाँ कोही थिएन। आधा घण्टामा उक्लने बाटो लगभग डेड घण्टा लाग्यो। मुस्किलले काठमाडौँ छिरियो।

यो कतै टाढाको घटनाक्रम होइन, देशको राजधानी छिर्ने मुख्य नाका नागढुंगा-नौबिसे सडकखण्डमा दिनहुँ देखिने दृश्य हो।

पुर्ख्यौली घर धादिङ नै भएकाले यो बाटोसँग म राम्रैसँग परिचित छु। वर्षदिनको दशैँ मनाएर गाउँबाट फर्कंदा यो बाटोमा घन्टौं जाममा अड्किएर मध्यरातमा काठमाडौँ छिर्नुपरेको तितो अनुभव पनि मसँग छ। लामो दुरीको यात्रामा काठमाडौँ आउँदा लौ अब त गन्तब्य आइपुगियो जस्तो लाग्दै गर्दा यहाँको यो सधैंको समस्याले मन खिन्न गराउँछ। त्यस्तै काठमाडौँबाट फर्कँदा समेत यात्राको सुरुमै देखिने सडकको यो दुर्दशाले उपत्यका बसाइलाई बिर्सनयोग्य बनाउँछ। अझ दिनहुँ हजारौ यात्रुबाहक तथा मालबहाक गाडी गुड्ने देशको राजधानी छिर्ने मुख्य नाकामा सडकको यो हविगतले देशको विकासक्रमको स्थिति प्रस्टै झल्काउँछ।

चर्चा अहिले भइरहेको सडकमर्मत र चौडा गर्ने कामको गरौँ। प्राय: म काठमाडौँ छिर्दा यहाँ सडकसम्बन्धी कुनै न कुनै निर्माणकार्य भईरहेको देख्छु। बर्षेनी मर्मतसंहार हुने र फेरि एकै वर्षमा बिग्रने यहाँको पुरानो समस्या हो। यस्तो मर्मतसंहार बालुवामा पानी खनाएझैँ भएकाले बाटोलाई ढलान गरेर स्थायी रुपमै पक्की बनाउने काम केही समय अघिदेखि भइरहेको रहेछ। त्यसै अन्तर्गत सडकको माथिल्लो खण्डको केही भागमा काम समेत भइसकेको छ। तर, मुख्य समस्या रहेको झ्याप्ले खोला लगायतको क्षेत्र र खानीखोला भन्दा माथिको क्षेत्रमा अझै पनि त्यो काम बाँकी नै छ।

मर्मत गर्ने काम भइरहदा एकतर्फीमात्र बाटो संचालन गर्नुपर्ने हुनाले त्यहाँ सधैँजसो जाम भइरहन्छ। देशको राजधानी छिर्ने जस्तो संवेदनशील र महत्वपूर्ण बाटो जतिसक्दो चाँडो र गुणस्तरीय रुपले सम्पन्न गर्नुपर्ने हुन्छ। तर सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीले आम यात्रुवर्गले दिनहुँ दुख पाइरहेका छन्। अझ कहिलेकाहीँ यही सडकखण्डमा बीच बाटोमा गाडी बिग्रने र त्यसलाई नपन्छाउँदा घन्टौँको जामले यात्रुवर्गले सास्ती बेहोर्नुपरेको समाचार पनि बेलाबेलामा आइरहन्छ।

देशको राजधानी छिर्ने घाँटी अथवा भनौं मुख्य मार्ग भएर पनि यस सडकमा सम्बन्धित निकायको पर्याप्त ध्यानाकर्षण भएको छैन। यो सडकखण्डमा उडेको धुलो र घन्टौंको जामले सार्वजनिक चासोको विषयमा सरकारी निकायबाट हुने ढिलासुस्ती मात्र दर्शाइरहेको छैन, देशको सडक विभाग, सम्बन्धित ठेकेदार र इन्जिनियरहरुको समेत खिल्ली उडाइरहेको छ। त्यसैले सम्बन्धित निकायले पहल गरी यथासक्य चाँडो यो सडक मर्मतसंहार र स्तरउन्नतिको काम सकाउनु टड्कारो आवश्यता देखिएको छ।

सेतोपाटी डटकमबाट