नुन छर्केर खुलाइयो- बाटो १५ घन्टा अवरोध

520 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- त्रिभुवन राजपथअन्तर्गत नौबिसे-हटौंडा खण्डको दामनस्थित सिमभज्याङमा परेको हिउँका कारण राजमार्ग १५ घन्टा अवरुद्ध भएको छ ।

स्थानीयवासी र सडक मजदुरका अनुसार सोमबार बिहान दुई बजेबाट हिमपात हुँदा राजमार्गमा आवतजावत गर्नै समस्या परेको हो । अवरुद्ध सडक सोमबार मध्याह्नबाट खुलेको छ । सडकमै हिउँ जमेपछि हेटौंडा र नौबिसेबाट हिँडेका सवारी बाटामा अलपत्र परेको शिक्षक दिनेश सुवेदीले बताए । ‘सडकमा नै डेढ फिटसम्म हिउँ जमेको छ,’ उनले भने, ‘हिउँमा गाडी चिप्लिएर अघि बढ्न सकेका छैनन् ।’ दिउँसो सडक विभागका मजदुरले नुन छर्केर जमेको हिउँ हटाएका थिए । हिउँमा नुन हालेपछि छिटो पग्लने मजदुरहरूले बताए ।

सवारी चालक, सहचालक, स्थानीयवासी र सडक मजदुरले मध्याह्नबाट सडक खुलाएको सुवेदीले जनाए । डेढ फिटसम्म हिउँ परेपछि हेटौंडा र काठमाडौंलगायतबाट हिउँ खेल्ने र हेर्नेको भीड लागेको थियो । ‘हिउँ परेपछि विभिन्न ठाउँबाट हेर्ने मान्छे आउँछन्,’ उनले भने । धादिङ र मकवानपुरको सिमानाका डाँडाकाँडादेखि दामनसम्मै हिउँ परेको थियो । राति वषर्ात भएपछि हिउँ परेको लामाले जनाए । स्थानीयवासीलाई विभिन्न ठाउँबाट हिउँ परे/नपरेको सोधेर पर्यटक हिउँ हेर्न र खेल्न आएका हुन् । अहिलेसम्म हिउँ नदेखेकाले हेर्न आएको काठमाडौंका सञ्जय महर्जनले बताए । उनी साथीहरूसँगै आएका थिए । दामन आसपासका विद्यालयबाट विद्यार्थी समेत हिउँ खेल्न आएका थिए ।

ई कान्तिपुर डट कम बाट