नौबिसे-नागढुंगा सडक मर्मतमा ढिलासुस्ती

561 पटक पढिएको

सम्पादक: Dhadingnews.com

bus

धादिङ, फाल्गुन २ – ठेकेदारको लापरबाहीका कारण ६७ जिल्लाबाट राजधानी भित्रने यात्रुले दैनिक नौबिसे-नागढुंगा सडकमा हैरानी बेहोर्नुपरेको छ । साउनदेखि निर्माण थालिएको सडकको स्तरोन्नतिको काम अत्यन्त सुस्त हुँदा सवारी साधन र दैनिक हजारौं यात्रुलाई समस्या परेको हो ।

सडक निर्माणका लागि भन्दै रातको समयमा सवारी आउजाउ नगर्न सडक विभागले सार्वजनिक सूचना प्रकाशित गरेको भए पनि काम भने निकै थोरै हुने गरेको स्वयं मजदुरले बताएका छन् । दिनको समयमा पनि काम हुन सकेको छैन । १० भन्दा बढी ठाउँमा ढलान र ५ ठाउँमा सडक चौडा गर्नुपर्ने भए पनि एक ठाउँमा मात्र काम हुने गरेको छ ।

बुधबार राति याकघरमा दुईवटा मात्र स्काभेटरले सडक फराकिलो पारेका थिए । राजमार्गमा बिहीबार कुनै काम हुन सकेन । ५ ठाउँमा सडक चौडा पार्न सडक डिभिजन कार्यालयले रातिमा यातायात बन्द गरे पनि न्यून संख्यामा स्काभेटरलगायत आवश्यक सामग्री प्रयोग भएको डिभिजन प्रमुख हरिकुमार पोखरेलले बताए । बुधबार दिनभर अघिल्लो दिन गरिएको ढलानमा पानी हाल्न एक जना मात्र मजदुर खटिएका थिए । ‘किन काम भएन भनेर मैलै ठेकेदारलाई सोधेको छु,’ उनले भने, ‘ठेकेदारले निर्माण सामग्री र कामदार थप्छु भनेका छन् ।’ कामको गति चित्तबुझ्दो नभएको उनले बताए ।

ढलान गर्नका लागि राखिएका बालुवा, गिटीलगायत अन्य सामग्रीले सडक साँघुरो हुँदा दिउँसो पनि राजमार्ग एकतर्फी भएर जाम हुने गरेको छ भने रातको समयमा स्काभेटरले काम गरेका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ । पर्याप्त मजदुर र निर्माण सामग्री प्रयोग नगरेर ठेकेदारले काममा ढिलासुस्ती गरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।

त्रिभुवन राजपथ अन्तर्गतको उक्त सडक मर्मत गर्न भन्दै सडक विभागले गत २६ गते देखि १५ दिनसम्म राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । सडकै बन्द गरेर गरिएको काम छिटोछरितो र प्रभावकारी नभएको यात्रु, सवारी चालक र ट्राफिक प्रहरीले गुनासो गरेका छन् । सडक एकतर्फी हुने, जाम हुने र खाल्डाखुल्डीका कारण यात्रुले सास्ती पाएका हुन् । महादेव खिम्ती मिचीको निर्माण सेवाका ठेकेदार रवि सिंह र सुरेश शाहले सरकारी निकायको निर्देशनअनुसार काम नगरेका हुन् । सडक जीर्ण भएर निर्माण छिटो नहुँदा उपचारका लागि हिँडेका बिरामीसमेत समस्यामा पर्ने गरेको सडक मजदुर कृष्ण भण्डारीले बताए ।

ढलानको काम भएको समयमा पनि १०/१२ जना मात्र मजदुर प्रयोग हुने गरेको एक मजदुरले बताए । डिभिजन प्रमुख पोखरेलले भने ठेकेदारले चैत्र मसान्तभित्रै काम सक्ने प्रतिबद्धता व्यक्त गरेकाले आफू विश्वस्त गरेको जानकारी दिए । तोकिएको समयमा सडक खण्डको नौबिसे उकालो, याकघर, सुँगुरे खोला, खत्री पौवा, सिस्ने खोला र झ्याप्ले खोला लगायत १० स्थानमा एक हजार ७५ मिटर ढलान कार्य गर्नुपर्छ ।

ई कान्तिपुर डट कम बाट