नौबिसे-नागढुंगामा दिनरातै घन्टौं जाम

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

jam

खानीखोला (धादिङ), फाल्गुन ५ – मर्मत भइरहेको नौबिसे-नागढुंगा सडक वर्षातका कारण हिलो र चिप्लोले एकतर्फी हुँदा दिनरात घन्टौं जाम हुने गरेको छ ।

शनिबार दिउँसोदेखि वर्षातले बाटो हिलो र चिप्लो बनाएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । बाटोका कारण आइतबार दिनभर सडक एकतर्फी हुँदा जाम भएको प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जनाए । रातमा मर्मतका लागि भन्दै सडक विभागले सवारी नचलाउन आग्रह गरेको छ । दिउँसो वषर्ातले बाटो हिलो र चिप्लो हुँदा सयौं सवारी सडकमै रोकिन्छन् । दिनरात घन्टौं जामका कारण सयौं सवारीका हजारौं यात्रु मर्कामा परेका छन् ।

नौबिसे २ याकघरमा सडक मर्मतका लागि खोलिएको नयाँ ट्रयाकमा गाडी चिप्लने र फस्ने गरेको छ भने गणेश मन्दिर नजिकै गरिएको ढलानमाथि लेदो थुपि्रएको छ । हिलो र चिप्लोका कारण बीच सडकमै गाडी फसेपछि सडक जाम हुने गरेको पोखरेलले बताए । सडक एकतर्फी हुँदा आइतबार दिउँसो थानकोटदेखि धार्केसम्म सवारी लाम लागेको थियो । जामका कारण गन्तव्यमा हिँडेका यात्रु समयमै पुग्न सकेका थिएनन् । गोरखाबाट काठमाडौं हिँडेका सञ्जित पन्तले ६ घन्टाभन्दा बढी रोकिनुपरेको सुनाए । उनले भने, ‘नौबिसेबाट थानकोट पुग्न ६ घन्टा लाग्यो ।’

६७ जिल्लाका यात्रु राजधानी जाने प्रमुख नाका त्रिभुवन राजपथमा दिनरात जाम हुने गरेको हो । सवारी जामका कारण यात्रु मात्रै नभएर एम्बुलेन्स र भीआईपीहरू पनि समस्यामा परेको ट्राफिक प्रहरीले जनाए । ‘ठाउँठाउँमा थुपि्रएको लेदो र माटोका कारण सडक चिप्लो भएर जाममा पर्नुपरेको हो,’ प्रहरी निरीक्षक पोखरेलले भने । पानी पर्ने क्रम नरोकिएर सयौं गाडी जाममा परेपछि बाटो सफा गर्न र सवारी व्यवस्थित गर्न थप प्रहरी परिचालन गरिएको उनले बताए । ‘अञ्चलबाट १० र जिल्ला प्रहरीबाट १५ गरी २५ जना थप गरिएको छ,’ उनले भने । वषर्ात नरोकिए अझै सवारी जाम हुन सक्ने उनले बताए । बाटामा खाल्डाखुल्डी भएका कारण सवारी बिग्रेर सडक अवरुद्ध हुन्छ ।

चैत मसान्तसम्म मर्मतसम्भार पूरा गर्ने प्रतिबद्धता जनाएका ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको सरोकारवाला निकायको गुनासो छ । ठेकेदारले सडक मर्मत गर्न पर्याप्त मजदुर र निर्माण सामग्री प्रयोग नगर्दा ढिलासुस्ती भएको उनीहरूले बताए ई कान्तिपुर डट कमले खबर लेखेको छ ।