गल्छी-धार्के विद्युत विस्तार रोकियो

627 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गल्छी-धार्के विद्युत विस्तार रोकियो
धादिङ- ठूला लगानीका उद्योगका निम्ति आवश्यक विद्युत आपूर्ति गराउने सरकारी घोषणासँगै सुरु भएको गल्छी–धार्के ३३ केभिए विद्युत विस्तार कार्य पाँच वर्षमा पनि पूरा हुन सकेको छैन। विद्युत विस्तारका लागि पाँच वर्षअघि गाडिएका पोलमा खिया लाग्न थालेको छ।
नौबिसे क्षेत्रमा उद्योग स्थापना तीव्रगतिमा बढेसँगै उद्योग लक्षित विद्युत विस्तारको काम स्थानीयको विवाद र आर्थिक अभावका कारण बीचैमा रोकिएको नेपाल विद्युत प्राधिकरण कार्यालय धादिङले जनाएको छ।
नौबिसेस्थित केपी सिमेन्ट उद्योगका लागि आर्थिक वर्ष ०६५/६६ मा उद्योग मन्त्रालयको विशेष आर्थिक क्षेत्र विकास आयोजनाबाट विद्युत लाइन विस्तार गर्न दुई करोड रुपियाँ विनियोजन भएको थियो। अन्य उद्योगका लागि समेत आपूर्ति गराउने लक्ष्यसाथ गल्छीदेखी धार्केसम्म मेनलाइन विस्तार सुरु गरिएको थियो। लाइन विस्तारको ठेक्का लिएको सिग्माकोन प्रालिले विभिन्न समस्या देखाउँदै पटक–पटक म्याद थप गरे पनि काम सम्पन्न गरेको छैन। अन्तिम पटक म्याद थप भएको नै एक वर्ष बितिसकेको छ। पोल गाड्न र तार टाँग्न स्थानीय जग्गाधनीको अवरोधका कारण समयमै काम नसकिएको सिग्माकोनले जनाएको छ। अवरोधका कारण पहिले गाडेर तार टाँगिएको पोल चार वर्षदेखि त्यत्तिकै छ।
लाइन विस्तारकै क्रममा गोगनपानीस्थित बालुवाफाँटमा स्थानीयको अवरोधका कारण दुई किलोमिटरसम्म पोल गाड्न र तार टाँग्न नसकिएको प्राधिकरण शाखा कार्यालय धादिङका सहायक प्रशासकीय अधिकृत कैलाश बस्नेतले जानकारी दिए। आफ्नो जग्गाको बीचबाट लान नदिने भन्दै स्थानीयले अवरोध गरेपछि जंगलबाट घुमाएर लानुपरेको र दुई किलोमिटरको ठाउँमा चार किलोमिटर दुरी बढेकाले बजेट अभाव भएको बस्नेत बताउँछन्।
सो लाइन विस्तारका लागि थप ३६ लाख रुपियाँ माग गरिएको र रकम निकासा हुनेवित्तिकै काम सुचारु हुने प्राधिकरण धादिङका प्रमुख मनोजकुमार झा बताउँछन्। ३३ केभिए लाइन विस्तारसँगै धार्केमा सबस्टेसनसमेत राख्ने तयारी गरिएको छ।
केपी सिमेन्टका लागि ११ केभिए विद्युत आवश्यक पर्छ। बाँकी विद्युत जिल्लाको पूर्वी क्षेत्रमा हाल भइरहेको लोडसेडिङको समस्यासमेत समाधान हुने झाले जानकारी दिए। नौविसे, छत्रेदेउराली, जीवनपुर र केवलपुरमा काठमाडौंबाट तानिएको लाइनबाट विद्युत आपूर्ति हुने हुँदा काठमाडौंसरह लोडसेडिङको मार खेप्नुपरेको छ।
आँखु र थोपलबाट विद्युत उत्पादन भएको र त्रिशूलीको जलाधार क्षेत्र भएकाले धादिङमा लोडसेडिङ मुक्तजस्तै छ। एक–दुई घन्टाबाहेक धादिङमा लोडसेडिङ हुँदैन। तर, पूर्वका चार गाविस लोडसेडिङको समस्यामा छन्। ३३ केभिए विस्तारको काम पूरा हुँदा ती गाउँमा पनि विद्युत आपूर्ति हुने प्राधिकरण धादिङ शाखाले जनाएको छ।
ठूला लगानीका उद्योगलाई आवश्यक विद्युत, सडकजस्ता पूर्वाधार विकासमा सहयोग पुर्याकउने राज्यको नीतिबमोजिम निर्माणाधीन युनाइटेड सिमेन्ट उद्योगका लागि मातातीर्थबाट ३३ केभिए लाइन विस्तार गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको

नागरिक न्युज डट कमले खबर लेखेको छ ।