बालविवाह गराउने पाँच जना चेपाङलाई कारबाहीको फैसला

546 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ -आफ्नै बालबच्चालाई बालविवाह गरराउने पाँच जना चेपाङलाई जिल्ला अदालतका न्यायधीश रमेशराज पोख्रेलको इजलासले फागुन ५ गते थुनामा राख्ने र जरिवाना गर्ने फैसला गरेको छ ।
जोगिमारा गाविस-१ लैताककी ९ वर्षीया प्रमिला चेपाङलाई ०६९ माघ २८ गते सोही स्थानका १३ वर्षीय सोमबहादुर चेपाङसँग बालिकाका बुबा चन्द्रबहादुर चेपाङ र आफन्तहरु रामकृष्ण चेपाङ र सुकमायाँ चेपाङले बालविवाह गराएका थिए । जिल्ला अदालतले चन्द्रबहादुर, रामकृष्ण र सुकमायाँलाई जनही ६/६ महिनाको कैद र एक/एक हजार रुपैयाँ जरिवाना गर्न फैसला गरेको छ ।
यसै गरी, सोही स्थानका १३ वर्षीया मुना चेपाङलाई सोही गाविस-७ धुसेनीका १३ वर्षीय बुद्ध चेपाङसँग पीडितका बुबा भीमबहादुर चेपाङ र आफन्त दलबहादुर चेपाङले ०६९ माघ ८ गते बालविवाह गरराएकामा भीमबहादुर र दलबहादुरलाई तीन/तीन महिनाको जेल सजायाँ र ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले बताए ।
बालविवाह गरिएको सम्बन्धमा भने सो बालविवाह बदर नभएको र मुलुकी ऐनको दण्ड सजयाँ अन्तरगत ११ -क) बमोजिम पाँच जना चेपाङलाई थुनाबापतको रकम समेत जिल्ला अदालतमा बुझाएमा थुनामुक्त गर्ने गरी फैसला भएको पनि श्रेस्तेदार वाग्लेले बताएका छन्।
तीनवर्षभन्दा कम सजायँ हुने यस्ता मुद्दामा प्रतिवादीहरुले जिल्ला अदालतमा आएर आफूहरुले आगामी दिनमा यस्ता कसुर नगर्ने लिखित प्रतिवद्धता जनाएमा यस किसिमका मुद्दामा अदालतले मनासिव लागेमा थुनामा बापतको दैनिक २५ रुपैयाँले हुन आउने रकम बुझाएमा थुनामा बस्न नपर्ने फैसला गर्न सक्ने भन्ने व्यवस्था अनुसार यस्तो फैसला भएको जिल्ला अदालतले जानएको छ ।
उल्लेखित घटनाका सम्बन्धमा चेपाङहरुले बालविवाह आफ्नो समूदायमा चलन चल्तीमा रहेको र आफूहरुलाई बालविवाह गर्दा कानुन बमोजिम कारबाही हुन्छ भन्ने थाहा नभएकोले आगामी दिनमा यस किसिमको कार्य नगराउने प्रतिवद्धता लिखित रुपमा अदालतमा पेश गरेका कारण यस किसिमको फैसला भएको श्रेस्तेदार वाग्लेले बताए ।
इन्सेक अनलाईन